आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै राप्रपाद्वारा संघर्षका कार्यक्रम घोषणा (पूर्णपाठसहित)

सोमबार, २१ माघ २०७५, १५ : २३
सोमबार, २१ माघ २०७५

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र पुनःस्थापना लगायतका माग राख्दै फागुन ७ गतेबाट जनसंघर्षका कार्यक्रम गर्ने भएको छ । 

जसअनुसार राप्रपाले फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री, प्रदेश राजधानीहरुमा मुख्य मन्त्री र जिल्ला सदरमुकामहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने जनाएको छ । 

देशब्यापी रुपमा गर्ने जनसंघर्षका कार्यक्रम प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने सो पार्टीले जनाएको छ  ।

माघ २० गतेदेखि बसेको केन्द्रीय कार्य समितिको बैठकले अध्यक्ष कमल थापाद्धारा प्रस्तुत समसामयिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि राजनीतिक कार्यपत्र सर्वसम्मतले पारित गरेको छ । 
यसैगरी महामन्त्रीको सचिवालय सम्बन्धि, कोषाध्यक्षको आर्थिक र राष्ट्रिय स्वाभिमान यात्रा मूल समितिद्धारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।

सनातन हिन्दुराष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, महिला विरुद्धको हिंसा, जातिय विभेद र छुवाछुत अन्त्यका लागि राप्रपाले आगामी फागुन १५ गतेदेखि ३० सम्म ताप्लेजुङ्ग देखि कञ्चनपुर हुँदै काठमाडौसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दैछ । 

स्वाभिमान यात्रा जनसंघर्ष कार्यक्रमको निरन्तरताको रुपमा रहेको ताथ शान्तिपूर्ण जनसंघर्षको स्वरुप र विस्तृत कार्यक्रम फागुन ३० गते हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा घोषणा गर्ने बैठकपछि प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो पार्टीले नेपालको इतिहासमै पहिलोपटक देश टुक्र्याउन चाहने विखण्डनकारी शक्ति सतहमा देखिएको निश्कर्ष निकाल्दै तराईका विभिन्न भागमा अराजकता सिर्जना गर्ने सम्भावना बढेको ठहर पनि गरेको छ । राष्ट्रिय अखण्डताको रक्षा, सुरक्षा संवेदनशीलता जस्ता विषयमा गम्भिर बन्न, यस्ता  गतिविधि कडाईका साथ नियन्त्रण गर्न र विखण्डनको गतिविधिमा दृढतापूर्वक उभिन राप्रपाले  सरकारसँग माग गरेको छ । 

धर्म निरपेक्षताको आडमा लोभ लालच, प्रभोलन र भ्रम सिर्जना गरी संगठित र योजनावद्ध रुपमा भईरहेको धर्म परिवर्तनप्रति राप्रपाले चिन्ता व्यक्त गरेको छ । 

पछिल्लो समय हिन्दु, बौद्ध, किराँत धर्मावलम्बीहरुको जवरजस्ती ढंगबाट धर्म परिवर्तन गराइएको छ भन्दै उसले धर्म परिवर्तन, धर्म परिवर्तन गराउने संस्था, धर्म प्रचारकलाई प्रत्यक्ष वा परोक्ष रुपमा स्वयं सरकार र सत्तारुढ दलको संरक्षण र प्रोत्साहन रहेकोमा चिन्ता व्यक्त गर्दै धर्म परिवर्तनको गतिलाई निस्तेज र नियन्त्रण गर्न, सदियौदेखिको नेपाली समाजमा कायम रहँदै आएको साँस्कृतिक एकता र सदभाव खल्बलिन नदिन र देशलाई धार्मिक द्वन्द्वको दलदलमा फस्नबाट जोगाउन उपयुक्त कदम चाल्न सरकारसाग माग गरेको छ । 

विदेशका विभिन्न बैंकहरुमा गैरकानुनी रुपले अवैध सम्पत्ति लुकाउने र नेपालबाट पठाइएका कालो धनलाई विदेशमा लगि लगानीका रुपमा नेपाल फिर्ता  ल्याई सेतो बनाउने धन्दा चलेको तथा नेपाल बायु सेवा निगमको वाइड बडि जहाज  खरिद प्रकरण, ३३ केजी सुनकाण्ड, एनसेल करछली प्रकरण, बुढिगण्डकी परियोजना काण्ड लगायत  आर्थिक अपचलन र ठूला भ्रष्टाचारका दर्जनौ काण्डहरुबारे यथार्थ छानविन गर्न, अवैध सम्पत्ति जफत गर्न, दोषीलाई कडा कारबाही गर्न र सुशासनको प्रत्याभूति दिलाउन माग गरेको छ । 

त्यस्तै लगानीको वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न ठोस कार्ययोजना ल्याउन, सामान्य रोजगारीका लागि विदेशीन बाध्य लाखौ नेपाली यूवालाई स्वदेश फर्काउन र जीविकोपार्जनको ग्यारेन्टी गर्न राप्रपाले माग गरेको छ ।

त्यसैगरी राप्रपाको सम्पन्न बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा हिन्दुराष्ट्र र राजसंस्थाप्रति प्रतिवद्ध समान विचारधारा भएका दलहरुलाई एकताका लागि आह्वान पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप