कृषि अनुसन्धान केन्द्र बनाउनका लागि अनुगमन
रौतहट– रौतहटको कटहरिया नगरपालिका अन्तर्गत कृषि अनुसन्धान केन्द्र र हाईटेक नर्सरी बनाउन बिज्ञको टोलीले अनुगमन गरेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेवको निर्देशनमा कृषि अनुसन्धान केन्द्र परवानीपुरका निर्देशक तुफैल अख्तरको नेतृत्वको टोलीले स्थलगत अनुगमन निरीक्षण गरेको हो ।
टोलीले कटहरिया नगरपालिका वडा नम्बर ४ हर्षाहास्थित सरकारी स्वामित्वको करिब एकसय बिगाहा जग्गा र वडा नं ३ को नर्सरी फर्मको स्थलगत निरीक्षण तथा अनुगमन गरेको नगर प्रमुख सियाराम कुशवाहाले बताए ।
निरीक्षणपछि कृिष अनुसन्धान केन्द्र परवानीपुर बाराका निर्देशक तुफैल अख्तरले कटहरिया ४ हर्षाहा छेउमा अलपत्र अवस्थामा रहेको एकसय बिगहा जग्गामा कृषि तथा फलफुल अनुसन्धान केन्द्र बनाउन सक्ने बताए ।
अनुसन्धान केन्द्र बने सैयौंले रोजगारी समेत पाउने भएकाले सरकार र स्थानीय दुबैका लागि राम्रो हुने उनको दावी छ ।
टोलीमा परवानीपुरका बरिष्ठ बैज्ञानिक टेकबहादुर गोतामे,फलफु विकास केन्द्र किर्तिपुरका कृषि प्रसार अधिकृत सरोज पाण्डे, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना ललितपुरका अनुगमन मुल्यांकन अधिकृत प्रमोद दाहाल सहभागि थिए । उक्त अवसरमा प्रदेश सांसद कुन्दन कुश्वाहा र कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाले कृषि तथा फलफुल बालीको अनुसन्धान केन्द्र सथापनाका लागि आवश्यक जग्गा निशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।