सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जब राजेन्द्र महतोले आन्दोलनकारीलाई हप्काए...

शुक्रबार, १७ फागुन २०७५, १५ : ०६
शुक्रबार, १७ फागुन २०७५

‘आन्दोलनको क्रममा धेरै कुटिएका छन्, धेरै मारिएका छन् । कतिका लागि के–के गर्नु के ? तिमीहरुका लागि धेरै थोक गरिसकेका छौँ अब के के गर्नु ।’

राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर गएको बेला भएको तोडफोडको क्रममा मुद्दा लगाइएकाहरुलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भनेको कुरा हो यो ।

फागुन १०–१३ गतेसम्म प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा चलेको प्रदेशस्तरीय बैठकको क्रममा आन्दोलनका क्रममा लागेका मुद्दा खेपिरहेका नेता तथा कार्यकर्ताहरु अध्यक्षमण्डलका सदस्यहरुलाई भेट्न जाँदा नेता महतो यसरी आक्रोशित भएका थिए ।

‘हामी दिनरात मुद्दा लागेकाहरुका  लागि संघर्ष गरिरहेका छौँ, रिहाइका लागि माग गरिरहेका छौँ । अब कति गर्नु ? जहिले पनि किचकिच गरेर हुन्छ ?,’ भन्दै महतोले आन्दोलनकारीहरुलाइ झपारे पछि त्यहाँ तनावको अवस्था सृजना भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिर आउने क्रममा भएको तोडफोडमा प्राचिन स्मारक तोडफोड ऐन अन्तर्गत सातजनाको माथि मुद्दा चलाइएको थियो । उनीहरु सातैजना नेताहरुलाई भेटेर मुद्दा फिर्ता लिनका लागि सरकारलाई दवाव दिन आग्रह गर्न गएका थिए । उनीहरु बैठक स्थलमा गएर आफूहरु निर्दोष रहेको र झुठा मुद्दा खारेजीका लागि सरकार समक्ष पहल गर्न नेताहरु समक्ष आग्रह गरेका थिए ।

तर, उनीहरुले आफ्नो कुरा राख्न नपाउँदै अध्यक्षमण्डलका सदस्य महतोबाट गलाी खाए । अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले यस विषयमा आफूले राष्ट्रपति भण्डारीसँग कुरा गर्ने र सबै राजनीतिक मुद्दा चाँडै समाधान हुने उनीहरुसँग प्रतिबद्धता जनाएका थिए तर नेता महतो रिसाएपछि मुद्दा खेपिरहेकाहरु चित्त दुखाएका छन् ।

मुद्दा खेपिरहेका अशोक प्रसैलाले भने, ‘मधेशका लागि हामीले आन्दोलन गर्यौँ । हामीमाथि झुठो मुद्दा लागेको छ, यही विषयमा कुरा गर्न जाँदा नेताहरुबाट उल्टै गाली खानुपरेको छ, यो कस्तो विडम्बना हो ?’

धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको चुनाव जितेका महतोले आफूहरुलाई हप्काउन थालेपछि आफूहरु पनि आवेगमा आउँदा केही तनाव उत्पन्न भएको प्रसैलाले बताए ।

उनले भने, ‘महतोजीले हामीमाथि आक्रोश हुँदै तथानाम कुराहरु बोलेपछि अवस्था तनावपूर्ण बनेको थियो, तर हामी साम्य भएर बैठक स्थलबाट बाहिरिएका थियौँ ।’

मुद्दा खेप्दै आएकी अर्की अभियुक्त शिला देवी झाले अनायासैमा महतो आफूमाथि आक्रोशित भएको बताइन् । उनले भनिन्, ‘हामीमाथि झुठा मुद्दा लगाइएको छ, तर राजनीतिकको नाममा सरकारमा जाने उनीहरु अनि बदनाम हुने हामी । हामीलाई नै गालीगलौज गर्ने, कस्तो नियती हो ।’

सरकार र जानकी मन्दिरले संयुक्तरुपमा १० जनामाथि जानकी मन्दिर तोडफोडको आरोपमा प्राचीन स्मारक तोडफोड ऐन अन्तर्गत मुद्दाको धनुषा जिल्ला अदालतमा चल्दैछ । सो मुद्दाका अभियुक्तहरु सुशिल कर्ण, शिला देवी झा, अशोक प्रसैला, विवेकचन्द्र अधिकारी, सीता देवी चौधरी लगायत राजपा नेपालका अध्यक्षमण्डलका नेताहरुलाई भेट्न गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप