मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कुन दिन घट्छ बढी अपराधिक घटना ? ६५ प्रतिशत अपराधी बेरोजगार

मङ्गलबार, १७ साउन २०७४, १७ : ४९
मङ्गलबार, १७ साउन २०७४

काठमाडौं–महानगरीय प्रहरी कार्यालयले अघिल्लो बर्षको तुलनामा गएको आर्थिक बर्षमा अपराधका  घटनामा कमी आएको जनाएको छ । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रमुख डिआइजी बमबहादुर भण्डारीले ५ दशमलब १२ प्रतिशत कम अपराधका मुद्धा दर्ता भएको जानकारी दिए ।

उनले आर्थिक बर्ष २०७१–७२ को तुलनामा ०७२ –०७३ मा ४ दशमलव २८ प्रतिशतले बढी मुद्दा दर्ता भएको र आर्थिक बर्ष २०७२–०७३ को तुलनामा २०७३–०७४ मा भने ५ प्रतिशतले कमी आएको बताए ।   


भदौ महिनामा अपराध धेरै 
अनुसार गत एक वर्षको अवधीमा भदौ महिनामा सबैभन्दा अपराधको घटना भएको छ । जुन सार्वजनिक अपराध प्रकृतिका घटना हुन् । यस्तै असोज र बैशाख महिनामा आपराधिक घटनामा कमी आएको छ । असोज महिनामा दशै तिहार जस्ता चाडपर्व लक्षित बिशेष सुरक्षा योजना गरिने भएकोले अपराधमा कमी आएको महानगरीय प्रहरी प्रमुख बमबहादुर भण्डारीले जानकारी दिए । 


प्रहरीको आंकडा अनुसार आर्थिक बर्ष २०७३÷०७४ मा साउनमा ५ सय ३६, भदौैमा ५ सय ९६, असोजमा ४ सय ३१, कार्तिकमा ४ सय ८०, मंसिरमा ४ सय ५१, पुसमा ४ सय ५१, माघमा ४ सय ७०, फागुनमा ४ सय ८६, चैतमा ५ सय ५४, बैशाखमा ४ सय १७, जेठमा ५ सय २१ र असारमा ४ सय ९५ अपराधका घटना भएका थिए ।


शनिवार र शुक्रबार अपराध धेरै  
बारको आधारमा घटेका घटना बिस्लेषण गर्दा शनिवार र शुक्रबार धेरै आपराधिक घटना भएको पाइएको छ । आइतबार र सोमबार भने अरु बारको तुलनामा कम अपराध भएको छ । प्रहरीले निकालेको आँकडा अनुसार शनिबार र शुक्रबार १६–१६ प्रतिशतका दरले घटना घटेको पाइएको छ भने बिहिबार, बुधबार र मंगलबार १४–१४ प्रतिशतका दरले घटना घटेको पाइएको छ भने आइतबार र सोमबार १३–१३ प्रतिशतका दरले घटना भएको पाइएको छ  । 


साँझ ६ बजेदेखि राती १२ बजेसम्म अपराध धेरै 
प्रहरीको अनुसार काठमाडौं उपत्यकामा भएका अपराधलाई समयका आधारमा हेर्दा साँझ ६ बजेदेखि राती १२ बजेसम्म सबैभन्दा धेरै अपराधका घटना हुने पाइएको छ । सबैभन्दा कम अपराध बिहान ६ बजेदेखि मध्यान्न बाह्र बजेको समयमा भएको छ । आंकडा अनुसार बिहान ६ बनेदेखि १२ बजेसम्म १२ सय ८० घटना भएका छन्, दिँउसो १२ बजेदेखि साँझ ६ बजेसम्म १६ सय १२ घटना भएका छन् । यस्तै साँझ ६ बजेदेखि राती १२ बजेसम्म १६ सय १५ घटना भएका छन् । यस्तै राती १२ बजेदेखि बिहान ६ बजेसम्म १३ सय ३७ वटा अपराधका घटना भएका छन् । 


२६ देखि ३५ बर्ष उमेर समुहका धेरै अपराधी
काठमाडौंका ३ जिल्लामा २६ बर्षदेखि ३५ बर्ष उमेर समुहकाले धेरै अपराध गरेको प्रहरीको आँकडाले देखाएको छ । १६ बर्षदेखि ३५ बर्ष उमेरका ५९ प्रतिशत अभियुक्त पक्राउ परेका छन् भने अन्य उमेर समुहका ४१ प्रतिशत अपराधमा संलग्न भएका छन् । १ बर्षको अवधीमा १६ बर्ष मुनीका १ सय २१, १६ बर्षदेखि २५ बर्षसम्म २१ सय ४७ जना, २६ देखि ३५ बर्षसम्म २३ सय ३८ जना, ३६ देखि ४५ बर्षसम्म १७ सय २५ जना, ४६ देखि ६० बर्षसम्मका १ सय ८७ जना र ६० बर्ष भन्दा माथिका २ सय ७१ अभियुक्तहरु पक्राउ परेका छन् । 


बेरोजगार अभियुक्त धेरै 
अभियुक्तहरुको पेशाका आधारमा बेरोजगार अभियुक्तहरुको आंकडा अन्यको तुलनामा धेरै पाइएको छ । कुनै पनि पेशमा संलग्न नभएका बेरोजगार अभियुक्तहरु ५ हजार १ सय ८२, मजदुर अभियुक्तहरु २ हजार २ सय ६, कृषि पेशमा लागेका अभियुक्तहरु ३ सय ७३, ब्यापारी १ सय ९४ र कर्मचारी अभियुक्त २७ जना पक्राउ परेका थिए । 


पुरुष अपराधी ९४ प्रतिशत 
महानगरीय प्रहरीको आंकडा अनुसार महिलाहरु झै झगडा र अपराध कर्ममा धेरै पछाडि रहेका छन् । आंकडा अनुसार १ बर्षभरीमा पक्राउ परेका अभियुक्तका आधारमा पुरुष अपराधी ९६ प्रतिशत रहेका छन् भने ४ प्रतिशत महिला अपराधी छन् । संख्याका आधारमा ७ हजार ८ सय ४९ पुरुष अभियुक्त प्रक्राउ परेका छन् भने २ सय ८४ महिला महिला र अन्य लिंगका १४ जना पक्राउ परेका छन् । 


काठमाडौं अपराधीको अखडा 
तीन जिल्लाको तुलनामा काठमाडौमा अपराधी धेरै भएको प्रहरीले आँकडाले देखाएको छ । १ बर्ष अवधीमा काठमाडौंमा ७७ प्रतिशत अर्थात ४ हजार ५ सय ८२ अभियुक्त पक्राउ परेका छन् भने लतिलपुरमा १५ प्रतिशत अर्थात ८ सय ५८ जना र भक्तपुरमा ८ प्रतिशत अर्थात ४ सय ८४ अभियुक्त पक्राउ परेका छन् ।


पुरानो शहरी इलाकामा घटना धेरै 
काठमाडौं उपत्यकामा पहिलेदेखि नै शहर रहेको इलाकामा धेरै घटना हुने गरेको छ । यस्तै भर्खरै विकसित शहरमा दोश्रो र ग्रामिण भागमा आपराधिक घटना दर तेश्रो स्थानमा रहेको छ । प्रहरीले छुट्टाएको कोर एरियामा ४९ प्रतिशत आपराधिक घटना भएका छन् भने आउट डोर अर्थात भर्खरै विकसित शहरी एरियामा ३६ प्रतिशत घटना भएको छ । यस्तै उपत्यकाका ग्रामिण भागमा १५ प्रतिशत अपराधका घटना भएका छन् ।    
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप