सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मिथिला माध्यमिकी परिक्रमाको नालीबेली

बिहीबार, २३ फागुन २०७५, १२ : ०३
बिहीबार, २३ फागुन २०७५

जनकपुर– होली पर्वभन्दा २ साताअघि सुरु हुने मिथिला मध्यमा परिक्रमा यो वर्ष फागुन २२ गतेबाट विधिवत रूपमा सुरु भएको छ ।

मिथिलाञ्चलको ऐतिहासिक धार्मिक महत्त्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा धनुषाको कचुरीबाट सुरु भएको हो ।

फागुनको आँैशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत विहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक ठाउँहरूको ९० किलो मिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी १ सय २० किलो मिटर भू–भागमा साधुसन्तलगायत श्रद्धालु भक्तजनले पैदल यात्रा गर्ने गर्छन् । 

माध्यमिकी परिक्रमा सुरु हुने दिन धनुषाको मिथिला विहारनी नगरपालिका वडा नम्बर ८ कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी र कीर्तनसहित रामजानकीको डोला जनकपुरको रत्नसागर मठ हुँदै जानकी मन्दिर ल्याउने परम्परा छ । यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरू समेत एकीकृत गरी परिक्रमा यात्रा प्रारम्भ गर्ने गरिन्छ । 

परिक्रमाअन्तर्गत बृहत्, मध्य र अन्तरगृह गरी ३ प्रकारका परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरूको सङ्ख्या अहिले बढी हुने गरेको छ । डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा लाखाँै नर–नारीहरू सहभागिता हुने गर्छन् । लावालस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने गरिन्छ ।

१५ दिने माध्यमिकी परिक्रमलाई ‘मध्यमा परिक्रमा’ पनि भनिन्छ ।

१५ दिने परिक्रमामा जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक सुरु भएर फूलहर, मठिहानी, जलेश्वर, मडई, वकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुन पूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तगृह परिक्रमा गरी समाप्त हुन्छ ।

हजारौँ श्रद्धालु भक्तजनहरू १५ दिनसम्मको धार्मिक अभियानमा हिँड्ने भएकाले यो  परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटनस्थलका रूपमा प्रसिद्धि दिलाउन सहयोगसमेत हुने गरेको जानकारहरूको भनाइ छ । 

सामाजिक सद्भावको प्रतीक
नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरी जिल्ला गरी १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल हुनेछन्  । मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्त्वबारे बेग्लाबेग्लै रूपमा चर्चा गरिएको स्थलप्रति भक्तजनमा अटुट अन्धविश्वास रहेको पाइन्छ ।  
मिथिला महात्म्य अनुसार १८औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको छ । 

यस यात्रामा सहभागी हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिका पैदलयात्र तय गर्ने परम्परा रहेको छ । 

परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गहा, सीतामढी, बैजनाथधामका साधुहरू उल्लेख्य रूपमा सहभागी हुनेगर्छन् । यात्रामा नेपालका विभिन्न स्थलबाट आएका साधुुसन्तहरू पनि रहने गर्दछन् । 
महाशिवरात्रि सम्पन्न भएलगत्तै प्रारम्भ हुने यस धर्मिक यात्रा १५ दिनभित्र जनकपुर फर्केर होली खेल्दै फागुपूर्णिमा तिथिमा समापन गर्ने परम्परा छ । 

परिक्रमामा सहभागी भए  मन, वचन र कर्मले चिताएको पूरा हुने, अनेकन पाप तथा अन्याय नष्ट र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । 

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ । 

यसलाई मिथिलाञ्चल क्षेत्रकै महाकुम्भ भनेर पनि चिनिने गरिन्छ । तर मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरूले छोटो दूरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम उपमहानगरपालिकाभित्र पर्छ ।

मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुँदै हिमालय क्षेत्र, कोसी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ । भारतको पटनास्थित गङ्गा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ ।

बृहत् माध्यमिकी र अन्तःगृह परिक्रमा मङ्सिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भए पनि ती परिक्रमा फागुन महिनामै हुने परम्परा छ ।

केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुरस्थित रत्नसागरस्थनका स्वः महन्त बाबा नारायण दासजीले करिब डेढ सय वर्षपूर्वदेखि दुई सयसम्म साधुसन्तलाई लिएर वनजङ्गलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशअनुसार पुनः आरम्भ गरेको बताइन्छ । 

त्यसलाई करिब पचास वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले पाँच सय साधुसहित बाजागाजासहित परिक्रमा गरेका थिए ।  

पाँच सयको सानो सङ्ख्यालाई बढाएर २० हजार पु¥याई परिक्रमाको महत्त्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमहंसको उल्लेखनीय योगदान रहेको लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णवले बताउँछन् ।

 विश्रामस्थल र विशेषता
मध्य परिक्रमा अर्थात् पञ्चकोशी परिक्रमा नेपाल–भारतको ८० कोशको वृत्ताकारमा धुमी मनाइने गरिन्छ । नेपाल र भारतको १५ विश्रामस्थलमा फाल्गुण अमावश्यादेखि सुरु गरी फाल्गुण पूणिर्मासम्ममा यो परिक्रमा अन्त्य गर्ने गरिन्छ । हरेक विश्रामस्थलको आफ्नो छुट्टै विशिष्ट र पुरातात्विक महत्त्व रहेको छ ।

हनुमानगढी : फाल्गुण अमावश्याको दिन धनुषाको कचुरी मठबाट निस्केको रामजानकी (मिथिलाविहारी) को डोला लिएर जानेहरू जानकी मन्दिर हुँदै बाजागाजासहित हनुमानगढीमा राति विश्राम लिन्छन् । यहाँ सयौँ वर्ष पुरानो हनुमान मन्दिर छ । यस क्षेत्रलाई अचेल हनुमाननगर भन्ने गरिन्छ । सीमावर्ती क्षेत्र भारतको विहार प्रान्तस्थित कलना र फुलहर पर्दछ भने अन्य विश्रामस्थल नेपालमै पर्दछ ।

कल्याणेश्वर (कलना) : विश्रामको दोस्रो विश्रामस्थल भारतको कल्याणेश्वर अर्थात कलना हो । यहाँ कल्याणेश्वरनाथ महादेवको मन्दिर छ । राजर्षिजनकले आफ्नो राजधानी जनकपुरधामको चारै कुनामा स्थापना गरेका चार महादेवमध्येको एक हो ।

गिरिजास्थान (फुलहर): परौणाकिस्थलको रूपमा रहेको कल्याणेश्वर स्थानबाट चार कोश दक्षिण पश्चिममा रहेको गिरिजास्थान तेस्रो दिनको विश्रामस्थल हो । त्रेतायुगमा सीताले यहीँ फूल चुनिरहेको बेला रामको पहिलो भेट भएको किंवदन्ति छ । यहाँ दुःख हरण कुण्ड, सीतासागर र फूलबारी रहेको छ ।

मटिहानी : मिथिला पञ्चकोशी परिक्रमा चौथो दिन अर्थात् फाल्गुण शुक्ल तृतीयाको दिन महोत्तरी जिल्लाको पहिलो विश्रामस्थल मटिहानी पर्दछन् । यहाँ सीताजीको मटकोरको लागि माटो खनिएको विश्वास गरिन्छ । यहाँ प्रसिद्ध लक्ष्मीसागर नामको पोखरी र लक्ष्मीनारायणको मन्दिर रहेको छ ।

जलेश्वर : मटिहानीबाट तीर्थालुहरू अर्को दिन जलेश्वर पुग्छन् जो मटिहानीबाट २ कोश पश्चिममा पर्छ । यहाँ जलमा विराजमान जलेश्वरनाथको पूजा आराधना गर्ने गर्छन् ।
मडै : फाल्गुण शुक्ल पञ्चमीको दिन परिक्रमाको डोला जलेश्वरबाट प्रस्थान गरी मडै पुग्छन् र यहाँ राति विश्राम लिन्छन् । प्राचीनकालमा यहाँ माण्डव ऋषिको आश्रम र सीताजीको बिहेको लागि मडवा (वेदी ) यहीँ बनाइएको जनश्रुति पाइन्छ ।

ध्रसवकुण्ड : मडइबाट सातौँ दिन धु्रवकुण्ड पुगिन्छ र यहाँ विश्राम लिइन्छ । यहाँ ध्रुवको मन्दिर र कुण्ड रहेको छ ।

कञ्चनवन : कुण्डको दर्शन गरेर तीर्थालुहरू महोत्तरीको अन्तिम विश्रामस्थलका रूपमा रहेको कञ्चनवनमा सप्तमीको दिन पुगी विश्राम लिन्छन् । यहाँ इच्छावती र विरजा गङ्गाको पवित्र सङ्गमस्थल भएकाले यसलाई पवित्र मानिन्छ । 

पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलिवनलगायतका १२ वटा रमणीय वन रहेका थिए । त्रेतायुगमा यहाँ भगवान् रामले होली खेलको किंवदन्तिअनुसार यहाँ परिक्रमाबासी पुगी अबिर खेली होली मनाउने गर्छन् ।
पर्वता : नवम दिन तीर्थालुहरू धनुषाको पर्वतामा विश्राम लिन्छन् । राजा जनकद्वारा स्थापित क्षिरेश्वरनाथ महादेवको मन्दिर यहाँ रहेको छ ।
 

धनुषाधाम: पर्वताबाट तीर्थालुहरू दशौं विश्रामस्थलका रूपमा रहेको धनुषाधाम पुग्छन् । यहाँ जनकपुरमा सीताको स्वयंवर हुँदा मर्यादापुरुषोत्तम रामले भाँचेको धनुषको एक टुक्रा खसेको विश्वास छ । यहाँ सीताराम, हनुमानलगायतका मन्दिर रहेको छ तर दर्शनार्थीको दर्शनको केन्द्रविन्दु धनुषा रहेको पाइन्छ ।
 

सतोषर :  फाल्गुण शुक्ल दशमीका दिन तीर्थालुहरू डोलासँगै सतोषर पुग्ने गर्दछन् । यहाँ सातवटा पोखरी, शिव र सीताराम मन्दिर छ ।
 

औरही :  विमला नदीको तटमा रहेको औरहीमा १२औं दिनको विश्राम लिइन्छ ।
 

करुणा : नेपालको औरहीबाट पुनः परिक्रमा भारतको करुणा तेह्रौँ दिनमा प्रवेश गर्छन् । यहाँ करुणा नामको नदी विख्यात रहेको छ ।
 

विशौल : तीर्थालुहरू करुणामा विश्राम गरेपछि चतुर्दशीको दिन भारतको विसौल पुग्छन् । यहाँबाट कमला नदी बग्छ भने यहाँ ऋषि विश्वामित्रको मन्दिरसमेत रहेको छ ।
 

जनकपुरधाम : परिक्रमाको अन्तिम विश्रामस्थल जनकपुरधाममा तीर्थालु पुगी विश्राम लिन्छन् । यहाँ राति विश्रामपश्चात् अन्तिम प्रहरमा अन्तगृह परिक्रमा गर्ने गर्छन् । जानकी र राम मन्दिरलाई केन्द्रविन्दु मानी अन्तगृही परिक्रमा गर्ने गर्छन् । यससँगै मिथिलामा होली प्रारम्भ हुन्छ । १५ दिने माध्यमिकी परिक्रमामा सहभागी तीर्थालुहरू १५ दिनसम्म नै पैदल यात्रा गर्ने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप