मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सन्दर्भ : सहिद भीमदत्त पन्तको ६४औँ स्मृति दिवस

बुधबार, १८ साउन २०७४, १३ : ०४
बुधबार, १८ साउन २०७४

 
करन ताम्राकार 

अमर सहिद भीमदत्त पन्तले नेपालको मात्र नभई भारतीय स्वतन्त्रता आन्दोलनमा होमिएका कारण अठार महिनाको कठोर कारावास सजायसमेत भोगेका थिए । बदलामा स्वतन्त्र भारतका शासकले राजा, काङ्ग्रेस, राणा र भारतबीच भएको दिल्ली सम्झौता र नेपालमाथि भारतीय फौजको हस्तक्षेपका विरुद्ध बोलेका कारण तत्कालीन नेपाली काङ्गे्रसको सरकारसँग मिली संयुक्त रूपमा नेपालभित्र सैनिक अप्रेसन गरे । भारतीय स्वतन्त्रताका लागि आफ्नो ज्यानको बाजी लगाउने नेपाली योद्धा जब आफ्नो मातृभूमिको अस्मिताको रक्षाका लागि आवाज उठाउँछ तब ती मित्रद्रोहीको भारतीय शासकले हत्या गर्न खोज्छ । यस घटनाले भारतीय शासकको चरित्रलाई उदाङ्ग पारेको छ । 


२००७ सालको क्रान्तिमा सुदूरपश्चिमवाट क्रान्ति हाँक्ने नेपाली काङ्ग्रेसका कमान्डर समेत भएका  व्यक्तिलाई क्रान्ति पछि आफ्नै पार्टीको सरकारबाट कम्युनिस्ट बन्यो भनेर भीमदत्तको २८ वर्षको कलिलो उमेरमा हत्या गरियो । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र बीपी कोइराला गृहमन्त्री भएका बेला आफ्नै पार्टीको तर्फबाट सुदूरपश्चिमका कमान्डर भई क्रान्तिको नेतृत्व गर्ने व्यक्तिको हत्या गरिनुले नेपाली काङ्ग्रेसको नियतमा प्रश्नचिन्ह उब्जिएको थियो । 
मङ्गलबार अर्थात आज साउन १७ गते अमर सहिद भीमदत्त पन्तको ६४औँ स्मृति दिवसको दिन हो । यस अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि ससम्मन अर्पण गर्दै भीमदत्त पन्तले थालनी गरेको क्रान्तिलाई आज नेपाली जनसमुदायले पूरा गर्न भीष्म प्रतीज्ञा गर्नुपरेको स्मरणार्थ क्रान्तिकारी योद्धाको जीवनका केही झलक प्रस्तुत गर्न गैरहेको छु ।


विसं १९८३ साल मङ्सिर १० गते डडेल्धुराको अमरगढी नगरपालिका–२ घटाल कारीगाउँमा आमा सरस्वतीदेवी र बुबा तारानाथ पन्तको कोखबाट उहाँको जन्म भएको थियो । पाँच वर्षको नाबालकालमा ममतामयी आमाको मृत्यु भएपछि ७ वर्षको उमेरमा पढाइका लगि भारतको लखिमपुरको एक विद्यालयमा भर्ना भई विसं १९९८ मा भारतको सिंघाईबाट म्याट्रिक पास गरे । शिक्षा तथा ज्ञानविना मानवीय चेतनाको विकास हुन नसक्ने ठानी सर्वप्रथम डडेल्धुराको रूपाल विरखम र बैतडीमा संस्कृत पाठशाला स्थापना गरे । विसं २००१ मा पुनः भारत पढ्न गएका भीमदत्त अङ्ग्रेज विरोधी आन्दोलनमा सहभागी हुँदा १८ महिना इलाहावाद जेल परेका थिए, जेलजीवन पछि २००३ मा नेपाल फर्किए राणाविरोधी  आन्दोलनमा सहभागी गौरीलाल, रूपसिंह, शेखर शर्मासँग जोडिएर सुदूरपश्चिमका आदिवासी रानाथारु, दलित गरिब किसानलाई सङ्गठित गर्दै आन्दोलन अगाडि बढाए । 


२००६ सालमा गरिबीमुक्तिको अपेक्ष गर्दै नेपाली काङ्ग्रेसको सदस्यता लिए । २००७ को जनअन्दोलन लगत्तै डडेल्धुराको प्रशासक भई आफ्नो नेतृत्वमा सात सदस्यीय कामचलाउ सरकार गठन गरे । २००७ सालमा जहानियाँ राणा शासनको अन्त्यपछि पनि काङ्ग्रेसबाट गरिब शोषित जनताले गरेको अपेक्षा पूरा नहुने देखेर पार्टी परित्यग गरे । २००८ सालमा नेपालको  महाकाली क्षेत्रमा समानान्तर सरकारको गभर्नर रहँदा उपचार नपाएर जेठा छोरा प्रेमराजको मृत्यु र आठ  दिनपछि लगत्तै छोरी र केही समयपछि कान्छो छोराको पनि मृत्यु हँुदा पारिवारिक शोकभन्दा शोषक सामन्तीहरूको क्रुर पञ्जावाट गरिब जनतालाई मुक्तपार्नतिर लागिरहे । भारतीय माक्र्सवादी चिन्तक कृष्णास्वमी एड्गरलाई भेटेपछि उहाँ कम्युनिस्ट सिद्धान्तप्रति आकर्षित हुनुभयो । त्यसपछि नेपाल कम्युनिस्ट पार्टीका पुष्पलालसहितका नेतालाई भेटेपछि पूर्णतः कम्युनिस्ट कार्यकर्ता भएर किसान फाँटको जिम्मेवारी लिई काम गर्न थाल्नुभयो । २००७ सालको दिल्ली सम्झौताको विरुद्ध भैरहवा र नेपालगञ्जमा चलेका आन्दोलन दबाउन संयुक्त रूपमा भारतीय र नेपाली सैनिकबाट दमन गर्न लगाएको विरोध गर्दा काङ्ग्रेसको सरकार उहाँप्रति रुष्ट भयो । महाकाली क्षेत्रमा कमैया प्रथाको विरुद्ध जनतालाई गोलबद्ध गर्दै “केत जोत हलो, केत छोड थलो, हैन भने अब छैन भलो” भन्ने नाराले शोषक सामन्तको मुटुमा ढ्याङ्ग्रो ठ्योक्यो र गरिब जनता उहाँको वरपर गोलबद्ध हुँदै गए उहाँ कालाबजारियासँग नुन, तेल लत्ताकपडा खोसेर गरिब जनतालाई बाढ्नु हुन्थ्यो, गाँजा, चरेस खोजीखोजी जलाउनुहुन्थ्यो । 


सरकारबाट संरक्षित गाँजाँ चरेसका व्यपारी तथा कालाबजारिया उहाँका दुस्मन भए । सरकारले उहाँलाई डाका घोषित गर्यो, तत्कालीन डडेल्धुरा जिल्लाका बडाहाकिम धर्मशमशेरले उहाँको जिउँदो वा मृत टाउँको ल्याउनेलाई रु ५ हजार पुरुस्कार दिने घोषणा गरे । पटक पटक उहाँलाई पक्राउ गरिए पनि जनदवावका कारण जेलमुक्त गर्नुपरेको थियो । २००९ सालमा गिरफ्तार गरी बेलैरी थुनामा राखिएका पन्तलाई त्यहाँका जनताले दबाबमूलक सङ्घर्ष गरेपछि तत्कालीन सरकार छोड्न बाध्य भयो । तर, रेडियोबाट जेल तोडेर भागेको प्रचार गरियो । भारतसँग नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र प्रधानसेनापति किरण शमशेरले भीमदत्त पन्तलाई मार्न सैन्य सहयोग माग गर्यो । २०१० साल असारमा सात सयको सशस्त्र फौजसहित धनगढी कब्जाका लागि आत्तरिया बडेहा गाउँमा  तयारी गरिरहेका बेला भारतीय सेनाले आक्रमण गर्दा तीनजनाको मृत्यु, दर्जनौँ घाइते र दुई सय पचास जतिलाई गिरफ्तार गर्यो ।
 तर भीमदत्त पन्त घेरा तोड्न सफल भए । २०१० साउन १७ गते आन्दोलनलाई पुनः सङ्गठित गर्नेक्रममा डडेल्धुरा गल्लेखमा खाना खान लागेका बेला भारतीय र नेपाली सेनाले संयुक्त रूपमा घर घेराहाली मित लालबहादुर थापाले झुक्याई गोली हानी हत्या गरियो । अन्त्यमा भीम्बा दियाल नामका भीमदत्तकै मित्रपर्ने एक जना सेनाले घिसार्दै खुकुरीले उहाँको टाउको छिनाले । हत्याको खबरले त्यस क्षेत्रका शोषक सामन्तीहरूले ठूलो उत्सव मनाएर भोज खाए ।

आफूलाई आन्दोलन पछिको प्रजातान्त्रिक सरकार भन्ने तत्कालीन काङ्ग्रेस सरकारका पालामा हत्या गरिएका पन्त विसं १९९७ सालमा मारिएका चारजना सहिदहरूका बीच एउटा संयोग के देखियो भने हत्या गरिएपछि डडेल्धुरा पुर्याइएको पन्तको टाउको बासको खम्बामा झुण्ड्याएर ‘देशद्रोह र राजद्रोह गर्नेलाई यस्तै हुन्छ भनी लेखिएको थियो । त्यसभन्दा अगाडि उहाँको टाउकाको फुटबल खेलेर ३ दिनसम्म जमिनमा गाडिएको थियो । भीमदत्तकी पत्नी पार्वती देवीले आफ्नो लोग्नेको टाउको माग्न बडाहाकिम मोहनबहादुर सिंह कहाँ जाँदा अशोभनीय तरीकाले अपमानित गरी ३१ वटा शर्तमा सहीछाप गर्नलगाई टाउको दिएका थिए । जसलाई डडेल्धुराको प्रख्यात घटाल मन्दिर नजिक दहासंस्कार गरियो । स्मरण होस् पन्त पत्नी पार्वतीदेवीको सात वर्षअघि निधन भइसक्यो ।

“अगाडि डाँक गाडी आयो पछाडि माल आयो 
गरिबको पालो आयो ठालुको काल आयो ।।”

उक्त गीत भीमदत्त पन्तले आफै रचेर गाउँदै हिँड्ने गरेको उहाँका समकालीनहरू बताउँछन । तत्कालीन भारतीय स्वतन्त्र सङ्ग्रामी खुदीरामलाई अङ्ग्रेज शासकले फाँसीमा झुण्ड्याउनुअघि भनेका थिए ‘नौ महिना नौ दिनपछि जन्म लिन्छु सानिमाको घरमा । त्यसपछि म यो देशबाट अङ्ग्रेजलाई धपाउने छु ।’ भनिन्छ ठीक त्यति नै समयपछि उनको सानिमा घरमा नेताजी सुवाषचन्द्र बोसको जन्म भएको थियो । इतिहास साक्षी छ, नेताजी सुवाषचन्द्र बोसले अङ्ग्रेज सत्तालाई हल्लाएर राखिदिएका थिए । सायद पन्तको क्रन्तिकारी विचार सुदूरपश्चिमबाट कसैनल कसैको नाममा जन्मेको हुनुपर्छ, । जसले शोषक सामन्ती र सबैखाले शोषण, दमन तथा उत्पीडनका विरुद्ध मानवीय हैसियत खोज्नेछ । जनमानसको भनाइ पाइन्छ ।
 उहाँको विचारलाई यस धर्तीमा फुलाउँदै फैलाउँदै जानुपर्ने हामी सबैको अठोट जरुरी छ, सहिद पन्तप्रति हर्दिक श्रद्धाञ्जलि !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप