मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ब्लग : महिलामाथि दृष्टिकोण परिवर्तनको खाँचो

बुधबार, १८ साउन २०७४, १३ : ३४
बुधबार, १८ साउन २०७४

–कुन्ति पोख्रेल

जीवनमा अनगन्ती चोटहरूको सामु ती अनुपम यादगार थोरै भए पनि अमूल्य क्षण बन्दो रहेछ । हजारांै कोसिस र अनियन्त्रित भावनामा बगेका लाखौँ शब्दहरूका मीठा भावहरूले जीवनलाई नै सुगन्धित बनाउँदो रहेछ । हामी महिलामा अदृश्य छ, लेख्न पनि अलिकति गाह्रो हुँदो रहेछ । पलहरूलाई शब्दमा उतार्न नै औँलाहरू काँप्दा रहेछन् । हाम्रो समाजले महिलालाई त एक भिन्न किसिमको जन्जिरमा बाँधेको छ । 


 समाजले न जन्जिर तोड्न दिन्छ न त यहाँबाट निस्कन नै दिन्छ ।  हजार प्रश्न छन् यहाँ तर उत्तर शून्य छ । महिलामा जति नै धेरै प्रतिभा भए पनि समाजले त्यस प्रतिभालाई अगाडि आउन दिँदैन । त्यो प्रतिभालाई आफ्नो सोचअनुसार ढाल्न र आफ्नै स्वार्थमा क्षमतावान नारीहरूलाई प्रयोग गर्दछन् । त्यस्तो पुरुषलाई धिक्कार्छु, जुन महिलाको भावनालाई आफ्नो स्वार्थको रूप दिन्छ ।


विवेकशील पुरुषहरूले जहिले पनि महिलाको योग्यताभन्दा पनि सम्झौतामा अघि बढाएको देखिन्छ । के यो पुरुषवादी समाज कहिल्यै परिवर्तन हुन सक्दैन ? के महिलाहरू यो अप्रत्याशित कुराहरूबाट टाढा बस्न नपाउने ? जुन कुरा पुरुषमा लागू हुन सक्दैन किन ? समाजमा परिवर्तनका लहर जति बाहिरी आवरणमा देखिन्छन्, भित्री रूपमा खोक्रा लाग्दछन् । उही सम्झौता र बाध्यताका घेराबन्दीमा सीमित हुन्छन् ती योग्यता र क्षमता । जब महिला कुनै आर्थिक सामाजिक, राजनीतिक क्षेत्रमा अगाडि बढ्ने कोसिस मात्र के गरेका हुन्छन् तब सङ्कुचित भावनाका पुरुषहरू निक्लन्छन् । उनीहरूले ती महिलाका दिमागमा के–के भर्नसमेत पछि पर्दैनन् । यस्ता कुराले महिलाहरूलाई हतोत्साही बनाउने र कामप्रति वितृप्णा जगाउने गर्दछन् । यस्ता घटनाहरू त कति हुन कति ?


प्रजातन्त्र, लोकतन्त्र हँुदै गणतन्त्रतिर लम्किरहेको हाम्रो समाजले न आर्थिक रूपमा फड्को मार्न सफल छ, न राजनीतिक रूपमा, न कुनै महिला हिंसामा कमी आएको छ । बस् परिवर्तन आएको छ त बेरोजगारी, भ्रष्टचार र महिला हिंसामा । जसले देशलाई अझै बढी दुखाइरहेको छ । के यही गतिमा हाम्रो देश नेपाल गइराख्यो भने केही वर्ष पछि देशको स्थिति के होला ? प्रत्येक नेपालीको मानसपटलमा यही प्रश्न उब्जिन्छ ।


जति नै आधुनिकताको कुरा गर्नुहोस् । तर वास्तविकता र यथार्थता अर्कै छ । पुरुषहरूले महिलालाई अगाडि बढ्न रोकेका धेरै उदाहरण छन् । जुन हतोत्साही होस् या सम्झौता गर्न बाध्य बनाइयोस्, जे भए पनि कुनै नारी प्रतिभा हँुदाहँुदै पनि अगाडि बढ्न सक्दैनन् । 


आर्थिक सशक्तीकरण र समाजसँगै महिलाका उपलब्धि चुनौतीमा केन्द्रित भएर महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्र सङ्घीय आयोगको ६१औँ सत्र (कमिशन अन दी स्टेटस अफ विमेन) भर्खरै सकिएको छ । आर्थिक रूपमा महिला सशक्तीकरण भएन भने कुनै पनि क्षेत्रमा सफल भइँदैन । तर हामी महिला पछिपर्नुको कारण के हो भने समाजले हामी जन्मनुभन्दा पहिले पेटमा नै मारिने डर । जन्मियौँ भने अर्काको घर जाने जात । अर्काको घर बुहारी भयो भने अर्काकी छोरी भनियो परिवन्धन त तोड्नै पर्छ । जन्मेको घरमा महिलालाई व्यवसाय गर्न पुँजी दिन्छन् त ? दिँदैनन् । हो  अब बिहे गरेर अर्काको घर जाँदा हामीलाई फेरि उही प्रश्न, व्यवसाय गर्न श्रीमानको परिवार वा श्रीमानले पुँजी दिन्छन त ? दिँदैनन् । अर्काकी छोरी भन्छन् । हो, यही दोहोरीको खेलमा हामी महिला फसेका हुन्छौँ, खोई कुन  नारीवादले यसलाई समाधान गर्छ ? 


महिलाको आर्थिक  सशक्तीकरण उनीहरूले गर्ने काम र कमाउने पैसासँग जोडिएको छ । जसले जे भने पनि सशक्तिकरण आर्थिकसँगै जोडिएको हुन्छ । आर्थिक पक्ष सवल छ भने दुनियाले हेर्ने आँखा पनि सकारात्मक हुन्छ  । यो समाजमा सम्पति हुने मानिसलाई हेर्ने दृष्टिकोण र नहुने मानिसलाई हेर्ने दृष्टिकोण एकदमै फरक छ । यो हामीले देखेकै र भोगेकै कुरा हो । सशक्तीकरण र व्यावसायिकता बीच गहिरो सम्बन्ध छ । जब हामी महिलालाई आर्थिक रूपमा बलियो बनाउन सक्दैनौँ, समाजलाई पनि परिवर्तन गर्न सक्दैनौँ ।


   एउटा कुरा हामीले यहाँ पनि विचार गर्न सकिन्छ, जुन विषयका लागि पुरुषहरूलाई रोजिन्छ र काम दिइन्छ । हो विचार गर्नुहोस्, त्यही काम महिलाहरूका लागि रोज्नुहोस् र दिनुहोस् । निःस्वार्थ र निर्भिकताका साथ हेर्नुहोस । महिलाले इमानदारीताका साथ काम गरेका हुन्छन् । यस्ता फरक धेरै छन्, जुन समाजका लागि अपाच्य हुन्छन् । यो समाजमा महिलाहरूलाई आरक्षणका नाममा एउटा अवसर त दिइयो । तर त्यसमा पनि के गरियो भने जुन प्रतिभावान छन् र काम राम्रो गर्छन्, त्यसलाई पुरुषहरूद्वारा नै पछि पारिन्छ । जसले आफ्नो कामभन्दा पनि तालुकदारको इसारामा हिँड्नेलाई अवसर दिइन्छ । हो यहाँ यस्तै छ ।

इसारामा हिँड्न बाध्य गराइन्छ । दोष हिँड्ने व्यक्तिको होइन, बाध्य गराउने प्रवृत्तिको हो । महिलालाई यही प्रवृत्तिले जहाँ गए पनि पिँजडा रूपी एउटा गुडिया बनायो । समाजका कतिपय अस्वस्थ मानसिकता बोकेकाहरूले आफ्नै सोच, आफ्नै प्रतिभा, विवेकअनुसार चल्ने महिलालाई टिक्न पनि नसक्ने बनाइदिँदा रहेछन् । आधुनिक समाज भन्ने त नाम मात्र रहेछ । शोषणको जरा भित्रभित्रै गाँजिएको छ । यस्ता चौतर्फी चुनौतीहरूलाई सामना गरी अगाडि बढ्ने परिस्थितिको निर्माण जबसम्म हुँदैन, तबसम्म महिलाहरूको अवस्थामा सुधार आउने सङ्केत देखिँदैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप