तरुण दल कार्यकर्ता अनिष पुरीका हत्यारा आफ्नै साथी
बुटवल– केही दिनअघि रुपन्देहीको देवदहमा भएको नेपाल तरुण दलका कार्यकर्ता अनिष पुरीका हत्याराहरुलाई रुपेन्देही प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुलाई मंगलबार सार्वजनिक गरेको हो ।
फागुन–२६ गते राति करिव साढे ७ बजेको समयमा रुपन्देहीको देवदह नगरपालिका–९ घोडाहस्थित संगमपथमा हत्या गरिएका पुरीका हत्यारा सोही स्थानका आफ्नै १२ जना साथीहरुको समूह रहेको खुलेको छ ।
उनीहरु पुरीसँग एक समय निकै मिल्ने साथी भएको समेत खुलेको छ । उनीहरुले पुरीमाथि ठेक्कापट्टाको रिसईवी साँधेर पूर्व योजना बनाई हत्या गरेको खुलेको हो ।
पुरीमाथि ४ नाबालकसहित १२ जनाको समूहले लाठी, रड र ढुङ्गा प्रहार गरि हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी ह्दय थापाले पत्रकार सम्मेलन गरि जानकारी दिए ।
हत्या अभियोगीमध्ये ४ जना नाबालक रहेकोले पक्राउ परे पनि प्रहरीले सार्वाजानिक गरेको छैन । उमेर पुगेका ८ जनालाई भने प्रहरीले पत्रकार सार्वाजानिक गरेको छ ।
पुरीको हत्या अभियोगमा उनकै छिमेकी २१ वर्षीय अर्जुन सारु, सोही उमेरका आकाश सारु, पाल्पाको मदनपोखरा गाउँपालिका २ घर भई हाला पुरीकै छिमेकी घोडाह बस्ने १८ वर्षीय कमल बोडेल सार्की, घोडाहमै बस्ने बर्ष २१ का जीवन भण्डारी, पाल्पाकै तिनाउ गाउँपालिका ५ घर भई घोडाहमै बस्ने २० वर्षीय ताराबहादुर बराल, घोडाहकै २० वर्षीय विश्वास गुरुङ्ग, सोही स्थानका २१ वर्षीय शिशिर राना, सोही वडाका २० वर्षीय मने भन्ने मनोज क्षेत्री रहेका छन् ।
त्यसदिन साँझ घोडाहबाट साथीहरुलाई पछाडी राखी लु ४२ प ९९८२ नम्वरको मोटरसाईकल चढेर महेन्द्रराजमार्गतर्फ जाँदै गरेका पुरीलाई संगमपथमा ती १२ जनाले एकै साथ आक्रमण गरेका थिए । उनलाई उपचारका लागि भलुही मेडिकलेज लैजाने क्रममा मृत्यु भएको थियो ।