सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तीन परिवारको दाजुभाई ठगीसँगै चोरी धन्दामा : सुन भन्दै फलाम बेच्दै

मङ्गलबार, ०३ वैशाख २०७६, १६ : ०९
मङ्गलबार, ०३ वैशाख २०७६

काठमाडौं । उपत्यकामा हुने ठगी र चोरीका घटनामा एकै परिवारका सदस्य संलग्न हुने गरेको भेटिएको छ । महानगरीय प्रहरी परिसर टेकुले ठगीसँगै चोरीमा संलग्न तीन परिवारका दाजुभाईसहित १३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेपछि यस्तो रहस्य खुलेको हो ।

परिसरले मङ्गलबार पत्रकार सम्मेलन गर्दै पछिल्लो समय पक्राउ परेका १३ जनालाई सार्वजनिक गरेको छ । यसअघि पनि परिसरले एकैपटक सार्वजनिक यातायातमा चोरी गर्ने १५० जनाभन्दा बढीलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । 

तर, पनि ठगी गर्नेसँगै चोरी गर्नेहरुको संख्यामा कुनै कमी आउन नसकेको प्रहरीले स्वीकार गरेको छ । परिसरका निमित्त प्रहरी प्रमुख एसपी अशोक सिंह भन्छन्, ‘प्रहरीले दिनदिनै ठगीसँगै चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिरहेको छ । तर, पनि ठगी गर्नेहरुको संख्यामा कमी आउनुको सट्टा बढ्दो छ । त्यसमा पनि पारिवारिक सम्बन्धका व्यक्तिको संलग्नता रहेको भेटिएको छ ।’ 

प्रहरीले ठगी गर्ने र चोरी गर्ने ठाउँहरुमा छुट्टै किसिमको अप्रेशन चलाएर चोरी गर्नेहरुलाई नियन्त्रणमा लिने तयारी गरेकोे एसपी सिंहको भनाई छ । 

सुन भन्दै फलामका टुक्रा दिने ४ जना पक्राउ
केही महिनाअघि काठमाडौं जिल्लाका विभिन्न स्थानमा सुन भन्दै फलामका टुक्रा बेचेर ठगिएको भन्दै महानगरीय प्रहरी परिसरमा गुनासो पर्छ । प्रहरीमा उजुरी परेपछि परिसरले विभिन्न ठाउँमा प्रहरी परिचालन गर्छ । गत पुस १२ गते सामाखुसी रानीवारीका राजेश विक चारजना व्यक्तिहरुसँग ठगिन्छन् । फलामको टुक्रालाई सुन राख्ने पातो प्याकेटमा पहेलो कपडाले बेरी राजेश विकसँग उनीहरुले १९ लाख नगद लिन्छन् । 

सस्तोमा सुन किनेका राजेशले घर गएर पातोमा हेर्दा ४ वटा फलामको टुक्रा भेट्छन् । त्यसपछि राजेशलाई थाहा हुन्छ आफू ठगिएको । तत्कालै प्रहरीमा खबर गर्छन् । राजेश विक सुन व्यवसायी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष टोली परिचालन गरी ठगी गर्नेहरुको खोजतलास गर्छ । सोही क्रममा उनलाई ठगी गर्ने चारै जनालाई वैशाख २ गते सुन्धाराबाट प्रहरीले पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

उनीहरुको साथबाट बा२ज १८४१ नम्बरको ट्याक्सी र ७० हजार समेत प्रहरीले बरामद गरेको थियो । 

पक्राउ पर्नेहरुमा नुवाकोट दुप्चेश्वर–६ बस्ने ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रे चौरी–३ बस्ने वर्ष २६ को चन्द्रबहादुर श्रेष्ठ, सोही स्थान बस्ने वर्ष २१ का प्रविन श्रेष्ठ र वर्ष १९ का सुवास श्रेष्ठ रहेका छन् । 

ठगी गरेको १९ लाखमध्ये तामाङले ९ लाख ५० हजार, चन्द्र बहादुरले ३ लाख ५० हजार, प्रविनले ३ लाख र सुवासले ३ लाख लिएको पत्रकार सम्मेलनमा प्रवक्ता बोगटीले जानकारी दए । 

प्रवक्ता बोगटीका अनुसार चन्द्र, प्रविन र सुवास दाजुभाई रहेको प्रहरी अनुसनधानमा खुलेको छ । पक्राउ परेका उनीहरुमाथि परिसरबाट थप अनुसन्धान भइरहेको जनाएको छ । 

नक्कली सुनलाई सक्कली भन्दै ठगी
यस्तै महानगरीय प्रहरी पसिर टेकुले चैत ३० गते स्वयम्भू इलाकामा सुन बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा एक जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा धादिङ घर भई स्वयम्भू बस्ने वर्ष २२ को बेमान तामाङ छन् । 

परिसरबाट खटिएको विशेष टोलीले तामाङलाई स्वयम्भूस्थित हलचोकबाट पक्राउ गरी चेकजाँच गर्दा ग्राहक कुरिरहेको अवस्थामा १ केजी नक्कली सुन बरामद गरिएको पत्रकार सम्मेलनमा एसपी सिंहले जानकारी दिए । 

पक्राउ परेका तामाङलाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

डलर साट्ने भनी ठगी गर्ने ३ जना पक्राउ

नयाँ बसपार्क, बालाजु, माछापोखरी, सामाखुसी र गौशाला क्षेत्रलाई आधार क्षेत्र बनाई विदेशबाट फर्किएकाहरुलाई डलर साट्ने भनी ठगी गर्ने ३ जना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर टेकुले सिन्धुली घर भई नेपालटार बस्ने वर्ष ३३ को उमेश घिसिङ, प्रेम घिसिङ र जोरपाटी बस्ने वर्ष १२ को दान बहादुर तामाङलाई पक्राउ गरेको हो । 

विदेशबाट फर्किएकाहरुलाई डलरलगायत अन्य विदेशी रकम बढीमा साटिदिने भन्दै उनीहरुले अगाडि पछाडी बण्डलमा नक्कली नोट राखी भित्रतर्फ कागज राखी साट्न आएपछि रकम लिई पैसाको बण्डल दिई भाग्ने गरेको प्रहरी अनुसन्धामा खुल्न आएको बताइएको छ । 

उमेश र प्रेम पनि दाजुभाई हुन् । उनीहरुका ४ जना दाजुभाई जनामध्ये १ जना हाल पनि सेन्टर जेलमा सजाय भोगिरहेका छन् । १ जना जेलबाट छुटी गाउँमा बस्दै आइरहेको प्रहरी अनुसनधान खुलेको प्रवक्ता बोगटीले जानकारी दिए । 

उनीहरुको साथबाट ५ तोलको औंठी, ४६ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । 

चोरी गर्दागर्दै २ जना रंगेहात पक्राउ
महानगरी प्रहरी वृत कालीमाटीले चोरी गर्दागर्दै २ जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर भई कलंकी बस्ने वर्ष ३५ को सुनिल श्रेष्ठ र सोही स्थान बस्ने वर्ष २६ का अर्जुन श्रेष्ठ छन् । 

उनीहरुले नागार्जुन नगरपालिका–८ दुर्गा नगर कोलेनीमा तर्कबहादुर कुँवरको ३ तले घरको दोस्रो तलामा रहेको रञ्जनराम चौधरीको ३ वटा कोठामा चोरी गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ कालीमाटी वृत्तबाट सिभिल पोशाकमा खटिएको पीसीसीबी र सीआरभी टोलीले पक्राउ गरेको हो । 

घरमा कोही नभएको अवस्थामा उनीहरुले कोठाको ताल्चा फुटाई भित्र प्रवेश गरी बक्स पलङको घर्रामा रहेको सुनचाँदी तथा नदग चोरी गरी फरार हुने क्रममा पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता बोगटीले जानकारी दिए । 

उनीहरुको साथबाट सामसुङ ग्यालेक्सी–जे २ मोबाइल, कलर्स मोबाइल, नगद २८ हजार ४ सय ६० रुपैयाँ, ढोकाको ताल्चा फुटाउन प्रयोग हुने २ थान फलामे रड बरामद गरिएको छ । 

पक्राउ परेका उनीहरु पनि दाजुभाई हुन् ।  उनीहरुमाथि कालीमाटी वृत्तबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लुटपाटमा संलग्न ३ भारतीय नागरिक पक्राउ
महानगरीय प्रहरी वृत्त लैनचौरले लुटपाटमा संलग्न ३ जना भारतीय नागरिकलाई इन्द्रचोकबाट पक्राउ गरेको छ । विभिन्न स्थानहरुमा चोरी, लुटपाट र पाकेटमारी गर्न बसिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

पक्राउ पर्नेहरुमा ताहाचाल बस्ने वर्ष २० को दिपक प्रसाद जैसवाल, टेकु बस्ने वर्ष १९ को बिजु साह र कालीमाटी बस्ने वर्ष २१ को राजकुमार राम रहेका छन् । 

उनीहरुको लुटपाट गर्ने तरिका प्रायः मादक पदार्थ सेवन गरेका मानिसहरुलाई पिछा गर्ने र थप साथीलाई बोलाउने र निजलाई कुटपिट गरी नगद तथा सामानहरु खोस्ने गरेको एसपी सिंहले बताए । उनले भने, ‘एकान्तमा मापसे गरेकालाई पछाडिबाट आक्रमण गर्ने र लुटपाट गर्ने गरेको पाइएको छ ।’  

उनीहरुले चोरी, लुटपाट र पाकेटमारी गरेका सामानहरु टेकुस्थित रहेको चन्दन पोदारको कोठमाका राखेको र चन्दनको कोठामा खानतलासी गरी नगदसहित केही थान सामान बरामद गरिएको प्रवक्ता बोगटीले जानकारी दिए । 

उनीहरुको साथबाट प्रहरीले एक लाख ९८ हजार, ९ थान क्यामेरा, १० थान मोबाइल, ९ थान घडी, ७ थान मनी पर्स, १ थान ब्याग, १ थान मिनी प्रोजेक्टर, जेनेनेटर १ थान, म्याजिक बत्ती ९ थान र स्पिकर १ थान बरामद गरेको छ । 
पक्राउ परेका उनीहरुलाई लैनचौर वृत्तबाट चोरी तथा डाँका अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । हालसम्म उनीहरु विभिन्न मितिमा ५ घटनामा संलग्नता भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप