पुनःमतदान गर्न आएकी पद्मावतिको कुराले मतदाताका आँखा रसाए (भिडियोसहित)
शारदानगर (चितवन)– शुक्रबार दिउँसो पानी भर्खर रोकिएको थियो । ह्वील चेयरमा आफ्ना भाइका साथ ३१ वर्षीया पद्यमावती अधिकारी चितवनको भरतपुर महानगरपालिका १९ स्थित किरण मावि मतदान केन्द्रमा भोट हाल आइ पुगिन् ।
उनका हातगोडा नचल्ने थिए भने बोली पनि प्रष्टसँग बुझिदैनथ्यो । उनी शारिरीक अवस्थाका कारण ह्वील चेयरमा बसेर अरुको सहयतामा एक ठाउँबाट अर्को ठाउँ पुग्न सक्छिन् ।
शारिरीक रुपमा अपाङ्गता भएपनि उनको चेतनास्तर भने उच्च भएको उनको भनाईले जनाउथ्यो । घरी घरी चुनाव हुँदा आफूजस्तो अपाङ्गता भएका मान्छेलाई गाह्रो भएको भन्दै उनले पीडा पोखिन् ।
मतदान केन्द्रमा पुगेपछि उनलाई प्रहरीले पनि सहयोग गरेर मतदानस्थलमा पु¥याए । भाइले मतपत्र समाएपछित्यसमाभोट हालेको उनले पनि हेर्न खोजिन् । प्रहरीको सहयोगमा गोप्य मतदान गर्ने ठाँउमा पुगेपछि भाइलाई आँखाले इसारा गर्दै आफूले रोजेको चिन्हमा मतदान गर्न लगाइन् ।
मतदानपछिउनले आफूले दिएको भोटको सदुपयोग हुने बताइन् । उनले मतदान गर्नका लागि देखाएको चासोलाई कर्मचारी, सुरक्षाकर्मीले अभिरुची मानेर हेरिरहेका थिए ।