सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्मला हत्या प्रकरण : अनुसन्धानको सुई भारततर्फ सोझियो

शनिबार, १४ वैशाख २०७६, १५ : २०
शनिबार, १४ वैशाख २०७६

काठमाडौं । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । निर्मलाको शव भोलिपल्ट ११ गते घर नजिकैको उखुबारीमा शव फेला परेको थियो ।

तर, घटनाको ९ महिना बितिसक्दा पनि प्रहरी बास्तविक दोषीसम्म पुग्न सकेको छैन ।

निर्मलाको हत्यारा पत्ता लगाउन राज्य संयन्त्रले सबै शक्ति लगाएको देखिन्छ । तर, पनि पन्तको बलात्कारपछि हत्या प्रकरण अझैं रहस्यमै रहेको हो ।  प्रहरी स्रोतका अनुसार यो घटना राज्यलाई अहिलेसम्मकै महंगो सावित भएको छ ।

एकातिर पन्त हत्याका वास्तविक अपराधीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने माग सडक तथा सदनमार्फत उठिरहनु र अर्कोतिर अनुसन्धानमा कुनै प्रगति नहुनुले प्रहरी संगठनलाई थप चुनौति थपिएको छ ।

हत्या प्रकरणको सुरुवातमै प्रहरीले अनुसन्धानमा गरेको गम्भीर कमजोरीका कारण यो अवस्था सिर्जना भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख निरज शाही स्वीकार्छन् । केही प्रहरीको कमजोरीका कारण प्रहरी संगठन नै बदनाम हुन पुगेको उनको भनाई छ ।

हालसम्म प्रहरीले ५ सय जनाभन्दा बढीलाई नियन्त्रणमा लिई सोधपुछ गरेको सीआईबीका प्रवक्ता (एसपी) सुदीप गिरी बताउँछन् ।

टोलीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका कुनै पनि व्यक्तिलाई यातना नदिई सामान्य सोधपुछ गर्नुका साथै अन्य प्राविधिक परीक्षण गर्ने गरेको उनले बताए ।

उनले हत्या आरोपी ढिलोचाँडो पत्ता लागेरै छाड्ने दाबी गर्दै भने, ‘निर्मलाको हत्यामा संलग्न अपराधीको अनुसन्धान गर्ने क्रममा स्थानीयले सुरुमा प्रहरीलाई असहयोग गरेका थिए, अहिले केही हदसम्म सहयोग गरेका छन् ।’

टोलीले अनुसन्धान गर्ने क्रममा निर्मलाको वस्ती नजिकैको गाउँका २५ सयभन्दा बढी घरहरुमा गएर सोधखोज पनि गरेको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘हामीले विशेष तरिकाले अनुसन्धान गरिरहेका छौं ।’

विभिन्न कोणबाट अनुसन्धान गर्दा पनि अस्पताविक दोषीसम्म पुग्न नसकेपछि यतिबेला प्रहरीको अनुसन्धानको सुई भारततिर पनि सोझिएको छ ।

‘बोर्डर नजिकै भएकाले त्यहाँका मान्छेलाई भारत जान सजिलो छ । धेरैको संख्यामा स्थानीयहरु भारत आउजाउ गर्ने गरेको पाइयो,’ एसपी गिरीले भने, ‘त्यहाँ अपराध गर्नेहरुका लागि भौगोलिक रुपमा भारत लाग्नु सुरक्षित क्षेत्र बन्न सक्ने आधार छ ।’

निर्मलाको घर नजिकका मान्छेहरु धेरैको संख्यामा भारत जाने भएकाले अनुसन्धान टोलीले त्यतातिर पनि शंका गरेको उनले बताए ।

‘निर्मलाको घर नजिकैका केही मान्छेहरु घटना लगत्तै भारत गएको देखिन्छ । त्यहाँका मान्छे भारतबाट नेपाल आउने विशेष समय हुँदो रहेछ । दशैं, विसु माघीलगायतका पर्वहरुमा उनीहरु गाउँ फर्किने गर्दा रहेछन् । त्यही मौकामा हामीले पनि केही व्यक्तिहरुमाथि सोधपुछ पनि गर्यौं । तर खासै उपलब्धी भने हात परेको छैन्,’ उनले भने । 

एसपी गिरीका अनुसार पछिल्लो समय भारतबाट फर्किने करिब ६ सय जनासँग सोधपुछ गरिएको छ ।

यसअघि प्रहरीले लागुऔषध तथा दुव्र्यसनीमा परेका, पहिले अपराधिक क्रियाकलापमा संलग्न रहेका र निर्मलाको परिवारसँग रिसिईबी भएकाहरुमाथि अनुसन्धानको सुई सोझ्याएको थियो ।

राज्यले आफ्नो ठूलो मात्रमा जनशक्ति परिचालन गरेर पनि यत्रो समयसम्म हत्यारासम्म पुग्न नसकेपछि अहिले प्रहरीको अनुसन्धान भारत गएकाहरुतिर मोडिएको एसपी गिरीले संकेत गरे ।

एसपी गिरीका अनुसार प्रहरीले निर्मला घटनामा ४ दर्जनभन्दा बढीको डीएनए परीक्षण पनि गरिसकेको छ । सीआईबीको विशेष टोली कञ्चनपुरमै अनवरत रुपमा अनुसन्धानमा जुटेको छ ।

उक्त टोलीले प्रत्येक दिनको प्रगति विवरण सीआईबीको केन्द्रीय कार्यालयलाई दिने गरेको स्रोतले बताएको छ । 

यसअघि हत्या प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्तीमा परिसकेका छन् ।

गृह मन्त्रलायका सहसचिव हरि मैनाली नेतृत्वको छानबिन समितिका क्रममा प्रहरीको कमजोरी देखिएपछि उनीहरू बर्खास्तीमा परेका हुन् । अन्य एक दर्जन प्रहरी निलम्बनमा परेका थिए ।

निलम्बनमा पर्ने प्रहरीमा सीआईबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसी, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठ्ठी, प्रहरी निरीक्षकहरू एकेन्द्र खड्का र गणेश सापकोटा लगायतका रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप