सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अत्यासलाग्दो आत्महत्या : प्रेममा धोका, क्षणिक उत्तेजना

४ वर्षमा १८ हजार बढीले गरे आत्महत्या, पुरुषको सङ्ख्या बढी
मङ्गलबार, १७ वैशाख २०७६, १६ : ४६
मङ्गलबार, १७ वैशाख २०७६

घटना नम्बर १

०७५ माघ १६ गते दिउँसो २ बजेको समयमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ भगवतीस्थान नजिकै सिरिस्टा कुमारी रोकायाले कोठामा विष सेवन गरिन् । विष सेवन गरेकी रोकाया अचेत अवस्थामा फेला परिन् ।

स्थानीयहरुको सहयोगमा तत्कालै उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज लगियो । सामान्य उपचारपछि सोही दिन उनलाई अस्पतालले डिस्चार्ज गर्यो ।

कोठामा हिँडेर गएकी रोकाया सोही रात पुनः अचेत भइन् । १७ गते बिहान रोकायालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगियो । टिचिङ अस्पतालबाट रोकायालाई थप उपचारका लागि ललितपुरस्थित अल्का अस्पताल रिफर गरियो ।

अल्का अस्पतालमै उपचारको क्रममा कालिकोट पलाता गाउँपालिका–३ घर भएकी २१ वर्षीया रोकायाको माघ १८ गते बिहान १०ः४० बजे मृत्यु भयो ।

रोकायाको मृत्यु भएपछि उनका दाइ वीरबहादुर रोकायाले २१ गते प्रहरीमा जाहेरी दिए । परीक्षामा फेल भएका कारण रोकायाले विष सेवन गरी आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

घटना नम्बर २

०७५ फागुन १ गते रातिको समयमा काठमाडौँको बौद्ध फूलबारीस्थित सेतो गुम्बाको खाली जग्गामा रहेको पैँयुको रूखमा दलबहादुर बुढाले झुण्डिएर आत्महत्या गरे ।

सुर्खेत साविक खानिखोला गाविस–६ घर भएका ३१ वर्षीय दलबहादुरले जिन्सको पाइन्ट र जुटको डोरीले बाँधी पासो लगाई झुण्डिएर आत्महत्या गरेका थिए ।

दलबहादुर झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी झुण्डिएको अवस्थामा फेला परेपछि स्थानीय पूर्णबहादुर बुढाले प्रहरीमा जाहेरी दिए । 

प्रहरी अनुसन्धानमा दलबहादुरले आत्महत्याको बाटो रोज्नुको मुख्य कारण गरिबी रहेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी मोहन थापाले रातोपाटीलाई जानकारी दिए ।

घटना नम्बर ३

०७५ चैत १३ गते बिहान ८ः३० बजे काठमाडौँ गोकर्णेश्वर–८ बेंसीगाउँस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा फेला परिन् अञ्चन घिमिरे ।

कोठाको सिलिङमा पङ्खा झुण्डाउने फलामको हुकमा सलको पासो लगाई अञ्चन झुण्डिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ निवासी १७ वर्षीया घिमिरे मृत अवस्थामा फेला परेपछि आफन्त हिराकुमार शर्मा घिमिरेले प्रहरीमा जाहेरी दिए ।

परिसरका मुद्दा शाखाका डीएसपी थापाका अनुसार अञ्चन घिमिरले झुण्डिएर आत्महत्याको बाटो रोज्नुको मुख्य कारण प्रेममा धोका रहेको छ ।

यी ३ प्रतिनिधिमूलक घटनाहरु मात्र हुन् । यस्ता घटनाहरु देशभर दिनहुँ हुने गरेको छ ।

पछिल्लो ४ वर्ष (२०७२/०७३ देखि २०७५/०७६) मा नेपालमा १८ हजार २ सय ४ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीको तथ्याङ्कमा २०७२÷०७३ मात्र ४ हजार ७ सय ५ जनाले आत्महत्या गरेको पाइएको छ । यस्तै ०७३/०७४ मा ५,१३१ जना, ०७४/०७५ मा ५,३४६ र ०७५/०७६ मा ३,०२२ जनाले आत्महत्या गरे ।

प्रहरीको तथ्याङ्कमा विष खाएर, आगो लगाएर, झुण्डिएर, हातहतियारबाट, हाम फालेर, करेन्ट लगाएर र डुबेर आत्महत्या गरेको उल्लेख गरिएको छ ।

महिलाभन्दा पुरुषको सङ्ख्या बढी

प्रहरीका अनुसार आत्महत्या गर्नेमा महिलाको भन्दा पुरुषको सङ्ख्या बढी छ । आत्महत्या गर्नेमा ९ हजार ६ सय पुरुष र ७ हजार ६ सय ५९ महिला रहेका छन् । यस्तै ३ सय ९६ जना बालक रहेका छन् भने ५ सय ४९ बालिका रहेका छन् ।

झुण्डिएर आत्महत्या गर्नेमा पनि पुरुषको सङ्ख्या बढी छ । प्रहरीको तथ्याङ्कमा झुण्डिएर आत्महत्या गर्नेमा ७ हजार १५३ जना पुरुष रहेका छन् भने ५ हजार ३२५ जना महिला रहेका छन् ।

झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा धेरै

प्रहरीका अनुसार झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा धेरै छ । पछिल्लो ४ वर्षमा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या १३ हजार २ सय ५३ रहेको छ । झुण्डिएर पछि विष खाएर आत्महत्या गर्नेको सङ्ख्या बढी छ ।

७ हजार १ सय ५३ जना पुरुषसँगै ५ हजार ३२५ जना महिलाले झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै झुण्डिएर ३२० जना बालक र ४५५ बालिकाले पनि आत्महत्या गरेका छन् । यस घटनामा १३ हजार २ सय १४ वटा मुद्दा दर्ता भएको छ ।

यता विष खाएर आत्महत्या गर्नेको सङ्ख्या ४ हजार ५ सय १९ रहेको छ । यस घटनामा ४ हजार ४ सय ९१ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार २ हजार २२३ जना पुरुष र २ हजार १४८ जना महिलाले विष सेवन गरी आत्महत्या गरेका छन् । विष सेवन गरी आत्महत्या गर्नेमा ६९ जना बालक र ७९ जना बालिका पनि रहेका छन् ।

यस्तै आगो लगाएर आत्महत्या गर्ने ८२ जना, औजार हातहतियारबाट आत्महत्या गर्ने ५१ जना, हाम फालेर आत्महत्या गर्ने २१९ जना, करेन्ट लगाएर आत्महत्या गर्ने १२ जना र डुबेर आत्महत्या गर्ने ६८ जना रहेका छन् ।

१८ हजार १ सय २४ वटा मुद्दा दर्ता

आत्महत्याको घटनामा प्रहरीमा १८ हजार १ सय २४ वटा मुद्दा दर्ता भएको छ । जसमा विष खाएर आत्महत्या गर्नेमा ४ हजार ४९१, आगो लगाएर आत्महत्या गर्नेमा ८२, झुण्डिएर आत्महत्या गर्नेमा १३ हजार २१४, औजार हातहतियारबाट आत्महत्या गर्नेमा ४१, हाम फालेर आत्महत्या गर्नेमा २१७, करेन्ट लगाएर आत्महत्या गर्नेमा १३ र डुबेर आत्महत्या गर्नेमा ६६ वटा  रहेको छ ।

सुरक्षाकर्मीले पनि रोजे आत्महत्याको बाटो

पछिल्लो ४ वर्षमा नेपाल प्रहरीका जुनियर अफिसरसम्मकाले पनि आत्महत्याको बाटो रोजेको पाइएको छ ।

यसरी आत्महत्याको बाटो रोज्नेमा एक प्रहरी सहायक निरीक्षकसहित ८ जना प्रहरी अधिकारी रहेका छन् ।

जसमा प्रहरी हवल्दार १ जना र प्रहरी जवान ६ जना पनि रहेका छन् ।

एसएसपी उत्तमराज सुवेदी, केन्द्रीय प्रवक्ता (प्रहरी हेडक्वार्टर)

एसएसपी सुवेदीका अनुसार आत्महत्याका प्रकृतिहरु थुप्रै छन् । तर दीर्घरोगी र डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । डिप्रेसनका साथै दुश्चिन्ता, मायाप्रेममा धोका, आर्थिक लेनदेन, मानसिक आघात, समाजमा कसैको चरित्र नाङ्गियो आदि कारणहरूले पनि आत्महत्या गर्ने गरेको एसएसपी सुवेदीले बताए ।

क्षणिक उत्तेजनामा आएर केही मानिसहरुले पनि आत्महत्या गर्ने गरेको एसएसपी सुवेदीको भनाइ छ । उनले भने, ‘कुनै आमाले छोरीलाई गाली गर्छे । त्यो गाली छोरी सहन सक्दिन । अनि रोज्छन् आत्महत्याको बाटो ।’

त्यस्तै फेसनको रुपमा पनि आत्महत्या हुने गरेको उनले बताए । सामाजिक विकृति पनि प्रमुख कारण हो । ‘कोही विद्यार्थी स्कुलमा फेल हुन्छ । अनि आत्महत्या गर्छ । पछिल्लो पुस्ताले पनि फेल भयो भने आत्महत्याको बाटो रोज्ने गर्छन् ।

अनुत्तीर्ण भएका विद्यार्थीलाई अभिभावकले राम्रोसँग सम्झाएर बुझाएर अगाडिको बाटो देखाउन सहयोग गर्नुपर्ने एसएसपी सुवेदीको भनाई छ । उनले भने, ‘अभिभावकले पनि विद्यार्थीलाई अरूसँग तुलना गरेर गाली गर्ने तथा पिट्ने गर्नु हुँदैन ।’

नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिँदै उनले भने, ‘आत्महत्यासम्बन्धी एउटा अभियान नै चलाउने तयारीमा नेपाल प्रहरी छ । अब छिट्टै नै यो अभियान सुरु हुन्छ ।’

बासु आचार्य, मनोविश्लेषक

आत्महत्याको मूल कारण मानसिक रोग, मानसिक समस्या र अन्य कारणले हुने गरेको मनोविश्लेषक बासु आचार्य बताउँछन् ।

मनोविश्लेषक आचार्यका अनुसार इमाइल दुर्खिम भन्ने एकजना वैज्ञानिकले भनेको आधारमा ४ तरिकाले मानिसले आत्महत्या गर्छन् ।

१. आवेगमा आएर गरिने आत्महत्या

२. डिप्रेसनका कारण गरिने आत्महत्या

३. देश र जनताका लागि गरिने आत्महत्या

४. लामो समयसम्म विभिन्न कारणले गरिने आत्महत्या

तर अहिलेको आत्महत्याको नयाँ ट्रेन्ड डिप्रेसन हुने गरेको आचार्यको भनाइ छ । उनले भने, ‘मुख्य कारण भनेको डिप्रेसन नै हो । ६० प्रतिशतभन्दा बढी डिप्रेसनका कारण मानिसले आत्महत्या गर्छन् ।’

हामीलाई जिन्दगी बाँच्न र खुसी लिन जति आनन्द लाग्छ, त्यस्तै डिप्रेसनप्रेमीलाई संसार जिउनै मन नलाग्ने उनको तर्क थियो । उनले भने, ‘डिप्रेसनमा परेका मानिसलाई चाँडो मर्न मन हुन्छ ।’

डिप्रेसनमा परेका मानिसलाई समाजदेखि इरिटेड लाग्ने, नमज्जा लाग्ने आचार्यको भनाइ छ । ‘उनीहरु यस्तो निराश हुन्छन्, दिग्दारीपनले विरक्त हुन्छन् ।’

ड्रगिस्ट र अल्कोहल पिउने मानिसले पनि आत्महत्या गर्न सक्ने उनले बताए । उनले भने, ‘दीर्घरोगी, जस्तै टीबी, क्यान्सर रोग लागेका व्यक्ति, जुवाडे, आर्थिक लेनदेन र अफेयरका कारण पनि मानिसले आत्महत्या गर्छन् ।’

‘डिप्रेसनमा परेका मानिसहरु कसैलाई मर्न मन लाग्छ तर योजना बनाउँदैनन्,’ उनले भने । कोहीबेला हामीलाई झ्याउ लाग्छ नि तिनीहरुलाई हाम्रोभन्दा १० गुणा बढी झ्याउ लाग्ने उनले बताए ।

मनोविश्लेषक आचार्यका अनुसार डिप्रेसनको समस्याको समाधान :

निरन्तर औषधी सेवन

साइकोथेरापी

पारिवारिक प्रेम

बिरामीको जिद्दीपनमा परिवर्तन

सामाजिक साथ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप