सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

५० लाख पर्ने सुन १५ लाखमा किन्ने लोभमा यसरी ठगिए बानेश्वरका सुन पसले

शुक्रबार, २० वैशाख २०७६, १४ : ००
शुक्रबार, २० वैशाख २०७६

सस्तोमा सुन पाएको भन्दै किन्न खोज्दा नागार्जुन नगरपालिका–३ स्वयम्भु नजिकै सानो भर्याङबाट एकजना ठगिएका छन् ।

ठगिनेमा खोटाङ दिक्तेल घर भई हाल काठमाडौँ बस्ने वर्ष ४० का मिनकुमार विश्वकर्मा रहेका छन् ।

विश्वकर्माले नयाँ बानेश्वरमा खोटाङ अर्जुन ज्वेलर्स सुन पसल सञ्चालन गर्दै आइरहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

मिनबहादुरलाई चक्रपथ रोडमै बोलाएर सुनको कारोबार गर्ने भनी तीन जनाले नक्कली सुन दिएर १५ लाख रुपैयाँ ठगेका हुन् ।

यसरी ठगिए विश्वकर्मा

२–४ दिन अघिदेखि नै विश्वकर्मा र सुन बेच्ने व्यक्तिहरुबीच सुन कारोबार गर्ने विषयमा छलफल चलिरहेको विश्वकर्माले प्रहरीको जाहेरीमा बयान दिएको डीएसपी बोगटीले जानकारी दिए ।

केही दिनको छलफलपछि वैशाख १६ गते साँझतिर उनीहरुको भेट हुन्छ । सुन बेच्ने ३ जनाले थोरै सुनको धुलो विश्वकर्मालाई दिन्छन् । विश्वकर्माले पनि सो धुलो आफ्नो पसलमा लगेर जाँच गर्छछन् । उक्त धुलो सक्कली सुन नै हुन्छ ।

यसरी ती ठगहरुले विश्वकर्माको विश्वास जित्छन् । त्यसपछि पनि उनीहरुको बारम्बार संवाद भइरहन्छ ।

सुन बेच्नेहरुले सुरुमा ‘तपाईंसँग कति पैसा छ ?,’ भनेर विश्वकर्मालाई सोध्छन् ।

विश्वकर्माले आफूसँग १० लाख रहेको भन्छन् ।

ठगहरुरुले एक किलो त्यतिमा आउन नसक्ने जवाफ दिन्छन् ।

सस्तोमा सुन पाउने प्रलोभनमा परिसकेका विश्वकर्माले १५ लाखसम्म दिने अफर गर्छन् ।

अन्ततः १५ लाखमा एक किलो सुन बेच्ने सहमतिमा उनीहरु पुग्छन् ।

अनि भेट्ने कार्यक्रम तय हुन्छ वैशाख १९ गते ।

त्यसपछि विश्वकर्मा र सुन बेच्ने तीन जनाबीच बिहीबार दिउँसो २ बजेतिर सानो भर्याङमा भेट्ने कुरा हुन्छ ।

विश्वकर्मा सो ठाउँमा पहिला पुग्छन्, सुन बेच्नेहरु ५ मिनेटपछि सानो भर्याङ पुग्छन् ।

चोक नजिकैको एक चिया पसलमा चिसो कोकको साथमा उनीहरुबीच छलफल चल्छ । नम्बर नखुलेको स्कुटी र कालो रङ्गको पल्सर मोटरसाइकलमा पुगेका उनीहरुले विश्वकर्मासँग पहिला दिएको सुनको धुलो माग्छन् । विश्वकर्माले दिन्छन् ।

छलफलपछि उनीहरुले विश्वकर्मालाई एक किलो सुनको डल्लो दिन्छन् । विश्वकर्माले पनि १५ लाख रुपैयाँ दिन्छन् । १५ लाख पाएलगत्तै उनीहरु त्यहाँबाट निस्कन्छन् ।

एक किलो सुन १५ लाखमा पाएको भन्दै दङ्ग परेका विश्वकर्माले सो डल्लो खोलेर हेर्छन् । उनले सो डल्लो सुन हो कि होइन भनेर भुइँमा खसाल्छन् ।

सुन भनिएको वस्तुको फलामको जस्तो आवाज आउँछ । मख्ख परिरहेका विश्वकर्माको अनुहार एकाएक मलिन हुन्छ ।

राम्ररी चेकजाँच गर्ने क्रममा सो सुनको डल्लो नक्कली निस्किन्छ । तत्कालै उनले प्रहरीलाई खबर गर्छन् ।

परिसरका प्रवक्ता बोगटी भन्छन्, ‘५० देखि ५५ लाख पर्ने सुन सस्तोमा पाउने लोभमा विश्वकर्मा ठगको चंगुलमा फँसेछन् । यसरी सुन किन्न खोज्नु आफैमा गैरकानुनी हो ।’

‘अहिले यस्ता ठगहरुको विगविगी नै छ,’ बोगटीले सस्तोमा सुन पाइयो भनेर जहाँपायो त्यहाँ गएर सुन नकिन्न आग्रह गर्दै भने, ‘जहिले पनि सुन किन्नुभन्दा अघि बुझेर मात्र किन्नुहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप