मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चको मुद्दा लड्न ७५ बर्षीया सुनमती बृद्धभत्ता बोकेर धनगढी–काठमाडौं धाउँदै

शुक्रबार, ०२ असार २०७४, १५ : २५
शुक्रबार, ०२ असार २०७४


काठमाडौँ – बिहीबार दिउँसो साढे २ बजे पिठ्यँुमा झोला र हातमा एउटा फाइल बोकेकी एक बृद्धा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटिइन् । उनी प्रधानमन्त्रीको कार्यालय भित्र प्रवेश गर्न चाँहन्थिन तर, ढोकामा रहेका सुरक्षाकर्मीले भित्र जान रोके । एकछिन उनी अलमल्ल परिन । निकै टाढाको यात्राबाट काठमाडौं आइपुगेकी थिइन् उनी अर्थात् सुनमती देवी जोशी । 


नाम : सुनमती देवी जोशी
उमेर : ७५ बर्ष 
ठेगाना : अत्तरिया नगरपालिका ८, धनगढी, कैलाली


काठमाडौं आउनुको कारण : सर्वोच्च अदालतको मुद्दा  


सनुमतिले प्रधानमन्त्रीको कार्यालयमा आफ्नो गुनासो सुनाउन खाजेको थिइन् । ‘आफू अन्यायमा परेको, अरुलाई दुःख दिने र भष्टाचार गर्नेहरुलाई कारबाही हुनुप¥यो’ भन्ने उनको आवाज थियो । उनका श्रीमान् कृष्णलाल जोशी ८४ बर्ष पुग्नै लागेका छन् । भाई बुहारीले जग्गा हडपेको मुद्दामा श्रीमानको वारेश बोकेर सर्वोच्च अदालत धाउन थालेको ३ बर्ष भयो उनको । सर्वोच्च अदालतमा मुद्दाको प्रक्रिया सुरु भएपछि हरेक महिनामा दुई तीन पटकसम्म धनगढी–काठमाडौं गर्न थालेको उनले सुनाइन् । 


बृद्ध भत्ताले काठमाडौं–धनगढी


आफुसँग खर्च नभएकोले श्रीमान श्रीमतीको बृद्ध भत्ताले काठमाडौं धनगढी गर्ने र मुद्दाको तारेख खेप्ने गरेको उनले बताइन् । उनले भनिन्–‘४ महिनामा २ जनाको भत्ता ८ हजार हुन्छ, त्यही पैसाले काठमाडौं आएर मुद्दाको तारेख बुझ्छु ।’ 


कोर्ट फि अर्थात अदालतमा बुझाउँनुपर्ने शुल्क आफूसँग नभएकोले प्रधानमन्त्री कार्यालयमा कसैले सुनिदिन्छन् कि भनेर उनी त्यहाँ पुगेकी थिइन् । तर प्रधानमन्त्री कार्यालयमा उनका कुरा सुनिदिने न कसलाई चासो थियो न फुर्सद नै । 


उनले कैलालीको साविक अत्तरिया नगरपालिकाले दिएको आफ्नो आर्थिक अवस्था कमजोर रहेको र कोर्ट फि तिर्न सक्ने अवस्था नरहेको भन्दै अंश मुद्दा कायम गर्दा लिने गरि ब्यवस्था गर्न अनुरोध गरेको सिफारिस पत्र पनि देखाइन् । प्रधानमन्त्री कार्यालयबाट केही सहयोग होला कि भन्ने आशले चिनजानको मान्छेबाट सिंहदरबार प्रवेश पासको व्यवस्था मिलाएर आएकी थिइन् उनी । 


बझाङमा रहेको पुख्र्यौली जग्गाका विषयमा उनका देवर हरिलाल जोशीका परिवारसँग यसअघि नै धनगढी जिल्ला अदालतमा मुद्दा परेको थियो । त्यसपछि पुनरावेदन अदालत दिपायलमा पनि मुद्दा प¥यो । २०७१ बैशाखमा धनगढी जिल्ला अदालतमा दुवै पक्षको मेलमिलाप भएपनि प्रतिबादी रहेका उनका देवरका छोरा र ज्वाँइले पछि नमानेपछि पुनरावेदन अदालतमा मुद्दा चलेको उनले सुनाइन् । बझाङको सुनकुडा गाविसमा रहेको जग्गा भाइबुहारीले जालसाँझी गरेर खाएको पीडा उनले बताइन् । 


उनका देवर हरिलाल जोशीको मृत्यु भएपछि उनका छोरीज्वाई मुरलीधर वस्तीले मुद्दा लडिरहेका छन् । श्रीमान कृष्णदत्त जोशीको वारेसमा उनले मुद्दा लडेकी हुन् । उनका जेठा छोरा बोल्न नसक्ने अपाङ्ग छन् । उनले भनिन्–‘माइलो छोराको जागिर थियो,  देउरानीको ज्वाँइ मुरलीधरले तयो जागिर पनि खुस्काइदिए, एउटा छोरा बोल्न नसक्ने छ ।’ सर्बोच्चबाट आफूले न्याय पाउन लागेको तर अदालतमा बुझाँउने रकम अभाव रहेको उनको प्रमुख गुनासो छ ।  उनले भनिन्–‘मसँग पैसा पनि छैनन्, मेरो अरु मान्छे पनि छैनन् । कोर्ट फि तिर भनेका छन्, कति लाग्ने हो थाहा छैन् । ’ 


कुरैकुरामा शाही कालका गृहमन्त्री दानबहादुर शाहीका बुवा खड्गबहादुर शाहीको सुरक्षा गार्डको रुपमा आफ्ना श्रीमानले काम गरेको पनि उनले सुनाइन् । प्रधानमन्त्री कार्यालयमा उनको गुनासो संवोधन हुन्थ्यो वा हुन्नथ्यो ? तर  गुनासो सुनाउन आएकी ७५ बर्षीय जेष्ठ नागरिक सुनमतीले आफ्नो गुनासो सुनाउने मान्छे भने अझै भेट्न सकेकी छैनन । फर्कने बेलामा उनले सोधिन्–‘यहाँ रेडियो कता पर्छ बाबु, म पहिलेदेखि नै दुःख, बेदनाको गीत पनि गाँउछु, मेरो गीत सुनाइदिन्छ कि रेडियोले ?’     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप