सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘दुनियाँ सपना देखाएका अमर–दीक्षाले घर न घाटको बनाए’

पत्रकारलाई ज्यान मार्ने धम्की
शुक्रबार, २७ वैशाख २०७६, १२ : ३१
शुक्रबार, २७ वैशाख २०७६

देशमा अवसर नपाएपछि प्रायः नेपालीको पहिलो गन्तव्य बन्ने गरको छ– खाडीमुलुक । तर, विदेशमा पनि सोचेजस्तो र सजिलो कहाँ छ र ? त्यसमाथि नेपालीका लागि वैदेशिक रोजगारी झन चुनौति र जोखिमपूर्ण हुने गरेका विभिन्न घटनाक्रमहरुले नै देखाइसकेका छन् । 

अझ सोझासाझालाई त वैदेशिक रोजगारीमा जाने पहिलो पाइला चालेसँगै दलालहरुले ठग्न र शोषण गर्न थाल्छन् । विदेशमा पाउने दुःखको हिसाबै नै हुँदैन ।

ती सोझा र गरिब नेपालीहरु गन्तव्य मुलुक पुग्नुअघि नै दलालको दलदलमा परेर शारीरिक, मानसिक तथा आर्थिक शोषणमा पर्नु सामान्य जस्तै भइसकेको छ । विदेशमा पसिना बगाएर सुखका दिन ल्याउने सपना बोकेका नेपालीहरु कसरी दलालको पञ्जामा पर्छन् भन्ने कुरा यो एक घटना नै पर्याप्त हुन्छ । 

पछिल्लो तथ्याङ्क हेर्ने हो भने रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेका हजारौं नेपालीहरु अलपत्र परेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा मात्र सयौं नेपाली अलपत्र परिरहेको खबर छ । 

 दीक्षा–अमरले १२ हजार डलर ठगेका १२ नेपाली ।

मंगलबार रातोपाटीमा ‘दुबईमा ‘लिभइन’ जोडी : जागिरको बहानामा करोडौं ठगी’ शीर्षक राखेर समाचार प्रकाशित भएपछि दलालको चंगुलमा परेर ठगिएका पीडितहरु एकपछि अर्को गर्दै हाम्रो सम्पर्कमा आएका छन् । 

यसरी सम्पर्कमा आउनेमा धादिङका दलबहादुर खड्का पनि छन् । केही महिनाअघि नेपाल आएका उनी हाल भारतको गुजरातमा बसेर एक होटलमा काम गर्दै आइरहेका छन् ।

खड्का भन्छन्, ‘दुबईबाट फोन गरेर केटाहरु लगाएर मारिदिने जस्ता धम्की दिन थालेपछि आफू भारतमा सानो काम गर्दै बस्दै आएको छु ।’ खड्का विभिन्न प्रलोभनमा परी खड्का ठगिएका हुन् ‘नाइट्स बर्ड सेक्युरिटी सर्भिस’ कम्पनीबाट ।  

नाइट्स बर्ड सेक्युरिटी सर्भिस’ का सञ्चालक अमर र दीक्षा कुँवर हुन् ।  खड्काले रातोपाटीसँग भने, ‘उनीहरु २ जना मिलेर मेरो मात्रै करिब २७ लाख ठगेका छन् । अहिले घर न घाटको भएको छु ।’ 

ठगिएकाबारे खड्काको बयान, उनकै शब्दमा :-

साथिहरुसँग भिजिट भिषामा दुबई घुम्न गएको थिएँ । त्यतिबेला लुम्बिनी होटलमा बसेको थिएँ । त्यही होटलमा अमर कुँवरसँग भेट भयो । परदेशको ठाउँ, स्वभाविक रुपमा चिनजान हुने नै भयो । त्यसपछि अमरसँग दिनदिनै भेट हुने गथ्र्यो । 

भेटघाट र चिनजान आत्मियतामा बदलियो । कतिसम्म भने, खाना पनि सँगै खाने, दिउँसो कतै बसेर चिया पनि खान्थ्यौं । त्यो समयमा फोनमा एकआपसमा कुराकानी पनि हुन्थ्यो । 

बार–बार फोन गरिरहने अमरले कुरै कुरैमा दुबईमा  एउटा सेक्युरिटी कम्पनी र अर्को टेक्निसियन गरी मेरो २ वटा कम्पनी छ भन्यो  । दुवै कम्पनीको मालिक आफ्नै हुँ भन्थ्यो । मैले पनि विश्वास गरें । अमरले एकदिन फोन गरेर मलाई (राजा भन्दै) सेक्युरिटी सुपरभाइजर चाहिएको छ भन्यो । 

अमरले मलाई नै सेक्युरिटी सुपरभाइजरमा काम गर्नको लागि भनी मेरो भीसा माग्यो । साथै उसले राम्रोसँग काम गर्नु भनेर मलाई फकायो पनि । महिनाको ५ हजार दिराम तलब हुन्छ समेत भन्यो । मैले पनि हुन्छ भने । एकदिन अफिसमा नै भेट्ने कुरा पनि गर्यो । मैले अफिस कहाँ छ भनेर सोधे । उसले अफिसको ठेगाना चाहिँ भनेन । 

अमर–दीक्षाले बनाइदिएको सुपरभाइजरको नक्कली कार्ड ।

त्यसपछि लगत्तै फोन गरेर भोलि खाना खाने गरी भेट्न भन्यो । भोलिपल्ट एक थकाली रेष्टुरेन्टमा भेट भयो ।  सँगै खाना पनि खायौं । खाना खाँदै अमरले मेरो सेक्युरिटी कम्पनीमा मान्छे चाहिएको छ, तपाईंलाई सुपरभाइजर बनाउँछु भन्यो । राम्रोसँग काम गर्नुपर्छ भन्यो । 

त्यही दिन बेलुकीतिर उसले फेरिफोन गर्यो । भीषा लगाउने पैसा १० हजार दिराम चाहिँ खोज्नुस् भन्यो । मैले कोसिस गर्छु भनें । 

पछि अमरले तपाईंले लगाउनुभएको सुनको सिक्री कति छ भनेर सोध्यो । मैले १८ हजार दिरामको होला भने । उसले यही सुन राखेर पैसा निकाल्नुस्, अनि २ दिनमै भीषा लगाउनुपर्छ भन्यो । मैले पनि विश्वास गरेर हुन्छ भने । फोन काटियो । 

भोलिपल्ट फेरि फोन गर्यो । मेरो म्याडम दिक्षाले आज रातीको डिनरको लागि तपाईंलाई घर बोलाउनुभएको छ भन्यो । मैले हुन्छ म आउँछु भने । त्यस दिन बेलुकी गाडी लिएर लिन आयो । एक जोर लुगा लगाएर गएँ । 

कोठामा गएर मिठो–मिठो कुरा गरे । २ वटा कम्पनी छ भने । दीक्षा र अमरले भोलिबाटै अफिसमा बसेर काम गर्नुपर्छ भने । मैले पनि हुन्छ भने । भोलिपल्ट मैले लगाएको सिक्री, औंठी सुन पसलमा धितो राख्ने कुरा भयो । अमरले पैसा आएपछि निकालदिन्छु भन्यो । 

अमर, दीक्षा र म सुन पसल गयौं । सुन बन्धकी राखेर ७ हजार ५ सय दिराम पैसा लियो । २ महिनाको लागि भनेर राखेको थियो । दीक्षाले त्यो पैसा गोजीमा राखिन् । फेरि हामी कोठामा गयौं । 

कोठामा पुग्नासाथ अमर र दीक्षाले हामी अफिस पुगेर आउँछौ भनेर मलाई भीषाको लागि पासपोर्ट र फोटो पठाउनु भनेर बाहिर एक्लै छोडे । म पनि आफ्नै कोठातिर लागे । 

भोलिपल्टै म उनीहरुको कोठामा गएँ । थम प्रिन्ट लगाउनुपर्छ दायाँबाँयामा औंठा छाप लगाउन भने । थम गरें । उनीहरुले कम्पनीको आईडी कार्ड बनाइदिन्छु तपाईंको डिटेल दिनु भने । मैले पनि सबै दिएँ । 

सबै कुरा दिएपछि म पनि ढुक्क भएँ भिषा निस्कनेमा । उनीहरुले राम्रोसँग काम गर्नुपर्छ भनेर सल्लाह पनि दिए । तपाईं हाम्रो कम्पनीको सुपरभाइजर हो भने । आईडी कार्ड पनि बनाइदिए । ठूलो सपना देखाए । 
मेरो आफ्नो भिषाको लागि पैसा चाहिन्छ भने उनीहरुले ।  मैले नेपालबाट साथीलाई २०७४ साउन ८ गते २ लाख हाल्न लगाएँ । फेरि अर्कोपटक भिषाको प्रोसेसको लागि पैसा चाहियो भनेर मागेँ । भदौ १९ गते १ लाख २० हजार रुपैयाँ पैसा हाल्न लगाएँ हुण्डीबाट ।

दीक्षाले मलाई नेपालमा आफ्ना मान्छे छन् भने हाम्रो कम्पनीमा ल्याउनुपर्छ भनिन् । मैले पनि हुन्छ भने । गाउँघरका दाजुभाइहरुलाई पनि फोन गरेर ठूलो सपना देखाएँ । १२ जना मान्छे खोजे । 

यसरी नै विभिन्न प्रलोभन देखाउँदै उनीहरुले पैसा मागिरहे । मैले पनि विश्वास गरें । खोजेर भने पनि दिएँ । करिब २२ लाख रुपैयाँ उनीहरुलाई दिएको छु । मैले उसको कम्पनीमा ८ महिना काम गरें । तर मैले  काम गरेको ८ महिनाको तलब पनि पाएको छैन ।

म उनीहरुको विश्वासमा चुपचाप काम गर्दै गएँ ।  यसबीचमा उनीहरुले मलाई १२ जनाको अफर लेटर दियो । साथीहरुलाई भीसाको लागि प्रासेस गर्न भने । छिट्टै नै उनीहरुको भिषा लाग्यो र दुबई आए । 

उनीहरु सबैसँग १ हजार युएस डलर मागे । उनीहरुले दीक्षालाई नै १२ हजार डलर दिएका हुन् । दीक्षाले आफ्नो कम्पनीको आईडी कार्ड राखेर पैसा साटिन् । दीक्षाले पैसा साटेको स्लिप पनि छ । 

हेर्नुहोस् स्लीप

सम्पूर्ण पैसा झुटो बोलेर खाएको र अहिले कुनै सम्पर्कमा छैन्न् दुवैजना । दुनियाँ सपना देखाएको केही महिनामा मलाई घर न घाटको बनाएर छोडे ।

पत्रकारलाई ज्यान मार्ने धम्की
गत मंगलबार रातोपाटीमा ‘दुबईमा ‘लिभइन’ जोडी : जागिरको बहानामा करोडौं ठगी’ भन्ने शीषर्कमा समाचार प्रकाशित भएपछि अमर–दीक्षाले पत्रकारलाई नै ज्यान मार्ने धम्की दिएका छन् । 

रातोपाटी कार्यालयमा फोन गरेर अमरले समाचार लेख्ने पत्रकारलाई मार्ने धम्की दिएका हुन् । त्यतिमात्रै होइन, अमरले विभिन्न व्यक्तिहरुलाई फोन रेकर्ड गरी त्यो समाचार लेख्ने पत्रकारको ‘आन्द्राभुँडी’ निकाल्दिने भन्दै धम्क्याएको अडियो रातोपाटीमा आइपुगेको छ । 

अमर–दीक्षामाथि प्रहरीमा उजुरी
विभिन्न माध्यमबाट पत्रकारलाई ज्यान मार्ने धम्की दिएपछि अमर–दीक्षामाथि उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्रकार सुजन पन्तले उनीहरुमाथि उजुरी हालेका हुन् । शान्ति सुरक्षाको माग गर्दै पन्तले परिसरमा उजुरी हालेका हुन् । 

दीक्षा–अमरको आफ्नै दाबी
रातोपाटीमा समाचार प्रकाशित भएपछि दीक्षा कुँवरले समाचारको खण्डन गरेकी छन् । ‘तीर्थ निरौला हाम्रो कम्पनीको सेयर होल्डर हो,’ दीक्षाले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘सो कम्पनीमा ४ जना सञ्चालक थियौं ।’

सबै जनाको प्रतिव्यक्ति ८५ हजार दिराम कम्पनीको सेयर बाँडफाँड गरी लगानी गर्ने निर्णय गरिएको दीक्षाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तीर्थराज आबुधावीमा जिफोर सेक्युरिटी गार्डको जागिर गरी काम छोडेको उनले बताएकी छन् । 

तीर्थले बैंकबाट ऋण लिई आफ्नो कम्पनीमा पार्टनर हुन आएको समेत दीक्षाको दावी छ । पार्टनर हुन आएपछि तीर्थले लाइसेन्समा बसको ड्राइभर भन्दा म्यानेजरको भीषा लगाउँछु भनेको उनको विज्ञप्तिमा उल्लेख छ । 

‘हामीले पनि म्यानेजरको भीषा टाइम गरि दिएको हो,’ विज्ञप्तिमा भनिएको छ ‘त्यसपछि ऊ आफ्नो व्यक्तिगत कारण देखाई नेपाल गएको र नेपालबाटै हामीलाई अब म नेपालमै केही गर्छु र म पनि कम्पनीमा बस्दिन भनी बारम्बार फेसबुकमार्फत धम्की दिने गर्थे ।’

विज्ञप्तिमा भनिएको छ– ‘तीर्थको हाम्रो कम्पनीमा सेयर छ । कम्पनी नाफामा गएको खण्डमा तीर्थले उसको मुनाफा पाउँछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप