सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा सार्वजनिक विदाको घोषणा, राष्ट्रपति जनकपुर जाँदै

आइतबार, २९ वैशाख २०७६, १८ : ०३
आइतबार, २९ वैशाख २०७६

जनकपुर– केहि वर्षदेखि निरन्तरता पाइरहेको जानकी नवमी यस वर्ष भने जनकपुरमा विशेष रुपमा मनाइदैँछ । सीताको जन्मदेखि न्वारनसम्म सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै जानकी नवमी मनाउन थालिएको हो ।

किम्वदन्तीअनुसार राजा जनककी छोरी सीतालाई जानकी पनि भन्ने गरिन्छ ।  जानकी मन्दिरमा विशेष कार्यक्रम आयोजना गरी वैशाख २२ गते देखिनै जानकी महोत्सवलाई विशेष उत्सवको रुपमा मनाउन सुरु गरिसकिएको छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीको शुभकामना व्यक्त गर्दै सार्वजनिक बिदाको घोषणा गरेका छन् । मुख्यमन्त्री राउतले वैशाख ३० गते सार्वजनिक विदाको घोषणा गरेका हुन् । जानकी मन्दिरमा १५ दिन जानकी नवमी मनाइने गरिन्छ ।

मुख्यमन्त्री राउत गद्दीले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै रामायणकालीन नारी सीताको जन्मदिनको अवसरमा जनकपुरधामसहित आसपासका क्षेत्रमा मनाईने जानकी नवमी एवं जन्म महामहोत्सव धुमधामका साथ मनाउन अपिल गरेका छन् । 

रामायणकालमा मिथिलाको भूमिमा राजा जनकले हलो जोत्दा सीता भेटिएकी (जन्म भएको) धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष यहाँ जानकी नवमी मनाउने गरिन्छ । जानकी महोत्सवमा नवाह तथा रामायण पाठ, रामकथा प्रवचन, तथा बधाई मंगलगान सहितका कार्यक्रमहरु भइरहेका छन् ।

यसैगरी जानकी महोत्सवको मुख्य दिन ३० गते जनकपुरधाम स्थित दुधमति नदीमा दुधमति शाही स्नान र जानकी नवमी महोत्सव तथा रामायण मेला, जानकी जन्म महोत्सव, जानकी जन्म शोभा यात्रा, जानकी जन्म शोभा यात्रा, सन्ध्या आरती, साँस्कृतिक मंगल गान सहितका कार्यक्रम तय गरिएको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

यसैगरी ३१ गते विद्वत गोष्ठि तथा कवि सम्मेलन, मिथिला सांस्कृतिक सन्ध्या, वैवाहिक मटकोर समारोह आयोजना गरिने भएको छ । जेष्ठ १ गते रामायणमा आधारित प्रश्नोत्तर प्रतियोगिता, मिथिला सांस्कृतिक बिवाह महोत्सव, २ गते मिथिला चित्रकला प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कृतिक कार्यक्रम ३ गते गरिब तथा विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ ४ गते जानकी मन्दिरको गर्भगृहमा जानकी जन्म छठिहार समारोह पश्चात विधिवत रुपमा जानकी महामहोत्सव सम्पन्न हुने सहमहन्त रामरोशन दाव वैष्णवले जानकारी दिए ।

त्यस्तै, सोमवार जानकी नवमी दर्शन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउँदै छिन् । जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले राष्ट्रपति भण्डारी जानकी नवमीमा दर्शन गर्न आउने पुष्टि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप