आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपामा फुटः राणाले आवश्यक ४० प्रतिशत देखाउन सकेनन्

आइतबार, २२ साउन २०७४, २१ : ५८
आइतबार, २२ साउन २०७४

राजकुमार सिग्देल 

काठमाडौं — पार्टी एकताको ६ महिना नबित्दै कमल थापा नेतृत्वको राप्रपामा विभाजन आएको छ ।  असन्तुष्ट नेता पशुपति शमशेर राणाले बहुमत सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्दै  आइतबार साँझ निर्वाचन आयोगमा ‘राप्रपा प्रजातान्तिक’ पार्टी निर्माणका लागि निवेदन दिएका छन् ।

नयाँ पार्टी दर्ताका लागि निवेदन दर्ता गराउन राप्रपाका प्रभावशाली नेताहरु सुनील थापा, विक्रम पाण्डे, दीपक बोहरा, राजाराम श्रेष्ठसहित सांसदहरु राज्यलक्ष्मी शाक्य, बबिना मोक्तान लावती, रेशम बहादुर लामा, विराज विष्ट,  इश्तियाक अहमद खाँ, सीता लुइँटेल, सरोज बर्मा, कमलादेबी शर्मा, लक्ष्मी थापालगायत आयोग पुगेका थिए । 

निवेदनमा नयाँ पार्टी गठनका लागि चाहिने ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गरिएको छ । यस्तै नयाँ पार्टीको अध्यक्ष राणा रहने र २२ सांसद र ७२ केन्द्रीय सदस्य  रहेको सूचिपनि बुझाइएको छ । 

तर,  निर्वाचन आयोगमा सनाखत गराउने क्रममा  सांसदसहित ६४ जनाले मात्रै हस्ताक्षर गरेका छन् ।  हस्ताक्षर गर्नेमा  केहि सांसदमात्रै रहेका छन् भने  केहि सांसद र केन्द्रीय सदस्य दुबै नरहेका समेत रहेका छन् ।  राप्रपा निकट स्रोतका अनुसार  हस्ताक्षर गर्ने ६४ मध्ये कम्तीमा १० जना केन्द्रीय सदस्य रहेका छैनन् । 

निर्वाचन आयोगको दल दर्तासम्बन्धी ऐन अनुसार  पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्नका लागि कुल केन्द्रीय समितिको ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत नै सांसद आवश्यक पर्छ । यदी विद्रोहीले सो प्रतिशत पुर्याउन नसेकेको खण्डमा पार्टीले वैधानिकता पाउन सक्दैन । 


निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले आयोगमा पार्टी विभाजनको जानकारी आएको भन्दै आयोगले आवश्यक छानबिन गरिरहेको बताए । उनले दल दर्तासम्बन्धी ऐन अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएको खण्डमा मात्रै पार्टी विभाजनको आधिकारिकता दिइने बताए ।  


आयोगमा राणाले आयोगमा नयाँ दलको आधिकारिकता माग गर्दै निवेदन दर्ता गराउने वित्तिकै आयोगले हस्ताक्षरको सनाखत थालेको हो । तर, सनाखतको क्रममा आवश्यक प्रतिशत भन्दा कम केन्द्रीय सदस्य देखिएका हुन् ।  तर, सांसद संख्या भने ४० प्रतिशत माथि रहेको र उनीहरुले हस्ताक्षरसमेत गरिसकेका छन् । 

निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गराउन पुगेका केन्द्रीय सदस्य लालकुमार लामाले ६४ जनाको हस्ताक्षर सनाखत भएको रातोपाटीलाई बताए । उनले अाइतबार नै आवश्यक प्रतिशत पुगेको दाबी गर्दै आज हस्ताक्षर सनाखत गराउने  सोमवार गराउने आश्वासन दिएको बताए ।  उनले बहुमत सदस्य आफूहरुको पक्षमा रहेको पनि  दाबी गरे । 

गत पुसमा तत्कालिन राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएर राप्रपा ३७ सिट भएको संसदको चौथो पार्टी भएको थियो । तर, एकतापछि  अध्यक्ष बनेका कमल थापाले पार्टीको एकताको स्पिरिट अनुसार काम नगरेकाले बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको राणाले बताए । 

अर्का नेता सुनील थापाले जनताको चाहनाअनुसार नयाँ पार्टीको लागि निवेदन दिएको दाबी गर्दै अब राप्रपा प्रजातान्त्रिकलाई बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न कसैले रोक्न नसकिने बताए । 

अध्यक्ष कमल थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको, उनकै कारणले स्थानीय चुनावमा पराजय बेहोरेको लगायतका आरोप  राणाको छ  ।  यस्तै खालको १० बुँदे आरोप लगाउँदै केहि महिनाअघि मात्रै वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले पार्टी पत्यिाग गर्दै एकीकृत राप्रपा राष्ट्रवादीको गठन गरेका थिए ।  आज विद्रोह गरेर नयाँ पार्टी गठनका लागि आयोग पुगेका नेताहरुले अब लोहनीको पार्टीसँग पनि एकता गरेर अघि बढ्ने दाबी गरे । 

स्मरण रहोस्, निर्वाचन आयोगमा एराप्रपा राष्ट्रवादीका उपाध्यक्ष तारानाथ लुईँटेललगायतका नेताहरु पनि पुगेका थिए ।  उनीहरु पनि आयोग पुग्नुलाई सैद्धान्तिक रुपमा दुई समूह निकट रहेको बुझिएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप