आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा फुटका ६ ‘फ्याक्टर’

सोमबार, २३ साउन २०७४, १७ : ००
सोमबार, २३ साउन २०७४

काठमाडौं–नेपालका राजनीतिक दलवीच एकता हुँदा होस् वा विभाजन केही आन्तरिक र केही बाह्य ‘फ्याक्टर’ सतहमा आउँछन् । यतिसम्म भएको छ कि, सामान्य ‘फ्याक्टर’ मा पार्टी एकता वा विभाजन भएको मान्नेहरु कोही भेटिदैनन् । अर्थात आममानिसलाई लाग्छ, यस्तो एकता वा विभाजनमा विशेष ‘फ्याक्टर’ ले काम गरेको ठानिन्छ र कहिलेकाही सत्य पनि हुन्छ ।
 
परस्परविरोधी एजेण्डा (राजतन्त्र र गणतन्त्र) बोकेको राप्रपा र राप्रपा नेपालबीचको एकता हुँदाजस्तै अहिले विभाजनमा पनि मानिसहरु ‘फ्याक्टर’ खोजिरेहका छन् । धेरैले यसलाई सामन्य मानेका छैनन्, किनभने एकीकरण भएको ८ महिनापछि त्यहीँ पार्टी विभाजित बन्न पुग्यो ।
 
समान पृष्ठभूमि भएपनि परस्परविरोधी एजेण्डा  बोकेको राप्रपा र राप्रपा नेपालबीच  गत मंसिर ६ गते  एकीकरण भएको थियो । तर, यो दिगो भएन । आठ महिनामै एकता भंग भयो । दुवै पक्ष आ–आफ्नो यात्रामा निस्के ।


  आइतबार आफ्नो पक्षमा नेता पशुपति शमशेर राणाले  ४० प्रतिशत  सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएका छन् । यो पक्षले संसद सचिवालयमा पनि १९ सांसद आफ्नो पक्षमा रहेको जानकारी गराएका छन्  ।
 
मंसिर ६ गते प्रज्ञा प्रतिष्ठानमा मुठ्ठी कँसेर  पार्टी अध्यक्ष कमल थापा र राणाले एकताको सन्देश दिएपनि त्यो धेरै समय टिकेन । एकताको केहि महिनादेखि नै पार्टीभित्र बेमेल भोग्दै आएको राप्रपा आइतबार एकाएक विस्फोट भयो त्यो पनि कमल थापालाई ठूलै धक्का दिने गरी ।
 
कमल थापालाई धक्का यसअर्थमा कि १२ सांसद लिएर एकता प्रक्रियामा सहभागि राणा थापाकै सांसद लिएर बाहिरिएका छन् । फुटसँगै कमल थापामाथि ठूलो संकट आएको विश्लेषण हुन थालेको छ । यद्यपी अहिले  भने  हामीले  राप्रपा फुटका फ्याक्टर खातल्ने प्रयास गरेका छौं ।
 
१–व्यक्तिगत टकराव
पूर्वपन्च  र ‘मण्डले’ समूहको बोलबाला रहेको राप्रपामा यी दुई समूहबीच हुने गरेको टकराव पूरानै हो । यसमाथि व्यक्तिगत स्वार्थ, एकले अर्कालाई खुइल्याउने र स्वार्थको लागि विभिन्न कालखण्डमा राप्रपा विभाजित भएको दृष्टान्त रहेका छन् ।
 
बहुदल स्थापनापछि २०४७ जेठ १५ गते एकैदिन पूर्वपञ्चहरुको दुई पार्टी जन्मियो–राप्रपा चन्द र थापाको रुपमा । एउटै एजेण्डा र समान पृष्टभूमि भएपनि व्यक्तित्वको टकरावकै कारण दुई पार्टी जन्मिएको थियो त्यतिबेला । सो पछिका दिनमा विभिन्न व्यक्तिगत टकराव र स्वार्थका कारण रापपा विभाजित बन्दै गए भने कुनै कालखण्डमा एक पनि भए तर एकता र विभाजन दुबै स्वार्थमा केन्द्रीय रहेको जानकारहरु बताउँछन् ।
 
२– चुनाव चिन्हको लफडा
गत फागुन पहिलो साता भएको महाधिवेशनपछि राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित भएका थिए । पार्टी एकता हुनुअघि तत्कालिन राप्रपा र राप्रपाबीच चुनाव चिन्ह हलो राख्ने र  पार्टीको झण्डा गाई राख्ने सहमति भएको असन्तुष्टको दाबी छ ।
 
तर,  महाधिवेशनपछि बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुमतको बलमा चुनाव चिन्ह गाई पारित गराएपछि राप्रपा पृष्ठभूमिका नेताहरु रुष्ट बनेका थिए । हलो चुनाव चिन्ह नपाएको भन्दै वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी त्यतिबेलै पार्टीबाट बाहिरिएका थिए ।  नयाँ पार्टी राप्रपा प्रजातान्त्रिक गठनको पहल थालेका राणाले आइतबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै चुनाव चिन्हका कारण पार्टीले हारेको र राप्रपामै बसिरहे कुनै प्रगति हुने नदेखिएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताएका थिए ।
 
३–कमल थापाको कार्यशैली
 कमल थापा निकटका नेताहरुको दाबी अनुसार पार्टी सही ढंगले चलाउँदा चलाउँदै पनि केहि स्वार्थ समूहका कारण पार्टीमा समस्या आएको हो ।  
यद्यपी असन्तुष्ट समूहका नेताहरु भने थापाको कार्यशैली हुकुमी भएको भन्दै यसले पार्टीको हित नहुने तर्क गर्छन् ।  कमल थापा पेलेर जान खोज्ने तथा असन्तुष्टहरु विरोधमा उत्रिरहँदा अन्ततः विभाजनको अवस्था आइपुगेको बुझिएको हो।
 
४–चुनावी नतिजा
गाई चुनाव चिन्ह लिएर राप्रपा स्थानीय तहको निर्वाचनमा जाँदा निकै कमजोर देखियो । नतिजाप्रति असन्तुष्ट रहेका राणा समूहले थापाकै नेतृत्वमा पार्टी रहिरहे थप खस्कने भन्दै नयाँ पार्टी गठन गरेको एक नेताले बताए ।  पार्टी विभाजनमा दीपक बोहरा, विक्रम पाण्डे सूनिल थापालगायतको ठूलो भूमिका रहेको राप्रपा बृत्तमा चर्चा छ ।
 
५–सत्ता मोह
सत्तामोहका कारण पनि राप्रपा फुट भएको बताइन्छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कमल थापाले जानको लागि निकै मेहनत गरेको भएपनि सफल भएनन् । विगतमा थापाले सरकारमा हुँदा पनि अपरिपक्क व्यवहार देखाएको भन्दै  देउवाले लिन चाहेका थिएनन् ।  अब पार्टी फुटसँगै राणा समूह सरकारमा जाने बताइएको छ । राप्रपा प्रजातान्त्रिकका एक नेताले आफूहरु अब सरकारमा जाने भन्दै त्यसका लागि छलफल भइरहेको दाबी गरे ।
 
६–आन्तरिक र बाह्य कारण
राप्रपाभित्रका स्वार्थ समूहबाहेक आन्तरिक र बाध्य चलखेलका कारण पनि विभाजन आएको बताइन्छ । जानकारहरुका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहसँग थापाको सम्बन्ध राम्रो छैन ।  


कमल थापाले नै प्रचण्ड सरकारको पालामा संशोधन प्रस्ताव निणयार्थको लागि सदन पेश हुने तयारी हुँदा पार्टीका सांसद गायव हुँदा पूर्वराजाले पार्टी फुटाउन खोजेको संसदीय दलको बैठकमा आक्रोश पोखेका थिए । हुन त राप्रपा राप्रपाको एकता नै नाटकीय थियो र त्यसैगरी विभाजन भएको छ ।

यस्तो छन् कमल थापामाथि राणाका ६ आरोप, नयाँ पार्टीको एजेण्डा के ?

राप्रपाबाट ६ सांसदसहित १७ जना निश्कासित

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप