मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बन्ला त माओवादीमा दुई अङ्कको केन्द्रीय समिति ?

मङ्गलबार, २४ साउन २०७४, १४ : ११
मङ्गलबार, २४ साउन २०७४

मणिकुमार श्रेष्ठ ‘सिजन’

नेकपा (माओवादी केन्द्र) को साउन महिनाको सुरुवातमा नै स्थानीय तहको निर्वाचनमा आएको नतिजा र आफ्नो पार्टीले हार्नुका कारण पत्ता लगाउन बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्यो । जसले माओवादी केन्द्रमा कायम  रहेको केन्द्रीय समितिलाई दुई अङ्कमा सीमित राख्ने निर्णयले पनि निकै चासो पायो । तर, कसरी दुई अङ्कको केन्द्रीय समिति बनाउने भन्ने विषय अहिले पनि चासोको विषय भइरहेको छ । यो चासोको विषयमा अहिले माओवादी केन्द्रको केन्द्रीय समितिदेखि मातहतका सम्पूर्ण निकायमा बहस भइरहेको छ । 


माओवादी केन्द्र मात्र यस्तो पार्टी हो, जसको केन्द्रीय समिति नै चार हजारभन्दा बढी छ । पहिले–पहिले विद्यार्थी सङ्गठनहरूले केन्द्रीय सम्मेलन आयोजक समिति बनाउँदा १००१ सदस्यीय बनाउने चलन थियो । अहिले आएर माओवादीमा चार हजारभन्दा बढीको केन्द्रीय सम्मेलन आयोजक समिति भने पनि नेताहरूले भने केन्द्रीय सदस्य नै भनेका छन् । जुन माओवादी हेडक्वाटरलाई टाउको दुखाइको विषय भएको छ ।


वास्तवमा भन्ने हो भने अहिले माओवादी पार्टीमा केन्द्रीय सदस्य    कसरी भए अनि कुन प्रक्रियाबाट केन्द्रीय सदस्य भएका छन् । सोको विषयमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्यहरूलाई नै थाहा            छैन ।

अनि जो केन्द्रीय सदस्य भएका छन्, उनलाई समेत आफू माओवादी केन्द्रको केन्द्रीय सदस्य हो भन्ने हेक्कासमेत छैन । किनकि कतिपय केन्द्रीय सदस्यहरूलाई त नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आधारभूत मान्यतासमेत थाहा छैन । माक्र्सवादको आधारभूत ज्ञान नभएका र कम्युनिस्टको सामान्य चरित्र पनि नभएका पनि कोटामा केन्द्रीय सदस्य भएका छन् । अझै केन्द्रीय सदस्य नै पाइएन भनेर रडाको मच्चाएर गत निर्वाचनमा नखटिनेहरू पनि भेटिए । अझ रोचक त के छ भने पटक पटक विवादमा आएका अध्यक्ष प्रचण्डका छोरा प्रकाशले आफूलाई केन्द्रीय सदस्यमा पारिएन भनेर पिता अध्यक्ष प्रचण्डलाई उनका अङ्गरक्षक एक डीएसपीको पेस्तोल खोसेर गोली ताकेपछि अध्यक्ष प्रचण्डले कोठामा लगेर थुनेर आफूले लगाउने पेटि निकालेर प्रकाशलाई कुटेको चर्चा पनि त्यस बेला बेला आएको थियो । अर्थात माओवादीभित्रको केन्द्रीय सदस्य छनौटको विषय एक प्रकारको किस्सा जस्तै बनेको छ । यसरी निर्माण भइरहेको माओवादी केन्द्रमा अहिले दुई अङ्कको केन्द्रीय समिति बनाउने चर्चा चलेसँगै दुई अङ्कभित्र पर्न माओवादी नेताहरूको दौढधूप सुरु भएको छ । त्यसैले उनीहरू पार्टीको केन्द्रीय समिति चाहिँ सानो नै हुनुपर्दछ भन्न थालेका छन् । तर आफू छुट्नु भएन । यस प्रकारको परिपाटीले माओवादी केन्द्रलाई नराम्ररी                   गाँजेको छ । 

कसरी भयो ? चार हजारभन्दा माथिको केन्द्रीय समिति 
नेपालमा माओवादी जनयुद्ध सुरु हुनुभन्दा अगाडि २०५१ सालमा नेपालको क्रान्तिकारी शक्ति नेकपा (एकताकेन्द्र मसाल)मा थोरै सदस्यको केन्द्रीय समिति थियो । माओवादी केन्द्रका प्रवत्ता पम्फा भुसालका अनुसार नेकपा (माओवादी)ले नेपालमा दीर्घकालीन जनयुद्ध सुरु गर्दा २०५२ साल फागुन १ गते १९ जनाको मात्र केन्द्रीय समिति थियो । जुनवेला अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड,  सदस्यहरूमा मोहन वैद्य  किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, देव गुरुङ, सीपी गजुरेल, अग्नि सापकोटा, यामप्रसाद गौतम,  हरिभक्त कडेल, नारायण शर्मा, पोष्टबहादुर बोगटी, लोकेन्द्र  विष्टमगर, मातृका यादव, कृष्णबहादुर महरा, देवेन्द्र पौडेल, हितमान शाक्य, हेमन्तप्रकाश वली, बासु वाग्ले र  ईश्वरी दाहालको टिम जनयुद्धमा सामेल भएका थिए । 


 जनयुद्ध अहिलेको समयमा गर्न हुँदैन जनसङ्र्घष नै आजको आवश्यकता हो भन्दै आएको पार्टी नेकपा एकता केन्द्र मसालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्य, मसालका महासचिव नारायण काजी श्रेष्ठ प्रकाश, अमिक शेरचन, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, सोनाम साथी, विश्वभक्त दुलाल (आहुती) निनु चापाचार्इं,  शशी श्रेष्ठ, ईश्वरी भट्टराई, धनीराम पौडेल, राजु खड्का, धर्मचन्द्र लावती, भीमप्रसाद गौतम, हकिकुल्ला खाँ, विश्वनाथ साह, रामरिझन यादव, राजकुमार यादव, कमानसिंह लामा, प्रल्हाद बुढाथोकी लगायतको टिम जनयुद्धभन्दा बाहिर थिए । 


 जनयुद्ध नै आजको आवश्यकता हो र अहिले जनयुद्धभन्दा पनि जनसङ्र्घष नै आवश्यक छ । भन्ने विषयमा मतान्तर हुँदा विभाजन भएको पार्टी १० वर्षे भीषण जनयुद्धको सफलता र केही बिराम अनि केही अविराम यात्राको बीचमा पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि तत्कालीन नेकपा(माओवादी) र नेकपा (एकता केन्द्र मसाल) बीच २०६५ माघ १ गते एकीकरण भयो । त्यपछि माओवादीमा वैचारिक तथा सैद्धान्तिक रूपमा समेत फरक तरिकाको कार्यदिशा तयार गरियो । १० वर्षे जनयुद्ध अन्त्य भयो । संविधानसभा मार्फत् जनताको अधिकारी स्थापित गर्ने मान्याताका साथ दुई पार्टी मिलेर एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नामकरण गरियो । यसरी एकीकरणसँगै माओवादीमा जम्बो केन्द्रीय समिति बनाउने क्रम सुरु भयो । त्यसबेला एकीकृत नेकपा माओवादीको १५१ जनाको केन्द्रीय समिति बनेको थियो । एकीकरण सुरुभएको माओवादी आन्दोलनको यात्रामा एकीकरणको सन्देश दिन नपाउँदै पार्टी विभाजनको यात्रा पनि सँगै सुरु भयो । 


पार्टी एकीकरण लगत्तै माओवादी नेता मातृका यादवले पार्टी फुटाए, उनको नेतृत्वमा नेकपा (माओवादी) गठन भयो । त्यसको केही वर्षपछि २०६८ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) का वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको नेतृत्वको समूह पार्टीबाट अलग भयो  र  नेकपा (माओवादी) गठन भयो । जुन माओवादी आन्दोलनमा सबैभन्दा ठूलो विभाजन थियो । जुन विभाजनसँगै माओवादी आन्दोलनमा दुई धार स्थापित भयो । एउटा क्रान्तिकारी धार र अर्को सुधारवादी धार । त्यसबेला क्रान्तिकारी धारको नेतृत्व मोहन वैद्यले गरे भने सुधारवादी धारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरे । यसभन्दा अगाडि नै माओवादीले जनयुद्ध स्थगित गर्नु गलत भएको बताउँदै आएका मणि थापाले क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेका थिए । 


यसरी विराम र अविराम यात्रा सुरु गर्दे आएको माओवादी आन्दोलनमा क्रान्तिकारी धारको नेतृत्व गरेका भनिएका मोहन वैद्य माओवादीमा पनि विभाजन सुरु भयो । अनि फेरी अर्को पार्टी तयार भयो नेपाल कम्युनिस्ट पार्टी, भने यतातिर सुधारवादी धारमा लागेको  आरोप लाग्दै आएको एकीकृत नेकपा माओवादी भित्र नेता हेमन्त प्रकाश वलीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी न्युक्लियस गठन भयो । यसरी विभाजनको सामाना व्यहोर्दै आएको माओवादी आन्दोलनमा फेरि बृहत एकताको सन्देश दिनेगरी विभिन्न घटकमा विभाजन भएको माओवादी आस्था र विचार बोक्ने १० वटा पार्टीहरू एक भए २०७२ साल जेठ १० गते । 
त्यसबेला एकीकृत नेकपा (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी) सहित नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत विभिन्न पार्टी तथा समूहबीचको एकतापछि पार्टीको नाम नै परिवर्तन गरी नेकपा (माओवादी केन्द्र) राखियो ।  


बृहत एकतासँगै माओवादीमा जम्बो केन्द्रीय समिति बनाउने लहर सुरु भयो । सुरुमा एकताको वेला १९९ सँगै २९९, ३९९, ४९९ हँुदै केन्द्रीय समितिमा बस्ने आकांक्षीहरू बढेसँगै ९९९ सदस्यीय केन्द्रीय आयोजक सम्मेलन आयोजक समिति तय भयो । 


केन्द्रीय समिति थप्ने क्रम सुरु भएपछि नेताहरूको खल्तीबाट केन्द्रीय सदस्यमा फलनालाई राख्नुपर्ने भनी नाम आउन थाले पनि माओवादीले ७ प्रदेश तथा प्रवास गरी आठवटा प्रदेश कमिटीबाट केन्द्रीय सदस्यको राख्नुपर्ने व्यक्तिहरूको नाम सिफारिस गर्न माग गर्दे जाँदा यस्तो अवस्था आयो । सात हजारको हाराहारीमा केन्द्रीय समितिमा राख्नुपर्ने सिफारिस आएको माओवादीका केन्द्रीय नेताहरूले नै बताएका थिए । त्यसलाई व्यवस्थापन गर्दा अहिले माओवादी केन्द्रमा ४३९९ सदस्यीय केन्द्रीय सम्मेलन आयोजक समिति भएको माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्ले ‘समर’ले बताएका एक कार्यक्रममा बताएका थिए । तर, अहिले पनि माओवादी केन्द्रको केन्द्रीय समितिमा कतिजना सदस्य छन् सोको बारेमा यकिन रूपमा बाहिर आएको  छैन । यसरी सुरु भएको माओवादीभित्रको केन्द्रीय समितिको सदस्य बनाउने होडबाजी नेताहरूको गुटगत स्वार्थका कारण पनि जम्बो हुँदै गयो । जसको कारण माओवादीको केन्द्रीय समितिको वैठक बस्न सकिरहेको छैन । त्यही कारणले होला २०७४ साउनमा सम्पन्न भएको केन्द्रीय सचिवालयको विस्तारित वैठकले दुई अङ्कको केन्द्रीय समिति बनाउने सोच बनाएको । 


कसरी अटाउन सक्छ दुई अङ्कमा
विश्वमा भएको कम्युनिस्ट पार्टीहरूमध्ये सायद सबैभन्दा धेरै केन्द्रीय सदस्य रहेको पार्टी भनेर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नै हो भन्दा सायद अप्ठेरो नपर्ला ।   नेपालमा भएको दस वर्ष लामो जनयुद्धको विरासतमा आएका माओवादी पार्टीहरूले आफूलाई चुस्त दुरुस्त बनाउन नसक्नु आफैमा दुर्भाग्यको विषय हो । यसरी झट्ट हेर्दा माओवादी आन्दोलनको विरासत अन्त्यको दिशातिर त जाँदै गरेको छैन् भनी अहिले माओवादी आल्दोलनको थालनी गर्ने नेताहरूले नै बताउन थालिरहेका छन् । 


यसले के देखाउँछ भने माओवादी आन्दोलनमा मौलाएको व्यक्तिवादी संस्कृतिको हावी पनि अहिलेको जम्बो केन्द्रीय समिति तय हुनु हो । यसरी गुठगत स्वार्थका कारण निर्माण भएको माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति समिति सजिलै दुई अङ्कमा ल्याउन कठिन छ । जुन अहिलेको कायम रहेको माओवादी केन्द्रको केन्द्रीय समितिका कुल सदस्यहरूको २.४० प्रतिशत बराबर हुन जान्छ । बाँकी ९७ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरूलाई प्रदेश तथा जिल्ला एवं गाउँतहमा पठाउनुपर्ने हुन्छ । यो भनेको माओवादी केन्द्रमा फलामको चिउरा चपाउनु सरह हो । 


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई अङ्कको केन्द्रीय समिति निर्माण गर्नुपर्छ भनेपछि नेताहरूले अहिले सक्रिय युवाहरूलाई केन्द्रीय समितिमा अटाउनुपर्छ भन्ने बहानामा दुई अङ्कको केन्द्रीय समिति सम्भव नभएको बताउन थालिसकेको छन् । सबैको एउटै जोड सुरु भएको देखिन्छ । आफू जसरी पनि केन्द्रीय समितिमा पर्नुपर्दछ । यो माओवादी भित्रको कुलीनतन्त्रवादी संस्कार हो । माओवादी केन्द्रको आजभन्दा ९ वर्ष अगाडिको पार्टी संरचना र अहिलेको पार्टी संरचनालाई रेखाचित्रमा हेर्न सकिन्छ । 
पहिलेको पार्टी संरचना

    

अहिलेको पार्टी संरचना

यसरी माथिको संरचनालाई हेर्दा माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति विघटन हुन निकै कठिन  देखिन्छ । त्यसैले यस कठिन यात्रामा  पनि माओवादीले जम्बो केन्द्रीय समितिलाई विगटन गर्नु नै पर्ने छ । जसको विधि र विधान तयार भएपछि आफै चुस्त समिति बन्छ । तर नेताहरूको चरित्र भने विधि र विधान भन्दा बाहिर रहेको छ । 
माओवादी केन्द्रको केन्द्रीय समितिलाई दुई अङ्कमा अटाउने मुख्य तीन उपायहरू यस प्रकार अवलम्बन गर्न सकिन्छ :


पहिलो ः कम्युनिस्ट आन्दोलन र त्यसमा निभाएको भूमिकाको            आधारमा ५१ सदस्यीय केन्द्रीय सदस्य छनौट गर्ने ।
दोस्रो ः विभिन्न पार्टीहरू बीचमा भएको एकीकरणको आधारमा २१ जना केन्द्रीय समितिका सदस्य छनौट गर्ने । 
तेस्रो ः अहिलेको परिवेशको कम्युनिस्ट आस्थामा प्रतिबद्ध भई विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने जुझारु युवा तथा विभिन्न समुदायमा आधारित भएर २७ जना केन्द्रीय  सदस्य छनौट गर्ने । 
यसो गर्दा कुल केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । त्यहीबाट पार्टीको पदाधिकारी चयन गर्ने र पार्टीलाई वास्तविक जनताको पार्टीमा                    रूपान्तरण गर्न सकिन्छ । जुन आजको आवश्यकता हो । एउटा सुनौलो अभियान हो यो । 

निष्कर्ष :
माथिको रेखाचित्रमा देखाएजस्तो माओवादीको अहिलेको संरचनामा नेतृत्वप्रति बफादार देखिएको छैन । पहिलेको संरचनामा नेतृत्वप्रति बफदार पार्टी थियो । त्यसै कारणले गर्दा जनताले माओवादीलाई रुचाएका थिए । अहिले माओवादी न त नेतृत्वप्रति बफदार नै देखियो न त जनताप्रति इमानदार नै भेटियो । सायद त्यसैभएर होला जनताले जन्म दिने आमालाई भन्दा पनि अरुलाई बढी माया गरेको पाइयो । यो कठिन यात्रामा अहिले माओवादी आन्दोलन अगाडि बढेको छ । जुन समयको खेलसँगै पर्दा पछाडि पर्छ या पर्दा अगाडि पर्छ त्यो त माओवादी केन्द्रले लिने नीति तथा सिद्धान्तले देखाउँदै जानेछ । 
अहिले पनि माओवादी आन्दोलनबाट स्थापित भएको विभिन्न पार्टीहरू अस्तित्वमा रहेको छन् । 
जसमा मोहन वैद्यको अध्यक्षमा नेकपा (क्रान्तिकारी माओवादी) नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी, डा. बाबुराम भट्टराईको नेतृत्वमा गैरकम्युनिस्ट पार्टी (नयाँ शक्ति नेपाल) र हेमन्त प्रकाश वलीको नेतृत्वको नेकपा न्युक्लियस   रहेको छ । यसरी एउटै आन्दोलनमा विभिन्न भागमा विभाजन भएको माओवादी पार्टीमा जनताको आशा र क्रान्तिप्रति बफादार बन्दै गएको पार्टी नेकपा माओवादी केन्द्रप्रति जनताको पनि आकर्षण बढेको छ । जसको नेतृत्व जनयुद्धका महानायक क. प्रचण्डले गरेका छन् । त्यति हँुदाहँुदै पनि माओवादी केन्द्रले आफू र आफ्ना नेतृत्वलाई सुधार गर्न आवश्यक छ ।
अन्त्यमा ः माओवादीले सञ्चालन  गरेको महान जनयुद्ध कुनै एक व्यक्तिलाई सर्वोच्चता दिनुभन्दा पनि सम्पूर्ण मुक्तिकामी जनताको मुक्तिका लागि लडिएको हो । यसमो पार्टी पङ्क्तिको ध्यान जानु जरुरी छ । कुनै अमुख व्यक्तिले मात्र यसको फाइदा लिन नपाओस । त्यसका लागि माओवादी आन्दोलनमा स्थापित भएका राजनीति दलहरू एक हुन आवश्यक छ । 

सन्दर्भसामग्री 
१. रातोपाटी डटकममा प्रकाशित विभिन्न लेख तथा समाचारहरू । 
२. माओवादी केन्द्रबाट प्रकासित मुखपत्रहरू ।
३. माओवादी केन्द्रका विभिन्न नेताहरूले दिएका अभिव्यक्तिहरू ।
४. झिल्को डटकममा प्रकाशित विभिन्न दस्तावेजहरू ।
५. एभरेष्ट दैनिकमा प्रकाशित विभिन्न लेखहरू । 
६. थाहाखबर डटकममा प्रकाशित विभिन्न लेख तथा समाचारहरू ¬।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप