सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गायक राजन ठकुरीका नजरमा दस लोकगायिका

मङ्गलबार, २४ साउन २०७४, १६ : ००
मङ्गलबार, २४ साउन २०७४


पूर्णकला उच्चारण अलि क्लियर नभएकी गायिका, सृजना विरहीको मुढी स्वभाव, मुनामा साधानाको कमी छ ।

 

केही वर्ष बिताएर आफ्नो यात्रा अन्तै मोड्ने थुप्रै गायक गायिका छन्  लोकगायनमा । राजन ठकुरी त्यस्ता व्याक्ति हुन् जसले लोकगायनमै दर्बिलो पाइला स्थिर बनाउन सफल भएका छन् । ‘सिमसिम पानी रैछौ बेइमानी’, ‘एउटा चिठी लेख्न मन लाछ’, ‘राम्रो फूल त फुल्नै नहुने’, ‘तिम्रो झल्को तिम्रै तिर्सना’ लगायतका थुप्रै चर्चित गीतका सर्जक पनि हुन् उनी  । आफै शब्द र लय सृजनामा मात्र होइन, गायक ठकुरी दोहोरी गायनमा पनि अब्बल ठहरिँदै आएका छन् । करिब डेढ दशक लामो गायन यात्राको दौडमा रहेका रहेका ठकुरी नियमित एल्बम बाहिर ल्याउने गायक पनि हुन् । गायनको यो यात्रामा थुप्रै गायिकाहरूसँग उनले गायन सहकार्यसमेत गरेका छन् । गायिकाहरूसँग काम गर्दाको थुपै तीता मीठा अनुभव पनि सँगालेका छन् उनले । प्रस्तुत छ गायक ठकुरीको नजरमा चर्चित दस गायिका ।

बिमाकुमारी दुरा 
मलाई सबैभन्दा मनपर्ने गायिका । स्वरमा माधुर्यताका र स्ट्रेनका हिसाबले राम्रो भएको गायिका । ‘डाँडा माथि जून’, ‘संसार घाती छ’, ‘राम्रो फूल त फुल्नै नहुने’लगायत थुप्रै गीत मैले पनि उहाँसँग गाएको छु । गायन करिएरको सुरुवातदेखि नै उहाँसँग गीत गाउँदै आएको छु । उहाँका स्वरको थुप्रै पारखीमध्ये म पनि एक हुँ । रेकर्डिङको सिलसिलामा कहिलेकाहीँ अल्छी गर्ने, झर्किने जस्ता नराम्रो बानी बिमा दिदीमा छ । यतिसम्म मेलोडी आयो, अब यसरी गाउनु पर्ला भनेर सम्झाउन नहुने गायिका । सम्झायो भने यस्तै हो, अन्त समय दिएको छ भनेर काम नगर्ने, टार्ने गायिका । कतिपय सन्र्दभमा गीतलाई न्याए गर्ने हदसम्म पनि नपुग्ने । अब हुँदैन, गर्दिनँ भन्ने जस्तो व्यवहार गर्ने । रेकर्डिङमा समयको ख्याल गर्ने तर पारिश्रमिकको तुलनामा सहज बन्न नसक्ने । कहिलेकाहीँ पारिश्रमिकमा केही कम्प्ररमाइज नै गर्नुपर्ने भयो भने पनि नमान्ने ।

विष्णु माझी 
पछिल्लो पुस्ताको सबैभन्दा सफल गायिका । स्वरमा क्वालिटी, गायनमा रेन्ज राम्रो भएकी । स्वरको तल्लो अप्टेदेखि माथिल्लो अब्टेसम्म खुल्ने । रोमान्टिकदेखि सेन्टिमेन्टल सबै खालको गीत गाउनुभएको र गाउन सक्ने । मेरो बुझाइमा उहाँको आवाज सेन्टिमेन्टल गीतमा बढी सुहाउँछ । हजारौँ गीत गाएको र सयौँ गीत हिट भएको सन्दर्भमा उहाँको स्वरमा टीकाटिप्पणी गर्ने खालको ठाउँ त छैन । मैले भन्नुपर्दा उहाँको लोकप्रियता जे छ, त्यो अनुसारको व्यक्तित्व नभएकी । कलाकारले कला सँगसँगै व्यक्तित्व बनाउनुपर्छ । यसले आउने पिढीलाई प्रेरित गरोस् । सकारात्मक प्रभाव पारोस् । मलाई लाग्छ, विष्णु माझीको लोकप्रियताअनुसारको व्यक्तित्व कहिलै बनेन । उहाँ प्रसिद्ध गायिका हो । तर सामाजिक सञ्जाललगायतको उपयोग गर्न अहिलेसम्म पनि सक्नु भएको छैन । आफूलाई समयअनुसार अपडेट गर्न नजान्ने । उहाँसँग कहिलै पनि सजिलै सम्पर्क गर्न सकिएन । उहाँको स्वभावले केही नयाँ कलाकारलाई  अवसर त मिलेको होला तर सङ्गीतिक क्षेत्रलाई भने घाटा पुगेको छ । 

लक्ष्मी न्यौपाने 
धेरै गायक गायिकाको स्वरमा मिठास त हुन्छ तर उच्चारण क्लियर हुँदैन । स्वर लत्पतिएको हुन्छ । गायिकामध्ये सबैभन्दा क्लियर आवाज भएकी गायिका लक्ष्मी दिदी भन्न रुचाउँछु म । स्वरको हिसाबले उहाँको जस्तो  गायन शैली कसैको छैन । युनिक स्वरभन्दा पनि फरक पर्दैन । उच्चारण पनि स्पष्ट, मेलोडियस, खित्का बढी भएका, ख्यान्ता झ्याउरे गीतहरूमा म्याच गर्ने आवाज भएकी गायिका । ‘सिमसिम पानी रैछौ बेइमानी’, ‘आँसु बलेनी’, ‘कालले साचुन्जेल’ लगायतका केही गीत मैले उहाँसँग गाएको छु । स्टेज कार्यक्रमको भने मौका मिलेको छैन । गीत रेकर्डिङको क्रममा जुन रेन्जमा पुगेर मिहिनेत गर्नुपर्ने हो, त्यो नगर्ने गायिका । काम निकाल्न खोज्दा यहाँभन्दा हुँदैन, अर्काे ठाउँमा समय छ लगायत विभिन्न बहाना बनाएर टार्ने । सर्जकले सृजना गरेको गीतलाई सर्जकको चित्त बुझाएर गाउन नसक्ने गायिका । मैले धेरै पटक दिदीमा यो अभाव महशुस गरेको छु । यो बानी उहाँले सुर्धानु पर्छ । पछिल्लो समय उहाँको गीतको सङ्ख्यामा कमी आएको छ । त्यो बढाउनु पर्यो ।

देवी घर्ती 
चुलबुले स्वभावकी गायिका, कहिलै ठूलो पल्टिन नजन्ने । दशकभन्दा बढी समय बिताएर हजारौँ गीत गाएकी छन् । सयाँै गीत उनका सफल छन् । ‘मुखले कठैबर भनेर, ‘जमाना खराब छ’ लगायत केही गीत मैले उनीसँग पनि गाएको छु । अलि भाउ खोज्ने स्वभाव नभएकी गायिका उनी । उनको जुन लोक प्रियता छ, त्यो अनुसारको प्रस्तुति शैलीमा जेन्टल छैन । फ्यान तथा साथीहरूसँग जेन्टल रूपमा प्रस्तुत हुन नसक्ने गायिका । गीत रेकर्डिङको क्रममा पनि कहिलेकाँही ठट्टा गर्ने तर समयसर्दभ मिलाउन नजान्ने । गायनमा सरलता भए पनि ठाउँ, लेबल र परिस्थितिअनुसार आफूलाई मेन्टेन गर्न अलि नजान्ने हुन् । लोकप्रियता सँगसँगै आफ्नो व्यक्तित्व निर्माणमा पछि परेकी छन् । कार्यक्रमको सिलसिलामा पनि धेरै ठाउँ सँगै गइयो । त्यसको आधारमा भन्ने हो भने पारिश्रमिकको विषयमा नाइनास्ती नगर्ने, अन्य गायिकाभन्दा सहज छिन् ।

मुना थापा 
‘मनमा आगो सल्कियो’, चिटिक्कै भाकी छौ’ लगायत केही गीत मुनासँगै गरेको छु । उहाँ एकदमै सोझी, मिठो आवाज भएकी गायिका हुन् । स्वरमा जति मिठास छ, त्योभन्दा पनि बढी मिठास उनको बोल्ने शैली छ । निर्दाेष, आज्ञाकारी, मिलनसार, सजिलै अरूसँग घुलमिल हुनसक्ने स्वभावकी छन् । स्वरमा मिठास भए पनि भोकलमा हुनपर्ने पावर नभएकी । स्टेन्स कमी भएकी, मिठास र रेन्च भए पनि आवाजमा हुनुपर्ने थ्रो पुर्याउन सकेकी छैनन् । सबै प्रकारको शब्द सजिलै उच्चारण गर्न सक्दिनन् । उनीसँग मैले थुप्रै स्टेज कार्यक्रममा सँगै काम गरेको छु । स्टेज पर्फमेन्स राम्रो छ । पारिश्रमिकको सन्दर्भमा स्ट्रोङ छिन् । रेकर्डिङको समय ख्याल गर्ने । सबैसँग राम्रो सम्बन्ध बनाउन जान्ने, आत्मियता राख्ने, चाहिनेभन्दा बढी सोझोपन भएकी गायिका हुन् । जुझारु स्वभाव नभएकी गायिका हुन् ।

टीका पुन 
अत्यन्तै मीठो आवाज भएकी गायिका हुन् । सेन्टिमेनटल गीत र ख्याली बिटको गीतमा आवाज उनलाई म्याच गर्छ । झ्याउरेमा भन्दा आधुनिक गायनका लागि पनि मिल्ने स्वरकी धनी हुन् । ‘मैले माया लगाउन’, ‘गल्ती भयो’ लगायत केही गीत मैले उहाँसँगै गाएको छु । दोहोरी साँझमा पनि सँगै काम गरेको आधारमा भन्ने हो भने अरुणा लामाका गीतहरू निकै मीठो पाराले र दुरुस्तै गाउनुसक्ने एक मात्र गायिका हुन् । लोकदोहोरी र लोक गायनमा जमेको भए पनि लोक फेबरमा आधारित सुगम सङ्गीतको गीत पनि राम्रो गाउन सक्ने क्षमता भएकी गायिका हुन् । पारिश्रमिकको विषयमा अलि किचकिचे छिन् । आयोजकले यति दिने भनेका छन् भन्दा पनि आफूले मागेको नभए कार्यक्रममा नजाने, समय परिस्थितिअनुसार आफूलाई ढाल्न जान्दिनन् । हाँसो, ठट्टा रमाइलो गर्नुपर्ने गायिका हुन् । लोक गायनको अलवा आधुनिक गायन गरे पनि सफल हुन सक्ने क्षमता भएकी एक मात्र लोक गायिका हुन् ।
 
पूर्णकला विसी 
अत्यन्तै मीठो आवाज, आवाजको रेन्ज राम्रो, स्टेन्ट राम्रो भएकी गायिका हुन् । उच्चारण अलि क्लियर नभएकाले सुधार्नुपर्ने छ । स्टेजमा उहाँसँग धेरै काम गर्ने अवसर मिलेको छ । ‘के लैजानु छ र मरेर’, ‘पञ्चेबाजाका गीत’ लगायत धेरै गीतहरू मैले उनीसँग गाएको छु । केही नयाँ गीत आउने क्रममा छन् । सेन्टिमेन्टल र झ्याउरे गीत दुवैमा स्वर म्याच गर्ने गायिका, पावरफुल आवाज भएकी, सबैसँग सजिलै घुलमिल हुनसक्ने, कहिलेकाँही झकर्ने स्वभाव भएकी गायिका हुन् । झोक्की स्वभाव, केही खराब बानी सुधार्नु पर्छ । ठाउँ, समय र परिस्थितिअनुसार आफूलाई ढाल्न नसक्ने गायिका हुन् ।

जुना श्रीष मगर 
मीठो आवाज र राम्रो रेन्ज भएकी गायिका हुन् । मैले जुनासँग ‘बाटो मोड्ने छैन’ गीत गाएको थिएँ । झ्याउरे गीतभन्दा पनि सेन्टिमेन्टल र ख्याले गीतमा बढी म्याच गर्ने स्वर भएकी गायिका हुन् । उनलाई विरहका गीतसमेत म्याच गर्छ । मैले चिनेको गायिकामध्ये सबैभन्दा मोटी हुन् । मैले व्याङ्ग्य गरेर पातली भनेर बोलाउने गायिका । चर्चा अनुसारको व्यक्तित्व निर्माणमा ध्यान नदिने गायिका हुन् । गायिकाले अहिले गाउन मात्र जानेर पुग्दैन । स्टेजमा गीत सँगसँगै नाच्नुपर्ने पनि हुन्छ । यी कुरामा ध्यन पुर्याउन नसक्ने गायिका हुन् उनी । उहाँले स्वरको शैलीलाई अभैm निखार्नुपर्ने देखिन्छ । 

सृजना विरही थापा
सृजना नेपाली लोकदोहोरी गायनको एउटा अब्बल नारी हस्ताक्षर भन्न रुचाउँछु म । उहाँसँग मैले करिब १३ वर्षदेखि गीत गाउँदै आइरहेको छु । देशविदेशमा दुई तीन सय कार्यक्रम समेत सँगै गरेको छु । अब्बल गायिका भनेको अघिल्लो पुस्तामा हरिदेवी कोइराला र पछिल्लो पुस्तामा  सृजना हुन् । नेपाली लोकगीत र लोकदोरी गायनमा शब्द सृजनाको हिसाबले पनि उहाँ जस्ता गायिका अरू छैनन् । उहाँका शब्द पनि निकै राम्रा छन् । चाहे त्यो ‘वनको काफल वनकै चरिलाई’ होस् वा ‘एउटा चिट्ठी लेख्न मनलाछ’ होस् । नेपाली लोक दोहोरीको शब्द लेखनमा क्रान्ति ल्याउन सफल गायिका । उहाँसँग मैले दर्जनभन्दा बढी एल्बम गरेको छु । ती सबै सफल भएका छन् । शब्द राम्रो बनाउने भएकाले मैले उहाँसँग गीत गाउनसमेत माग गरेको छु । शब्द सृृजना गर्ने तागत राम्रो भए पनि स्वर कमजोर भएकी गायिका हुन् । साधनाको कमी भएकी र गायनमा मिहिनेत गर्नुपर्नेछ । पङ्चुल भए पनि पारिश्रमिक महँगो लिने गर्छिन् । केहिले एक रुपियाँ पनि डिस्काउन्ट नगर्ने, कहिले आफूले पाएको पारिश्रमिक पनि अरूलाई दिने मुडी स्वभाव भएकी गायिका हुन् । चाहिनेभन्दा बढी पैसा खर्च गर्ने गयिका हुन् । 

कोमल ओली 
दिदीसँग गीत गाउने अवसर मिलेको छैन । नेपाली लोकसङ्गीत र गायनको क्षेत्रमा आफूले बिताएको र उहाँलाई बुझेको आधारमा भन्ने हो भने विशिष्ट व्यक्तित्व भएकी गायिका हुन् । सुन्दरताकी धनी र ट्यालेन्ट पनि हुन् । उनको गायनप्रति म त्यति प्रभावित छैन । व्यक्तित्वभन्दा गायन शैली कमजोर भएकी गायिका हुन् । उनलाई मेलोडियस्, खित्का खेलेका गीत म्याच गर्दैनन् । आवाजले पनि भ्याउँदैन । सरल खालका झ्याउरे तथा छोटो रेन्जका गीतहरू गाउन सक्ने । जुनियरलाई माया गर्ने, कदर गर्ने सिनियरलाई आदर गर्ने, सम्मान गर्ने सबैभन्दा राम्रो बानी भएकी गायिका हुन् । पछिल्लो समय राजनीतिमा पनि प्रवेश गर्नुभएको छ । सोचेर यो कदम उठाएको होला । नेपाली सङ्गीत जगतलाई उत्थान गर्न उनले राजनीति गरे राम्रो हुन्थ्यो । राजनीतिबाट नेपाली कला, संस्कृतिको श्रीवृद्धिमा उनले योगदान पुर्याउनु हुन्छ भन्ने आस मेरो हो । उनी अत्यन्त शालीन व्याक्तित्व भएकी गायिका हुन् । नेपाली लोकदोहोरी गायनका महिला कलाकारले व्यक्तित्व निर्माण गर्न उहाँको सिको गर्नुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप