मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सकारात्मक सोचको सुरुवात

बुधबार, २५ साउन २०७४, १३ : ३२
बुधबार, २५ साउन २०७४

उत्तम काफ्ले

हाम्रो समाजमा अक्सर गरिने कुरा प्रायः राजनीतिसँग सम्बन्धित हुने गर्छ । तपाईंको घर नजिकको चिया पसल होस या तपाईंको कार्यालय वा कुनै सरकारी निकाय तथा केही थान बाँकी रहेका संस्थानका प्राङ्गणहरु; सर्वत्र एकै प्रकारको रटान लगाइएको पक्कै सुन्नुभएको छ । कति बेला सुन्दासुन्दै तपाईंले पनि सुरु गर्नुभएको छैन भन्न एकदमै कठिन छ ।

विषयवस्तु जेसुकै भए पनि कुराको तात्पर्य बुझ्नु भयो भने कसैको कुरा काटिएको छ, वा सत्तो सराप गरिँदै छ या त कसैलाई अर्ती उपदेश दिइरहेको सहजै थाहा पाउनु हुन्छ । हुँदाहुँदा अब त तपाईं हाम्रो बानी नै भइसक्यो, कसैलाई गाली गर्नु, उछित्तो काढ्नु वा प्रशस्त सल्लाह दिनु । लाग्छ सहरमा निःशुल्क परामर्श केन्द्रहरुको बाढी आएको छ । अनि पानीको फोकाझँै परामर्शदाताहरु फुत्त फुत्त स्वउत्पत्ति भइरहेका छन्, क्षणिक अस्तित्व रक्षाका लागि । 


सभा, सेमिनार, रेडियो, टेलिभिजनका कार्यक्रमहरुमा एउटा सग्लो मानिस हात उठाउँछ बोल्नका लागि, गौरताका साथ सुन्नुहोस्, ऊ सत्तोसराप र सल्लाहभन्दा दुई इन्च परको कुरो ज्यान गए गर्दैन । हुँदाहुँदा अब त लेख, रचना तथा साहित्यका अन्य विधामा पनि सस (सत्तोसराप र सल्लाह) संस्कारले राम्रै अड्डा जमाएको देखिन्छ । 


हामीले कहिले अनि के कारण यस्तो (कु) संस्कार सुरु गर्यौँ ? कहिल्यै यो कुरा सोच्नुभयो ? के कहिल्यै आफू के गर्दै छु भन्ने कुरा सोच्नुभयो ? अलिकति आफ्नै घरको कुरा गरौँ । के तपाईं सबेरै उठ्न सक्नु हुन्छ ? उठेर ओछ्यान मिलाउनु हुन्छ ? अन्तिम पटक मर्निङ वाक गएको कति दिन या महिना भयो ? आफै चिया पकाएर पिउनु हुन्छ कि चिया पसलमै गएर चिया पिउँदै नेतालाई गाली गरिन्छ ? भान्साघरबाट उत्सर्जित कुहिने र नकुहिने फोहोर छुट्याउनु भएको छ ? आगन त पक्कै सफा राख्नु भएकै होला ? अनि पारिवारिक झैझगडाको के अवस्था छ ? कार्यालय प्रवेश गर्ने साथ पहिलो शब्द गालीको हुन्छ कि प्रशंसाको ? अन्तिम पटक कहिले अनि कसको प्रशंसा गर्नुभएको थियो ? 


सायद हामी कहिल्यै यी कुरा सोच्दैनौँ । किनभने हाम्रो मष्तिस्क धेरै ठूलाठूला काम (कुरा) गर्न अभ्यस्त छ, भनौँ त्यस्तै केही भ्रम छ हामीमा । धेरै सरल तर भविष्यमा खराब परिणाम निम्त्याउने विषय हो, जहाँ एउटा छोराले उसको बुबाले कसैको प्रशंसा गरेको सुन्न पाउँदैन । एउटी छोरीले कहिल्यै आमाको मुखबाट छिमेकीको गुणगान सुन्न  पाउँदिनन् । बालबालिको पहिलो पाठशाला घर हो । तपाईं हाम्रो हरेक आचरण उनीहरुका लागि अनुकरणीय हुन्छ, चाहे त्यो असल होस् या खराब । प्रशस्तै सुविधा दिँदैमा वा नाम चलेको विद्यालयमा राख्दैमा असल संस्कार आउने हैन हजुर । यो त देखेर, भोगेर सिक्ने कुरा हो । 


अब के सोच्दै हुनुहुन्छ ? मष्तिस्कमा तर्क विर्तक चल्दै होलान् । आउनुस एकछिन अन्तर्मनबाट केही प्रश्नको उत्तर खाजौँ । करिब ३ करोड जनसङ्ख्या भएको समाजमा तपाईं र म मात्रै ठीक अरु सब गलत ? यस्तो त पक्कै नहुनु पर्ने नि । यदि यस्तो हैन भने तपार्इं र म कहाँ चुक्यौँ त ? यस्ता प्रश्नहरु प्रशस्तै छन् । अब आफूभित्रको कमजोरी खोज्न लागौँ । यदि यो खोज सिद्ध भएमा आफ्नो अनि सन्नतिको मन, वचन र कर्म असल हुनेछन् । सुरुवात आफूबाट गरौँ, आफ्नो घरमा परिवर्तन ल्याऊँ । कम्तीमा परिवारका २, ४ जना सदस्य सुधारिऔँ । दिनमा १ घण्टा कसैलाई गाली नगरौँ, कसैको कुरा नकाटौँ, आफूले सकेको सहयोग गरौँ, कमाइको सानो हिस्सा अशक्त, अशहायको सहायतामा खर्च गरौँ, हप्तामा १ घण्टा सकारात्मक कुरा मात्र गरौँ, राम्रो देखौँ, राम्रो सुनौँ र कहिलेकाहीँ आफैलाई धन्यवाद ज्ञापन गरौँ ।

सबैको मङ्गल होस् ।
[email protected]


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप