मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राजनीतिमा विकासप्रतिको दूरदर्शिता हुनुपर्छ

बिहीबार, २६ साउन २०७४, ११ : २३
बिहीबार, २६ साउन २०७४

ई. आशीष सुवेदी

विश्वमा थुप्रै विकसित मुलकदेखि लिएर हाम्रा दुई छिमेकी मुलुक उत्तर र दक्षिणले छुट्टाछुट्टै राजनीतिक व्यवस्था अङ्गीकार गरेका छन् । त्यही पनि यी दुवै छिमेकी मुलुकले राष्ट्रको समृद्धिमा आआफ्नै ढङ्गले छलाङ मार्दै अधि बढिरहेका छन् । यसले हाम्रा पुस्ताका युवा पिढीलाई राष्ट्रिय समृद्धिका निम्ति राजनीतिक व्यवस्था मात्र पूर्ण प्रधान हँुदो रहेनछ भन्ने शिक्षा दिन्छ ।

इच्छाशक्ति र राष्ट्र निर्माण गर्ने सकारात्मक नियतको पनि उत्तिकै भूमिका हुँदोरहेछ भन्ने बुझिन्छ । हो, सामन्तवादी एकात्मक राज्य व्यवस्थाले नेपाली समाजलाई हरेक दृष्टिकोणबाट पछाडि धकेलिराखेको अवस्था थियो । जुन माओवादीको दशवर्षे जनयुद्ध र सो शक्तिको जगमा ०६२÷०६३ को आन्दोलन मार्फत जनताले सामन्तवादको केन्द्र राजसंस्थालाई सिंहासनबाट जमिनमा घिसार्दै घुँडा टेक्न बाध्य बनाएका थिए । जसको परिणम आज हामी आफैले कोरेको संविधानबाट आफै शासित हुने व्यवस्थाको निकै नै शिशु अवस्थाबाट गुजिँ्रदै छौँ । भविष्यमा सायद सन्ततीले अर्को कुनै अमूक राजनीतिक व्यवस्थाका लागि लडाइँ गर्नु पर्दैन । 


कागजी रुपमा व्यवस्था परिवर्तन भए पनि व्यवहारमा सामन्तवादको आंशिक अवशेषसँगै चरम पुँजीवादी युगको सँघारमा उभिएका छौँ । जसमा तमाम बेथितिहरुले सामाज र राष्ट्रलाई कहालीलाग्दो गरी जकेडिराखेको छ । चरम महँगी, भष्ट्राचार बेरोजगारी, गुण्डागर्दी, खुलेआम विषादक खाद्यान्नको व्यापार, युवा ऊर्जाको चरम पलायन आदि हाम्रो समाजको विम्बको रुपमा खडा छ । यी र यस्ताखाले विकृति र विसङ्गतीलाई वैज्ञानिक ढङ्गले हल गर्न केवल संविधान र राजनीतिक व्यवस्था परिवर्तनले मात्र पुग्दैन । सामाजिक न्याय, सुशासन र समृद्धि स्थापनाका निम्ति क्रान्तिकारी उर्जाशील युवाशक्तिको सकारात्मक प्रयास, सचेत पहलकदमी र निरन्तरको खबरदारीको जरुरत पर्दछ । 


विश्वको औद्योगीक र चौथो औद्योगिक समाजलाई नियाल्दा र उनीहरुको सामाजिक, आर्थिक र राजनीतिक विकासको गतिलाई हेर्दा हामी के सजिलै बुझ्न सक्छौँ भने विकासको स्टेरिङ ७०% युवाहरुको हातमा छ । यसले गर्दा उनीहरुको विकास र समृद्धिको गाडी दु्रत र सही दिशामा गुडेको देख्न सक्छौँ । 
तर विश्वमै युवा जनशक्तिको दृटिकोणले अग्रपङ्क्तिमा रहेको हाम्रो मुलुकको कथा भने अलि पृथक र दर्दनाक नै छ । साधनस्रोतका हिसाबले हामी संसारकै मानिसहरु भन्दा निकै नै धनी छौँ । अथवा प्रकृतिक साधनस्रोत जस्तै प्रकृतिक सौन्दर्य, जल, जडीबुटी, खनिज आदिमध्ये कुनै एकको मात्र पनि सही  व्यवस्थापन र सदुपयोग हुने थियो भने आज सायद हामी पनि ब्रह्माण्डको खोज र अनुसन्धानमा व्यस्त हुने थियौँ । हाम्रो राष्ट्रिय दिवसमा हामी पनि ठुल्ठुला मिसाइलहरु प्रक्षेपण गरी विश्व शक्ति सन्तुलन मिलाई रहेका हुने थियौँ । मार्सिडिज, बिएमडब्लु, बेन्ज जस्तै अत्याधुनिक कारहरु हाम्रो पार्किङ ग्यारेजमा पार्क गरिरहेका हुने थियौँ । समग्रमा युद्धमा पनि बुद्धिमा पनि सर्वशक्तिमान भई सायद विश्वमा हामी शासन गरिरहेका हुने थियौँ । 


तर विडम्बना मुलुक परिवर्तनका निम्ति हमेसा सन्की बाघका रुपमा सधैँ अग्रपङ्क्तिमा शासकको बन्दुकको नालका अगाडि छाती खोली लड्ने सडकमा आमजनतालाई नेतृत्व गर्ने युवा व्यवस्था परिवर्तन पछि सधँै ओझेलमा परिन्छन । सायद परिवर्तित व्यवस्था संस्थागत नहोस् भन्ने चाहना राख्ने शक्तिहरुको डिजायनमा युवाहरुलाई राजनीतिको मूल प्रवासबाट च्यूत गरिन्छ । त्यसैले हाम्रा प्रायः राजनीतिक पार्टीहरुका कथित शीर्ष नेतृत्वहरुले उर्जाशील युवाशक्तिलाई प्यारालाइसिस अवस्थामा राखी अप्रत्यक्ष रुपमा निषेधको राजनीति गरिएको पाइन्छ । एक हिसाबले प्रत्येक पार्टीमा शीर्ष नेताहरुको सिन्डिकेट हाबी छ । कुनै युवा नेतृत्वबाट सिन्डिकेटका विरुद्ध वैचारिक प्रहार गरिए ऊ राजनीतिबाटै च्यूत भई पलायनको भुमरीमा फस्ने निश्चित छ । तर जबसम्म परिवर्तनका संवाहक युवाशक्तिले यस प्रकारको सिन्डिकेटलाई भत्काउन सङ्गठित प्रयास गर्दैनन् तबसम्म युवा नेतृत्वले आम युवावर्गको विश्वासलाई कदापि जित्न सक्दैन । फलस्वरुप मुलुक सामृद्धिका निम्ति अथाह संभावना बोकेको युवा ऊर्जा विकेन्द्रीकृत भई अनुत्पादक हुनजान्छ र समाजभित्रका नकारात्मक शक्तिको विकृत साधनका रुपमा सीमित प्रयोग हुन पुग्दछ । 


युवा शक्तिका सानदार इतिहास र भूमिकाका विषयमा चर्चा गरिरहदा आम युवा विद्यार्थीहरुको आशा तथा भरोशाको केन्द्रका रुपमा स्थापित माओवादी (केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको आउँदो भदौ ७ गतेदेखि हुन लागिएको २१औँ राष्ट्रिय सम्मेलनलाई देशैभरिका युवाशक्तिले निकै नै महत्वका साथ हेरिरहेका छन् । 


हाम्रो सङ्क्रमणकालीन समाजको धमिलो रुपी राजनीतिक पोखरीमा यस सङ्गठनभित्र पनि विभिन्न डरलाग्दा विकृतिहरु मौलाइरहेको देख्न पाइन्छ । यस घडीमा आम युवा विद्यार्थीहरुले विभिन्न खबरदारीसहित चिन्ता व्यक्त गरिरहेका छन् । यस राष्ट्रिय सम्मेलनमा कतै नातावाद, कृपावाद, जिउ हजुरी अनि लम्पसारवाद हावी हुने त होइन ? पक्कै पनि त्यस्ता चरित्र बोकेर नेतृत्वमा आएकाहरुले न जनजीविकाको पक्षमा, न राष्ट्रियताको पक्षमा, न शैक्षिक माफियाका विरुद्ध आफ्नो आवाज बुलन्द गर्न सक्छन् । भनिन्छ काखमा बोकेर ल्याएको कुकुरले मृगको शिकार गर्न सक्दैन । 


समय धेरै घर्किसक्यो सहिदका रगतको व्याजको स्याज पनि रित्तिइसक्यो । अझै पनि सहिदहरुको बलिदानले खडाभएको विरासतमा उभिएर सङ्गठनलाई आर्यघाटतर्फ लाने निश्चित छ । 


विद्यार्थी नेताको हैसियतले उसले राष्ट्र निर्माणका निम्ति बुआयामिक भूमिका खेल्नुपर्छ । अझ त्यसमा पनि उसको प्रधान शत्रु भनेका शैक्षिक माफिया र तिनका कठपुतली दलालहरु नै हुन । जसले मालिक होइन्, नोकर उत्पादन गरिरहेका छन् । विद्यालयदेखि क्याम्पस तहसम्म घोकन्ते विद्यालाई प्रधान बनाई अधिकतम अङ्क ल्याई शिक्षालाई केवल विदेशजाने माध्यम मात्र बनाइएको छ । जसले गर्दा विद्यार्थीहरु विदेश जान त सफल  भएका छन् तर राष्ट्र निर्माणका निम्ति काविल बन्न सकिरहेका छैनन् । सुनियोजित रुपमा विदेशिको गुलाम मात्र बनाइएको छ । प्रायः विद्यार्थी सङ्गठन र यिनका नेताहरु यिनै शैक्षिक माफियाहरुसँगै आर्थिक सहयोगका नाममा उनीहरुसँग लम्पसार परी सङ्गठन चलाउने नाममा आफू र आफ्ना भरौटे पोस्ने, विभिन्न गुट उपगुट सिर्जना गरी विश्वविद्यालय र कलेजहरुमा आफ्नो कुराजनीतिक अखडा बनाई गुण्डा उत्पादन गरी विहारी शैलिको राजनीतिलाई क्याम्पस स्तरमै विजारोपण गर्ने प्रवृत्तिले आम विद्यार्थी माझ नकारात्मक असर परिरहेको देखिन्छ ।

जसको परिणाम स्वरुप उनीहरु आज राजनीतिलाई फोहोरी खेलको संज्ञा दिँदै राज्यको व्यवस्था, नीति, कामकारवाही आदिबाट टाढा रहन मन पराउँछन् । जसले गर्दा समाजका प्रतिक्रियावादी शक्तिको मलजल हुने गर्दछ भने क्रान्तिकारी शक्ति कमजोर हुँदै जानेछ । जसकारण आम समृद्धिको चाहना कदापि पूरा हुन सक्दैन । 


त्यसैले अखिल क्रान्तिकारीको यस राष्ट्रिय सम्मेलनबाट विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थी माझबाट राजनीति फोहोरी खेल होइन, यसमा विकासको दूरदर्शिता हुन्छ भन्ने मान्यता स्थापित गर्ने नेतृत्व निर्माण होस् । शुभकामना । 
[email protected]


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप