मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेणु प्रशासन नेपालकै नमुना बनोस् शुभकामना !

बिहीबार, २६ साउन २०७४, १२ : ०८
बिहीबार, २६ साउन २०७४
  • हीरा अधिकारी


आदरणीय . रेणु दाहाल
क्रान्तिकारी लालसलाम

एउटा पार्टीको आस्थावान समर्थकका हैसियतले मैले व्यक्तिगत अभिवादन गरे पनि अब तपाईं सम्पूर्ण महानगरको मेयरको गरिमामय पदमा निर्वाचित हुनुभएको छ, सर्वप्रथम तपाईंलाई बधाई दिन चाहन्छु ।

देशको बहुजाति, बहुभाषिक, बहुभौगोलिक बनावटमा अवस्थित जिल्ला भएका कारण देशको ७६औँ जिल्ला मानिने यस सुन्दर नगरी भरतपुरमा तपाईं नगर प्रमुखमा निवार्चित हुँदा यहाँका जनताले व्यापक विकास र सुशासनको अपेक्षा गरेका छन् । तपाईंले यहाँ जनताका अपेक्षा नेपाली काङ्ग्रेस र प्रतिपक्षलाई समेत चित्त बुझाई काम गर्नु पक्कै पनि सजिलो छैन । चुनावको क्रममा भएको साइबर हमला, विभिन्न टीका टिप्पणीलाई पनि यति शीतल र सहनशील भएर रहन सक्ने तपाईंको क्षमतालाई देखेर नै जनताले विजयी गराएका हुन् । देशको शक्तिशाली नेताकी छोरी भएर कुनै विलासी जीवन रोजेर बस्न सक्ने हैसियत हुँदाहँुदै पनि आफ्नो जिल्ला नगरको सेवा गर्छु भनी चुनावमा होमिनुले तपाईंको निश्चल मन जनताप्रतिको अथाह माया भरतपुरका आमनागरिकले बुझेका छन् । भद्रगोल महानगरलाई अब नमुना सहर बनाउन लाग्नका लागि यस नगरले तपाईजस्ता विशाल हृदयको नेतृत्व पाउनु खुसीको कुरा हो । 

स्थानीय संरचना अझै पुरानो र कृपावादमा चलेको छ । यसलाई तपाईंले कसरी सुधार गर्नुहुन्छ ? जनताले मालपोतभित्र तिरो तिर्न जाँदा र जग्गा नामसारी गर्दा एजेन्टको साहयता लिनुपर्ने अवस्था अन्त्य  गर्नुहोस । हस्पिटल जाँदा बिरामीले लाइन बस्नुपर्ने तर भित्र कर्मचारीले गुनासो नसुन्ने प्रवृत्तिलाई झकझकाउनु होस । सरकारी स्वामित्वमा रहेर समयमा अफिस नआउने, बेला नहुँदै घर जाने र समस्या परी फोन गर्दा नउठाउने टेलिकमलाई कारबाही गर्नुहोस् । लोन निकाल्दा आफ्ना मान्छे हेर्ने सेवा शुल्कको नाउँमा प्रतिशत काटने बैङ्क तथा वित्तीय संस्थाको छानबिन गर्नुहोस् । अदालतमा दलालको पावर लगाई कानुनको चिर हरण गर्ने प्रथा रोक्नुहोस् । सडक बत्ती नभएर पटक पटक माग गर्दा सुनुवाइ नभएका टोलमा र बिनाजानकारी विद्युत काटने विद्युत प्राधिकरणलाई हस्तक्षेप गर्नुहोस् । सडकमा गुडने इ–रिक्सा र अटोरिक्साको लुट प्रवृत्तिलाई सीधा कारवाहीको अवधारणा दिएर समन्धित निकायलाई परिचालन गर्नुहोस । पुराना तथा वातावरण नै प्रदूषण हुने गरी सञ्चालित साधन तथा म्याजिक भेन टेम्पो र टयाक्सीलाई विस्थापन तथा व्यवस्थापन गर्नुहोस् । सडक अनुशासन शून्य रहेको महानगरमा अवश्यकताअनुसार जेब्रा क्रसिङ र ट्राफिक बत्ती र राउन्ड बोर्डको लागि तैयारी थाल्नुहोस् । बजारको शोभा नै बिगरने गरी झुन्डाइएका होडिङ लाइट र फ्लेक्स बोर्डहरुलाई आवश्यक मापदण्ड तोकेर नगरको मुहार फेर्नुहोस् । मापदण्डभन्दा कम संरचना तथा गुणस्तरमा खोलिएका लज र होटल तथा रेस्टुरेन्टलाई ऐनअनुसार सुधारको दायरामा ल्याउनुहोस् । कर छली गर्ने व्यक्ति तथा संस्थाहरुलाई राजस्वको परिधिमा ल्याउनुहोस् । खेतीयोग्य जमिन प्लटिङ हुँदा बेकामे बन्दै गएका कृषिमा सरोकार राख्ने सरकारी कार्यालयहरु जीर्ण अवस्थामा छ्न् । कर्मचारी तलब थाप्ने विधिमा मात्र काम गरेको अवस्थालाई चिरेर सरकारी कार्यालय सरसफाई र व्यवस्थित तथा सेवाग्रहीमुखी प्रशासन निर्माण गर्नुहोस् ।


सहरमा अव्यवस्थित ढल निकास तथा नदी किनारमा फोहोर पÞmाल्नुपर्ने बाध्यता र अटेरीको निकास खÞोज्नुहोस् । सरकारी कर्मचारी र प्रशासनमा छिटो र सेवामुखी झन्झटमुक्त नीति अख्तियार गर्नुहोस् । सरकारी निकायमा रोजगार खुल्दा कर्मचारीको सोर्स फोर्सले नियुक्ति गर्ने परम्परा बन्द गर्नुहोस् । निजी विद्यालयका नाममा विद्यार्थीमाथि चर्को असुलीको धन्दा अन्त्य गर्नुहोस् । खाद्य भण्डार सुपरमार्केट र खÞुद्रा पसलहरुमा म्याद गुज्रिएका र एमआरपीभन्दा बढ़ी मूल्य पर्ने वस्तु खरिदको बाध्यतालाई सम्बोधन तथा अनुगमन गर्नुहोस् । नदी कटान तथा अन्य दैवीप्रकोपमा उद्धार तथा रोकथामको छुट्टै ब्युरो स्थापना गरी द्रूत सेवाको लागि तयारी अवस्थामा राख्नुहोस् । योभन्दा अघि सञ्चालित विकास निर्माणका फाइल खोलेर त्यहाँ भएका अनियमिता कारबाहीको कठघरामा ल्याउनुहोस र वैज्ञानिक र सरल माध्यमबाट निरन्तरता दिनुहोस् । महानगर गौरवका आयोजनालाई केन्द्र सरकारसँग माग गराई छिटो र पारदर्शी रुपमा सञ्चालन गर्नुहोस् । रेणु प्रणाली यस्तो होस्, हरेक निकाय जिम्मेवारी र कर्तव्यले शपथ खाएर काम गर्ने होस् ।

समाज सेवा गर्दा खुट्टा तान्नेको कमी हँुदैन । कसैसँग विचलित नभई नगर र नागरबासीको सुखदुखको सहयात्री बन्नुहोस् । च्याउझैँ उम्रिएका अनलाइन, जो पार्टीगत स्वार्थमा विकेका छन् । जनतालाई बराल्ने कोशिष गर्छन् । जनगुनासालाई हरेक सरकारी कार्यालय र चोकमा गुनासा पेटिका राखी जनताका तीता अनुभवलाई समेटने संयन्त्र ल्याउनुहोस् ताकि तपाईंकाविरुद्ध लाग्ने पनि प्रसंशाले ताली बजाउन बाध्य होस् । तपाईंका साथमा हुने छन्, केही असन्तुष्ट होलान्, तिनीहरुलाई पनि सम्मानजनक रूपान्तरण गर्नुहोस् । यहाँ विकासका लागि सबैलाई एकजुट भएर लाग्न बाध्य हुनुपर्ने अवस्था आउने छ । हरेक वडामा सार्वजनिक महत्वको अन्तक्र्रिया गर्नुहोस्, ताकि आफ्ना वडा प्रमुखलाई जनताले खबरदारी गर्न सकून् ।

नारी शक्ति जननी र माताको रुपमा चिनिन्छ । जसरी आमाले आफ्ना सन्ततिलाई समान प्रेम गर्छिन्, त्यसरी नै सम्पूर्ण भरतपुरका जनतालाई समान दृष्टिकोणले हेर्नुहोस । आफ्ना काम जनताका लागि समर्पित गर्नुहोस् । चुनावमा होमिदा तपाईलाई जसरी इमानदार र शीतलताको रुपमा जनताले लिएका छन् । भोलि समय अवधि सकिएपछि पनि इमानदारिता शालीनतामा कुनै दाग नलागोस् । चुनाव हुँदै गर्दा तपाईंको जितको लागि महान माओवादी केन्द्रको विजयका लागि मिडिया र चुनावी मैदान अहोरात्र खटिने कार्यकर्तासँग  र भोट दिने जनता र सम्पूर्ण नागरबासीसँग सधैँ सुमधुर समन्ध राख्नुहोस् । 

जनतालाई उदाहरणीय मेयर बनेर देखाउनु छ । तसर्थ तपाईंका लागि म जस्ता हजारौँ युवा परिचालित हुन तयार छौँ । विकासको शङ्खनाद गर्नुस्, युवालाई आह्वान गर्नुस्, तपाईंका जनता समर्पित काममा लाग्न आतुर छन्  सम्पूर्ण नगबासी । शब्दलाई बिट मार्दै जाँदा सम्पूर्ण नगरबासीको अपर्झट समस्या तुरुन्त सम्बोधन गर्न हेल्पलाइन सञ्चालन गर्नुहोस्, ताकि जनतासँग तपाईंको सम्बन्ध झन कसिएको देख्न चाहन्छु । नयाँ काम र नयाँ सोचलाई भरतपुर महानगरका जनताले सधैँ स्वागत गर्दछन । कार्यसफलताको धेरै शुभकामना छ मेयरज्यू ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप