मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यसरी गरौँ युवा जनशक्तिको उपयोग ?

शुक्रबार, २७ साउन २०७४, १६ : ०५
शुक्रबार, २७ साउन २०७४


दीपक बोहरा

युवा अवस्था सम्पूर्ण जीवनको सबैभन्दा ऊर्जाशील समय हो । युवक हुनका लागि शारीरिक, मानसिक एवं संवेगात्मक विकास उत्कर्षको चरणमा पुगेको हुनु पर्दछ । युवा भन्नाले शरिरमा बल, मस्तिष्कमा सोच, मनमा सपना र सपना साकार गर्न सक्ने क्षमताका साथै जोस र जाँगर भएको उमेर हो । समृद्ध एवम् सबल युवा हुनका लागि उमेरका साथसाथै शारिरीक एवम् मानसिक स्वस्थताका साथसाथै सामाजिक, राजनीतिक, सांस्कृतिक एवम् आर्थिक वातावरण समेत उन्नत हुनु जरुरी छ । 
नेपालका सन्दर्भमा १६ वर्षदेखि ४० वर्ष उमेर समूहलाई युवा भनिन्छ ।  ०६८ को जनगणनामा युवाको सङ्ख्या ४०.३५ प्रतिशत छ । युवावर्ग घर, परिवार, समाज, राष्ट्र र विश्वका मेरुदण्ड भएकाले देशको कुल ग्राहस्थ उत्पादन, आर्थिक वृद्धि तथा विकास, सामाजिक तथा सांस्कृतिक विकास र पर्यटन प्रवद्र्धनमा युवाहरुको महत्वपूर्ण भूमिका हुन्छ । नेपालमा भएका युगान्तकारी परिवर्तनहरूमा युवाको प्रमुख सहभागिता छ । हजारौँ युवाले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि जीवन बलिदान दिएका छन् । युवाका योगदान, सङ्घर्ष र सहभागिता राज्यका हरेक क्षेत्रका लागि महत्वपूर्ण रहेको हुन्छ । 


करिब ४० प्रतिशत युवाशक्ति रहेको नेपालबाट बर्सेनि लाखौँ युवा रोजगार, शिक्षालगायत  भविश्यका सुनौलो सपनाको खोजीमा विदेश गइहेका छन् भने कतिपय युवाहरु विदेशमा नै पलायन भइरहेको यथार्थता हामीमाझ छ । भर्खरै कोरियामा काम गर्न जानका लागि ७५,५८० युवाहरुले आवेदन भरेका थिए जसमा करिब १० हजार २०० जना उत्तीर्ण भएका छन् । आ.व. २०७३।०७४ मा कतार, साउदी, दुवई, कुवेत, बहराइन, ओमन र साइप्रस जस्ता खाडी मुलुक तथा मलेसिया जानका लागि ३,७३,४६३ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्याङ्क सार्वजनिक भएको छ । भारततर्फको खुला सिमानामा त झन बर्सेनि लाखौँ युवा मजदुरीका लागि भारतका विभिन्न सहरहरु निम्नस्तरको काम गर्न गइरहेका छन् । विदेशी बजारमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य युवा वैदेशिक रोजगारका नाममा ठगीइरेका छन् । नेपाली युवाको श्रमका साथसाथै रकम दुवै बाहिरिरहेको छ । हाम्रा मुलुकका करिब ७५ देखि ८० प्रतिशत युवा जनशक्ति बाहिरिरहेको अवस्था छ ।


नेपालमा नै रहेका युवाहरु पनि रोजगारी तथा जीवनयापनका लागि आयआर्जन गर्न सहरका गल्ली÷गल्लीमा भौँतारिदै हिँड्नु परिरहेका छ । केही गराँै हाम्रै देशमा भने युवाले सोचे जस्तो शिक्षा, रोजगार र अवसर पाएका छैनन् । कृषि, पशुपालन क्षेत्रतर्फ आकर्षित युवाहरु पनि स्रोत तथा साधनको अभावसँगै अत्याधुनिक प्रविधिको अभाव त छँदै छ, उत्पादनपछि बजारको अभाव, सञ्चय गर्ने प्रविधिको अभाव झेलिरहेका छन् । खाडी मुलुक र मलेसियाको तलबको भरमा परिवार पाल्नुपर्ने अवस्था रहेको छ । सरकारसमेत रेमिट्यान्सको भर परिरहेको छ । युवाहरुमा निजी क्षेत्रमा काम गर्ने उत्साह एवम् आकर्षण छैन । नेपाली संस्कृति, परम्पराको उत्कृष्टतामा नरमाएर युवाहरु विदेशमा भासिइरहेका छन् । 


युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउनका लागि नेपालमा नीतिगत स्तरमा व्यवस्थाहरु भए पनि त्यसको कार्यान्वयन पक्ष भने कमजोर छ । भएका नीति नियमहरुलाई परिमार्जन गर्दै लगेर समायानुकुल तयार हुनु जरुरी छ । नेपालको संविधान, राष्ट्रिय युवा नीति २०७२, युथ भिजन २०३५, राष्ट्रिय युवा परिषद् ऐन २०७२ ले युवाका आधारभूत अधिकारहरूको प्रत्याभूति गर्दै सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै उनिहरुको नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सार्थक सहभागिता र नेतृत्व क्षमताको विकास मार्फत सामथ्र्यवान, उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गर्नुपर्ने अवस्था आएको छ । राष्ट्रको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण योगदान दिन सक्ने  आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्नु पर्छ । 
विदेशी शिक्षा, रोजगारी, सीप, आय, सेवा, सुविधा, अवसरप्रति लगाव बढ्दै गइरहेको वर्तमान परिप्रेक्षमा राज्यका नीति, नियम, निर्देशन, निर्णय, आयोजना, कार्यक्रमहरु सबै अप्रभावकारी सिद्ध भएका  छन् । 


विश्वमा भइरहेको आर्थिक बृद्धि तथा विकासको प्रतिस्पर्धात्मक तुलनामा हामी अन्तिम स्तरमा छौँ । हामीसँग भएका सीमित स्रोत साधनको उपयोग हुन सकेको छैन । आधुनिक, विकसित प्रविधि हामीसँग छैन । हामीसँग युवा जनशक्ति उपयोग गर्न सक्ने उद्योगधन्दा, कलकारखाना छैनन् । प्राविधिक, सीपमूलक, आयमूलक एवम् व्यावहारिक शिक्षामा जोड दिइएको छैन । अत्याधुनिक पाठशाला एवम् अध्ययन अनुसन्धानका लागि प्रयोगशालाहरु   छैनन् । विश्वविद्यालयहरु राजनीतिक क्षेत्रमा सीमित रहेका छन् । राजनीतिक परिवर्तन ल्याउनका लागि आफ्नो बलिदान दिने युवाहरुलाई राजनीतिक क्षेत्रमा ठाउँ खालि छैन । राजनीतिक परिवर्तनसँगसँगै युवाहरुको सहभागिता, क्रियाशीलता बढ्दै जानुपर्नेमा झनझन कमजोर भइरहेको छ । राजनीतिक पार्टीहरुमा विचार, क्षमता र सक्रियतालाई भन्दा पनि पालो पर्खने संस्कारको विकास भइरहेको छ । 


निजी क्षेत्रका रोजगारीमा स्थायित्व प्रदान गर्नका लागि न्यूनतम ज्याला सम्बन्धी कार्यनीति ल्याई कार्यान्वयन गर्नु आवश्यक छ । राज्यले कृषि, व्यवसाय तथा स्वरोजगार उन्मुख उद्यमशीलतामा बढी जोड दिनुका साथै अर्थव्यवस्थामा सरकारको नियमनकारी भूमिका खेल्नु जरुरी छ । सार्वजनिक निजी साझेदारीमा युवाहरुको सहभागितामा जोड दिइनु पर्दछ । राज्यबाट स्वरोगजारका लागि प्रदान गरिने अनुदान, प्रशिक्षण, तालिम लगायत सीप विकासका कार्यक्रममा एकरुपता ल्याई एकीकृत ढङ्गले कुनै एक निकाय मार्फत मात्र प्रदान गर्ने व्यवस्था गरिनुपर्दछ । राज्यबाट बेराजगारभत्ता भन्दा रोजगार सिर्जना र स्वरोजगारका लागि सहयोग गरिनुपर्छ । नेपालमा रहेका सम्भाव्य खानी उत्खनन्, जडीबुटी उत्पादन एवम् प्रशोधन, विद्युत उत्पादन, पर्यटन प्रवद्र्धन र कृषि क्षेत्रमा लगानी गर्नु आवश्यक छ । नेपाली श्रम बजारमा नेपालकै श्रमको उपयोग गराउन सक्नुपर्छ । 


स्थानीय स्तरमा युवाक्लबहरु स्थापना गरी खेलकुद, सांस्कृतिक हस्तान्तरण, सामाजिक विकासका लागि युवाहरुलाई क्रियाशील बनाउनु पर्छ । स्थानीयस्तरमा युवाहरुलाई सामूहीकरण गरी साझा रुपमा कृषि, पर्यटन, व्यापार, व्यवसाय लगायतका सामाजिक कार्यमा सहभागिता बढाउनु पर्छ । सरकारद्वारा पर्यटकीय क्षेत्र, कृषि क्षेत्र, औद्योगिक क्षेत्रका रुपमा क्षेत्र र स्थानहरु निर्धारण गरी युवाको सक्रियता बढाउनु आवश्यक छ । युवाको सहभागिता र क्रियाशीलताका लागि अब आउने वर्ष राष्ट्रिय युवा वर्ष मनाउनु पर्छ । 

अन्त्यमा सामाजिक क्षेत्रमा क्रियाशील युवालाई प्रोत्साहित गरी उनीहरुको क्षमतालाई अभिवृद्धि गर्नु पर्छ । विभेदरहित समाजको निर्माण गरी  युवाहरुको सबै क्षेत्रमा सम्मानजनक सहभागिता, राज्यद्वार रोजगार सिर्जना, स्वरोजगारका लागि आवश्यक सहयोग, संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड दिनु पर्छ । राजनीतिक क्षेत्रमा युवा विचारहरुलाई प्राथमिकता दिई नीति निर्माण प्रक्रियामा समेत समावेश गरिएमा साँच्चिकै युवालाई न्याय हुने देखिन्छ । 

आलिताल–४, डडेल्धुरा  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप