आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल भूकम्पका दृष्टिले उच्च जोखिममा

बिहीबार, ३० साउन २०७६, १६ : १५
बिहीबार, ३० साउन २०७६

काठमाडौं– विज्ञहरुले भूकम्पको दृष्टिले मुलुक टाईम बममाथि रहेको भन्दै समयमै आवश्यक पूर्व तयारी गर्न सरकारलाई सुझाएका छन् । बिहीबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यशालामा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

भूकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११ औं स्थानमा रहेको जानकारी हुँदा हुँदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारीलाई बेवास्ता गरिएको भन्दै विज्ञहरुले  तत्काल पूर्व तयारी थाल्न सरकारलाई सचेत गराएका हुन् । विपद् व्यवस्थापन विज्ञ डाक्टर गंगालाल तुलाधरले भूइँचालोको दृष्टिकोणबाट नेपाल टाईम बममाथि रहेको भन्दै कुनै पनि बेला आइपर्न सक्ने विपद्को पूर्व तयारी सुरु गर्न ढिलाई गर्न नहुने बताए । 

नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाईएका संरचना, इन्जिनियरिङ अध्ययन विनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तार लगायतले बाढी पहिरो जस्तो विपद निम्तने गरेको भन्दै उनले सुरक्षित बसोबासको प्रबन्ध मिलाउनेतर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले विपदपछि खोज र उद्धारलाई भन्दा राहत वितरणलाई प्राथमिकता दिने गरिएको र तात्कालिक आवश्यकताका सूचीअनुसार राहत वितरण हुन नसकेको गुनासो गरे । सरोकारवाला तथा सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा तत्कालको राहत चाउचाउ र चिउरामा सिमित हुने गरेको टिप्पणी पनि उनले गरे ।

विपद्का बेला मानविय उद्धार पहिलो प्राथमिकता भएपनि त्यसो हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानविय संवेदनशीलता पनि खतरामा परेको टिप्पणी उनले गरे । उनले विपद्को समयमा उद्धार गर्न छोडेर सेल्फी लिनेहरुको भीड लाग्नु दुःखद भएको भन्दै पहिलो उद्धारकर्ताको रुपमा सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भने, ‘बस पल्टिएको छ । मान्छे मरिरहेका छन् । छटपटाईरहेका छन् । त्यो स्थानमा पुलिस, एपिएफ पुगेका छन् । सबैले मान्छेहरु तानेर ल्याइरहेका छन् । बाँचेकाहरुले टक्क सेल्फी खिचेर हेरेरहका छन् । ऊ पनि पहिलो उद्धारकर्ता हुनुपर्ने हो ।

एक सेकेण्ड मात्रै समय दिँदा विपदमा परेको मान्छे मृत्युबाट बच्न सक्छ । यो कस्तो कल्चर सुरु भयो ? १२ बर्ष पछिको महोत्सव जस्तो लाजै लाग्ने प्रकारको ।’ कार्यक्रमका सहभागीले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना र पर्याप्त लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप