सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभामा महिलाका आवाज

सोमबार, ०९ भदौ २०७६, २१ : २६
सोमबार, ०९ भदौ २०७६

 सर्खेत – कर्णाली प्रदेशका महिला सदस्यले प्रदेशलाई महिलामैत्री बनाउनका लागि महिलाका सवाललाई जोड दिने गरेको बताएका छन् । बैठकमा शून्य र विशेष समय लिएर कर्णालीका महिलाका सवालमा आवाज उठाएका उनीहरुको भनाइ छ । 

क्रियाशील पत्रकार महिलाले आयोजना गरेको कर्णालीका महिला सदस्यले सभामा उठाएका सवाल विषयक सन्डे क्लबमा उपसभामुख पुष्पा घर्तीले अधिकांश महिला सदस्यहरुले हरेक बैठकमा महिलाका सवाल उठाएको बताइन् ।

महिला हिंसाका विभिन्न विषयलाई सभामा उठाउने गरेका उनको भनाइ थियो । ‘हरेक बैठकमा महिलाका मुद्दाहरु उठान भएका छन्’, उनले भनिन् ,‘महिलाले भोग्नुपरेका पीडा र समाधान गर्नुपर्ने विषयलाई पनि बैठकमा उठाइने गरिएको छ ।’

त्यसैगरी महिलामैत्री प्रदेशसभा बनाउनका लागि सभापति शब्द हटाएर अध्यक्षलाई प्रयोग गर्ने गरी अभ्यास भएको उपसभामुख घर्तीले बताइन् । 

प्रदेससभा सदस्य सीता नेपालीले महिलाका विषयमा महिलाले नै सवाल उठाउनुपर्ने अवस्था रहेको बताइन् । महिलाका सवाललाई पुरुषले चासोका साथ नउठाउने प्रवृत्ति भएकाले यसको अन्त्य गरिनुपर्ने धारणा राखिन् ।

 सभामा महिला सदस्यले जति नै महत्वपूर्ण सवाल उठाए पनि ती विषयलाई महत्वका साथ प्रकाशन र प्रसारण नभएको उनको भनाइ छ । महिला सदस्यहरु समानुपातिकबाट आएको हुनाले प्रत्यक्ष र समानुपातिकबाट आएका सदस्यबीच विभेदपूर्ण व्यवहार भएको उनको बुझाइ छ । 

‘हाम्रा निर्वाचन क्षेत्रमा बजेट बाँडफाँटमा विभेद गरिएको छ’, नेपालीले भनिन् , ‘प्रत्यक्ष र समानुपातिक सदस्यको निर्वाचन क्षेत्रमा हेर्ने हो भने बजेट बाँडफाँटमा असन्तुलन छ ।’ यही विभेदपूर्ण व्यवहारलाई पनि बैठकमा उठाएको उनको भनाइ थियो ।

प्रदेशसभाले बनाउने विभिन्न विधेयकमा संशोधन हाल्नाका साथै महिलाको दृष्टिकोणले अध्ययन गर्ने गरेको नेपालीले बताइन् । सभामा महिला हिंसाका विषयदेखि विकास निर्माणका विषयहरु उठाउने गरिएको सांसद उनले बताइन् । 

कार्यक्रममा सुर्खेतस्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप