आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो निवेदन बोकेर निर्वाचन आयोग पुगे राणा, संस्थापन पक्ष रुष्ट

आइतबार, २९ साउन २०७४, १५ : ३०
आइतबार, २९ साउन २०७४

काठमाडौं– राप्रपा विभाजन गरेर नयाँ दल राप्रपा (प्रजातान्त्रिक)को मान्यता पाउन संघर्ष गर्दै आएका पशुपति शमशेर राणाले केन्द्रीय सदस्य र सांसद सनाखत  गराउने समय १० दिन थप्न माग गर्दै निर्वाचन आयोगमा  निवेदन दिएका छन् ।  


निर्वाचन आयोगले आज बिहान १० बजेदेखि ५ बजेभित्र सांसद तथा केन्द्रीय सदस्यलाई सक्कल नागरिकतासहित उपस्थित गराएर ४० प्रतिशत देखाउन  शुक्रबार राप्रपा  प्रजातान्त्रिकको नाममा पत्र लेखेको थियो । तर, राणाले पत्र आजमात्रै आफूले पाएको र निर्वाचन आयोगमै  सबैलाई उपस्थित गराएर सनाखत गराउनै पर्ने भए समय लाग्ने हुँदा १० दिनको समयसीमा थप गर्न माग गर्दै आजै निर्वाचन आयोगमा निवेदन दिएका हुन् । 


राणाको पत्रमा यसअघि नै केन्द्रीय सदस्य र सांसदले सनाखत गराइसकेकाले पुनः सनाखत गराइरहनु अव्यवहारिक हुने पनि दाबी गरिएको छ । 
राणाले निर्वाचन आयोगमा बुझाएको पत्रमा यसअघि नै आयोगको रोहबरमा ६१ जना केन्द्रीय सदस्यकोसनाखत भइसकेको र विदेशमा रहेका ३ जनाको पत्रसहित जम्मा ६४ जना केन्द्रीय सदस्यको दल दर्ता प्रयोजनका लागि सहमतिपत्र पेश भइसकेकाले त्यसैलाई आधिकारिकता प्रदान गरी दल दर्ता गरिनुपर्ने माग गरिएको छ । 


 सो संख्या  दल दर्तासम्बन्धी ऐनको  ३३(२) ले तोकेको ४० प्रतिशत भन्दा बढी भएकाले सोहि सनाखतलाई वैधानिक सनाखत कायम गरी आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय समेतलाई ध्यानमा राखी प्रक्रिया अगाडी बढाइनुपर्ने राणाको जिकिर छ । पत्रमा पुनः सनाखत गराउनु अव्यवहारिक हुने जिकिर गर्दै भनिएको छ, ‘तँहा आयोगबाट निर्धारण भएको १५६ केन्द्रीय सदस्य मध्ये यसअघि सनाखत भएका बाहेकका थप केन्द्रीय सदस्य र सांसदहरु सनाखत प्रयोजनको लागि इच्छुक भएमा निजहरुलाई तँहा आयोगमा उपस्थित गराउन केही समस्य लाग्ने भएको हुनाले सो प्रयोजनका लागि १० दिनको समय प्रदान गरी दल दर्ताको प्रक्रिया अगाडि बढाइ पाउन अनुरोध छ ।’


संस्थापन रुष्ट
राणाले आफ्नो पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद रहेको दाबीसहित  गत साउन २२ गते  निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर,  राणा आयोग पुगेसँगै  राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन आयोगमा राणाले बुझाएको अधिकांश हस्ताक्षर नक्कली रहेको भन्दै  ४० प्रतिशत पुग्न नसक्ने दाबी गरेका थिए । 


 संस्थापनले राणाको पक्षमा ४० प्रतिशत नरहेको  र राणाले ४० प्रतिशत पुग्ने दाबी गरिरहेकै बेला आयोगले शुक्रबार आजका लागि सनाखत गर्न राणा समूहलाई पत्र काटेको थियो । तर, राणा समूह सनाखत गराउनुको साटो पुनः समय थप्न माग गर्दै  निर्वाचन आयोगमा पुग्नु र आयोगले पनि निवेदन स्वीकार गरेपछि राप्रपा रुष्ट बनेका छ । 


राप्रपा प्रवक्ता सुशील कुमार श्रेष्ठले  आफैंले मिति तोकेर बोलाउने र  फेरि समय थप्ने पत्र स्वीकार गर्नुको संवैधानिक निकायको गरिमामाथि नै प्रश्न चिन्ह खडा भएको रातोपाटीलाई बताए ।  उनले विधि र प्रक्रिया अनुसार चल्ने निकायले राणाको पत्र स्वीकार गरेर गल्ती गरेको भन्दै उनले राप्रपाले कानुनी उपचार खोज्ने चेतावनी समेत दिए ।  


यस्तै राप्रपा सहायक प्रवक्ता मोहन श्रेष्ठले आफूहरुको चाहना  आजै आयोगले विवाद टुंग्याइदिओस् भन्ने रहेको भएपनि आयोगले समय थप्न खोजेर आफूहरु माथि अन्याय गरेको दाबी गरे । 


राप्रपा संस्थापनले  आफ्नो पक्षमा  ४० प्रतिशत कुनै पनि हालतमा नपुग्ने देखेर राणाले समय थप गर्न माग गर्दै निवेदन दिएको आरोप लगाएको छ । तर, जति समय थपेपछि ४० प्रतिशत भने पुग्नै नसक्ने संस्थापनको जिकिर छ । ‘१० दिन त के राणाले १० महिना समय थप्न माग गरेपनि ४० प्रतिशत पुर्याउन सक्दैनन’, राप्रपा एक प्रभावशाली नेताले भने, ‘तर  आयोगले नियत के हो भन्ने चाहिँ हाम्रो प्रश्न हो । समय तोकिसकेपछि फेरि थपिरहनुको औचित्य रहन्नँ ।’ राप्रपाले अाजै सनाखत नगरिनु आयोगको गम्भीर भूल भएको दाबी समेत गरेको छ । 


राणा समूहको दाबीः ५१ प्रतिशत पुर्याउछौं !
यता राणा समूहले भने पत्र आजमात्रै प्राप्त भएको र केहि  केन्द्रीय सदस्य र सांसद  राजधानीमा नहुँदा समय थप्न माग गर्दै निवेदन दिएको  दाबी गरेको छ । 
राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले रातोपाटीसँग भने, ‘ हामीले पहिले नै  आयोगकै रोहबरमा केन्द्रीय सदस्य र सांसदको सनाखत गराइसकेका छौं ।  सनाखत गर्नुपर्ने केहि  सांसद र केन्द्रीय सदस्य विदेश र जिल्लामा भएकाले १० दिनको समय थप्न माग गरेका छौं ।’


उनले आगोगलाई निवेदन दिएको भएपनि कति दिन थपिएको भन्नेबारे आयोगबाट जानकारी आइनसकेको बताए ।  यद्यपी आयोगले ४ दिनको समय थप्ने राणालाई आश्वासन दिएको स्रोतले बताएको छ । 


 तपाईँको ४० प्रतिशत नपुग्ने भएपछि समय थप्न माग गर्दै आयोगमा निवेदन दिएको हो ? भन्ने प्रश्नमा उनले ‘४० प्रतिशत  यसअघि नै पुगिसकेको भन्दै  अब ५१ तिर लम्किएको दाबी गरे । 

पाण्डेले ४० प्रतिशत पुगेको दाबी गरेपनि राणा पक्षमा रहेका भनिएका दीलविकासराज भण्डारी, प्रह्लाद प्रसाद शाह, लीला श्रेष्ठ भीमसेन गुरुङ, सविना सिंहलगायतले संस्थापनमै रहेका बताएका छन् । 


यस्तै २२ गते नै  आयोगमा हस्ताक्षर बुझाउने मध्ये  आनन्दी पन्त, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ, रमेशकुमार लामा, गीता सिंह धानी महरा, बिराज विष्ट र बविना मोक्तान पनि केन्द्रीय सदस्य नरहेको  संस्थापन निकट एक नेताले बताए । 


निर्वाचन आयोगले राप्रपाको केन्द्रीय  कार्यसमिति १५६ सदस्यीय निर्धारण गरेको छ । जसअनुसार राणाले ४० प्रतिशत पुर्याउन आयोगमा ६३ केन्द्रीय सदस्यको हस्ताक्षर जुटाउन पर्नेछ ।  जुन संख्या पुर्याउन राणाले कुनै पनि हालतमा नसकन्ने सहायक महामन्त्री प्रवक्ता राजाराम बर्तौलालो दाबी गरे । 


राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ को उपदफा (२) अनुसार नयाँ दलले मान्यता पाउन निर्वाचन आयोगमा ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत नै सांसदको हस्ताक्षर बुझाउनुपर्ने हुन्छ ।

यसैबीच राप्रपाले आयोगमा राणा समूहले दिएको निवेदन खारेज गर्न माग गर्दै अाजै अर्काे  निवेदन दिएको छ ।  निवेदन यस्तो छः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप