काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, भ्रातृ संस्थाबारे छलफल हुने
काठमाडौँ–असार २२ गतेदेखि जारी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार पुनः बस्दै छ । साउन २९ मा स्थगित बैठककै निरन्तरताकै रूपमा पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्न लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा विघटित भ्रातृ संस्थाको पुनर्गठन, नियमावली संशोधन, काँग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन, विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा छलफल हुनेछ ।
भदौ २४ का लागि पूर्व निर्धारित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले बताए ।
यी विषयमा समझदारी जुटाउन सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी पदाधिकारी, वरिष्ठ नेतासहित छलफल गरेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार ठोस सहमति भने हुन सकेको छैन । आज पनि बैठकअघि नै शीर्ष नेताहरुबीच समझदारी जुटाउन अनौपचारिक छलफल हुने ती नेताले बताए । करिब ८ महिनादेखि विघठित नेविसंघको विषय पेचिलो बनेको छ ।
गत माघ २८ गते नेविसंघ अध्यक्ष नैनसिंह महरले पार्टी सभापतिसामू राजीनामा दिएका थिए । महरको राजीनामा पनि १२ औँ महाधिवेशनका लागि तदर्थ समिति ल्याउने प्रयास नभएको होइन ।
तर नेविसंघको नेतृत्वमा आफू निकट विद्यार्थि नेता ल्याउन पार्टीका नेताहरुबीचको होडबाजीले अहिलेसम्म नेविसंघविहीन अवस्थामा छ । हिजोको छलफल पनि यही विषयमा केन्द्रित थियो । तर सहमति भने हुन सकेन ।