आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक विशेष समयः कसले के भने ?

बिहीबार, १२ भदौ २०७६, १५ : १६
बिहीबार, १२ भदौ २०७६

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद शेरबहादुर कुँवर अछाम जिल्लामा चट्याङबाट ४ जनाको मृत्यु भएको र अन्य केही स्थानीय घाईते भएको पशु चौपायको पनि क्षति भएको र स्थानीयहरु आतंकित बनेको भन्दै आतंकबाट जोगाउनका लागि सम्बन्धित क्षेत्रबाट पहल गर्न आग्रह गरे ।

राधेश्याम अधिकारीले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा गोपनियताको सम्बन्धमा कानुनको ठुलो त्रुटी भएको भन्दै यस्तो गल्ती नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए । कार्यवहाकको जिम्मेवारी दिइसकेर पनि प्रधानमन्त्री आफैले सिंगापुरबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गरेकाले कार्यवहाक प्रधानमन्त्री रहेको वा नरहेको भन्ने पनि प्रश्न उठेको भन्दै उनले सरकारबाट त्रुटीपुर्ण काम भएको बताए ।

उनले पछिल्लो समय दलितहरुलाई दुर्रव्यवहार गरिएका घटनाहरु आइरहेको भन्दै कानुन  कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । सांसद वृषेशचन्द्र लाल भूमि सुधार मन्त्रीले भूमि व्यवस्थापन सम्बन्धमा संविधानमा गरिएको व्यवस्था भन्दा भिन्न रुपमा आफ्नो अभिव्यक्ति दिएको भन्दै त्यसबारे थप स्पष्ट पार्न विभागीय मन्त्रीको ध्यानाकर्षण गराए ।

संविधानले भूमिको व्यवस्थापन गर्ने अधिकार प्रदेश व्यवस्थापिकालाई दिएको तर भूमिसुधार मन्त्रीले संघीय सरकारलाई दिएको भनी भनेको भन्दै उनले त्यसबार सदनलाई स्पष्ट पार्न विभागीय मन्त्रीको ध्यानाकर्षण गराए । भूमि सम्बन्धी आठौ संशोधन विधेयकका बारेमा सैद्धान्तिक छलफल हुदा संघीय संसदको व्यवस्थापकिय अधिकार संविधानको धारा १ सय ९ अन्तर्गत ५, ७ र ९ अनुसूचीमा मात्रै पर्दछ भनेर आफुले धारणा राखेको स्मरण गराउँदै उनले संविधानले गरेको व्यवस्था विपरित सरकार गएको भन्दै आपत्ति जनाए ।

अनुसूची ५ को २९ र अनुसूची ७ को २४ ले संघीय सरकारलाई भू–उपयोग नीति र भूमि नीति सम्बन्धी कानूनी व्यवस्था गर्न मात्रै कानुनी अधिकार छ भनेको र अनुसूची ६ अनुसार भूमि व्यवस्थापन सम्बन्धी राज्यशक्तिको बाँडफाँड गर्दा संविधानले प्रदेशले लाई दिएकाले प्रदेश व्यवस्थापिकालाई मात्रै भूमि सम्बन्धी कानुन बनाउने अधिकार रहेको दाबी उनले गरे । विभागिय मन्त्रीले एउटा धारा र एउटा अनुसूची पढेर मात्रै संविधानलाई बुझ्न नसकिने भन्दै अन्य धारामा बाध्यकारी व्यवस्था छ भनेर संसदलाई छल्ने काम गरेको टिप्पणी उनले गरे ।

सांसद अनिता देवकोटाले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएर पनि प्रधानमन्त्रीले सिंगापुरबाटै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरेर सरकारले शक्ति र पदको दुरुपयोग गरेको टिप्पणी गरिन् ।

उनले सत्तासिन पार्टीका कार्यकर्ताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार कार्यस्थलमै गएर हातपात गर्ने काम गरेको भन्दै घटनाप्रति घोर भत्र्सना गर्दै खेद प्रकट गरिन् ।

सांसद रामनारायण विडारीले सिप नभएका विरोधीहरु इख नभएको सरकारका कारणले यो देश बिग्रेर जाने हो कि भन्ने चिन्ता लाग्न थालेको बताए । उनले उल्टो राजनीति गर्ने, व्यवस्थाकै प्रतिपक्षी बन्ने, सत्तामात्रैको विपक्षी, समग्र संविधानका विरोधी र आंशिक संविधानका विरोधीहरुले वर्तमान सरकारमार्फत गणतन्त्र र संघीयताको विरुद्धमा प्रहार गर्दे आएको टिप्पणी गरे ।  भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्दा नविनतम प्रविधिप्रति गर्व गर्नुपर्नेमा सडकदेखि सदनसम्म विरोध गर्ने कम भएको भन्दै उनले गोपनियताको भूतको छायाबाट किन तर्सेको भनी प्रश्न गरे ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले समितिको बार्षिक प्रतिवदेन पेश गरिन् । यसअघि शून्य समयमा बोल्दै सांसद उदया शर्मा पौडेलले मुलुकभर डेंगु  रोगका बिरामीहरु १५ सय ३७ जना पुगेको भन्दै डेंगु रोग नियन्त्रणका लागि सरोकारवाला पक्षले तत्काल आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

त्यसैगरी सांसद खिमकुमार विश्वकर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि रहेको तिनकुनेको जग्गामा अत्याधुनिक पार्क निर्माण गर्ने भनिएपनि काम अघि बढ्न नसकेको भन्दै त्यसबारे जानकारी माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप