गौहत्या गरिएको भन्दै काँग्रेसको आपत्ति
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित कटकुवा जंगलमा २३ गाई मृत भेटिएको विषयमा छानविन गर्न माग गरेको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँणले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरिन नदिन सरकारसँग जोडदार माग गरेका हुन् ।
‘सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका अन्तर्गत कटकुवाको वनजंगल क्षेत्रमा करिब दुई दर्जन गाईहरु मृत र सयौंको संख्यामा घाइते अवस्थामा भेटिएको सामाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गाई हाम्रो राष्ट्रिय जनवार मात्र नभएर धार्मिक दृष्टिकोणले पनि गाईको छुट्टै महत्व रहँदै आएको छ,’ खाँणदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु जघन्य अपराध भएको काँग्रेस संसदीयको ठहर छ । प्रमुख सचेतक खाँणले भने, ‘यस्ता किसिमका घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय हो भन्दै गौहत्या कार्यप्रति काँग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछ ।’