सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली चलचित्रको तीन दिने प्राज्ञिक कन्फरेन्स हुने

आइतबार, १५ भदौ २०७६, १८ : ५२
आइतबार, १५ भदौ २०७६

काठमाडौं– मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा यही भदौं २६, २७ र २८ गते तीन दिने नेपाली चलचित्रको प्राज्ञिक कन्फरेन्स आयोजना हुने भएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कन्फरेन्समा चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्र माथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल लगायतका कार्यक्रम हुनेछन् । 

त्यस अवसरमा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल हुने आयोजकले एक बिज्ञप्ती मार्फत जनाएको छ । 

विज्ञप्तिका अनुसार सो अवसरमा बरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुति, तथा डा.हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्वका विषयमा ‘किनोट स्पिच’ पनि समेटिने छ ।

नेपाल पुनर्विमा कम्पनी लिमिटेडको सहयोगमा आयोजना हुने यो कन्फ्रेन्स नेपाल इन्डिपेन्डेन्ट फिल्ममेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ नेपाल, अस्कर इन्टरनेशनल कलेज आदिको सहआयोजना रहने छ ।

यो कन्फरेन्सले नेपालको बौद्धिक क्षेत्रका व्यक्तिहरुलाई नेपाली चलचित्रका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र चलचित्रलाई  बौद्धिक क्षेत्रको चासोभित्र पार्न मद्दत पुग्नेछ भन्ने विश्वास आयोजकले दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप