आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छ : युवराज ज्ञवाली

शनिबार, २१ भदौ २०७६, २१ : ०१
शनिबार, २१ भदौ २०७६

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरु भैसकेको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी अहिले सत्तामा छ । वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन् । सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महत्वपूर्ण छ । त्यसैले एक व्यक्ति एक प्रमुख जिम्मेवारी दिनुपर्छ ।

उनले नेकपाभित्र अब चीन र रुसजस्तो एकै व्यक्तिले पार्टी र सरकार चलाउन नहुने धारणा राखे । उनले भने,‘हामी चीन र रुसलेजस्तो चलाउन सक्दैनौं । सरकार चलाउनको लागि प्रधानमन्त्रीको अत्यन्तै धेरै व्यस्तता हुन्छ । त्यसैले अब प्रधानमन्त्री सरकारमा मात्रै केन्द्रित हुनुपर्छ । पार्टीको जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ । उहाँलाई सरकार चलाउनमा पार्टीभित्रबाट भरपुर सहयोग र समर्थन गर्नुपर्छ ।’

पार्टीको महाधिवेशन नहुञ्जेलसम्म नेकपाभित्र दुई अध्यक्ष बाध्यता भएको उनको भनाई छ । ‘केन्द्र, प्रदेश र स्थानीय तहमा पनि एक व्यक्ति, एक प्रमुख जिम्मेवारी नियमलाई लागु गर्नुपर्छ ।’उनले भने ।

ज्ञवालीले अब आउने स्थायी समिति र केन्द्रिय समितिको बैठकमा ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्थाबारे निर्णायक छलफल हुने सुनाए । उनले थपे,‘यस विषयमा सचिवालय बैठकको प्रस्ताव हेर्न बाँकी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप