आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डो चम्किएको खेलमा पोर्चुगल विजयी

शनिबार, २५ असोज २०७६, ०९ : २७
शनिबार, २५ असोज २०७६

एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा पोर्चुगलले लक्जम्बर्गमाथि प्रभावशाली जित निकालेको छ । युरो कप छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा पोर्चुगलले लक्जम्बर्गलाई ३–० गोलले हरायो । 

घरेलु मैदानमा पोर्चुगललाई जिताउन रोनाल्डो, बर्नाडो सिल्भा र गोन्कालो गुइडेजले गोल गरे । १६औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए ।

लक्जम्बर्गमाथि लगातार गोल गर्ने अवसर बनाएको पोर्चुगलले ६५औं मिनेटमा दोस्रो गोल गरेको थियो । रोनाल्डोले पोस्ट छेउबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । 

राष्ट्रिय टोलीमा रोनाल्डोको यो ९४औं गोल हो । ८९औं मिनेटमा गोन्कालोले गोल गर्दै पोर्चुगलको जित सुनिश्चित पारेका थिए ।

यस जितसँगै समूह ‘बी’ मा रहेको पोर्चुगलले युरो कपमा छनोट सम्भावना बलियो बनाएको छ । पाँच खेलबाट ११ अंक बनाएको पोर्चुगल समूहको दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको युक्रेन १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

शुक्रबार रातिनै भएको खेलमा युक्रेनले लिथुनियालाई २–० गोलले पराजित गरेको छ । युक्रेनको जितमा दुवै गोल रुस्लान मालिनोभस्काईले गरे । 

रुस्लानले २९औं र ५८औं मिनेटमा गोल गरेका थिए । यस समूहमा सात अंक बनाएको सर्विया तेस्रो र चार अंक बनाएको लक्जम्बर्ग चौथो स्थानमा छ । एक अंकमा सिमित लिथुनिया अन्तिममा छ ।

यसैगरी समूह ‘ए’ को खेलमा इङ्ल्यान्डलाई चेक रिपब्लिकको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा चेकले इङ्ल्यान्डलाई २–१ गोलले हरायो । युरो कप छनोट खेलमा इङ्ल्यान्ड १० बर्षपछि पहिलो पटक पराजित भएको हो ।

यस हारसँगै इङ्ल्यान्डको ४३ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इङ्ल्यान्डले सुरुवाती अग्रता लिएरपनि हार खेपेको थियो । पाँचौ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए । 

तर, इङ्ल्यान्डको अग्रता लामो समय टिकेन । नवौं मिनेटमा चेकमा ज्याकुव ब्राबेकले बराबरी गोल फर्काए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा चेकले ८५औं मिनेटमा निर्णायक गोल गरेको थियो । चेकका लागि जेडेनेक ओन्ड्रासेकले निर्णायक गोल गरे । 

समूह ‘ए’ कै अर्को खेलमा मोन्टेनेग्रो र बुल्गेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस समूहमा पहिलो हार खेपे पनि इङ्ल्यान्ड शीर्ष स्थानमा यथावत छ । इङ्ल्यान्डले पाँच खेलबाट १२ अंक बनाएको छ । एक खेल बढी खेलेको चेक १२ अंक सहित दोस्रो स्थानमा छ । 

आठ अंक बनाएको कोसोभो तेस्रो, तीन तीन अंक बनाएको मोन्टेनेग्रो र बुल्गेरिया क्रमशः चौथो र पाँचौं स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप