सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अझै भएनन् नेकपाका उम्मेदवार सिफारिस

बिहीबार, ०७ कात्तिक २०७६, १२ : ३५
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यही कात्तिक १० गतेभित्र प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएपनि अहिलेसम्म एउटै जिल्ला तथा प्रदेशले पनि उम्मेदवार सिफारिस गरेका छैनन् । 

उम्मेदवार सिफारिसका लागि सचिवालयले दिएको समयसीमा सकिन अव ३ दिनमात्र बाँकी छ । 

गत असोज २९ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला तथा प्रदेश कमिटीहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि सम्बन्धित प्रदेश र  जिल्ला कमिटीलाई तीन–तीन जनाको नाम केन्द्रमा सिफारिस गर्न निर्देशन दिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले समय अझै बाँकी रहेकाले १० गतेभित्र सिफारिस आइपुग्ने बताए । उनले जिल्ला तथा प्रदेश कमिटिबाट उम्मेदवार सिफारिस भएर आएपछि केन्द्रले छलफल गरेर अनुमोदन गर्ने बताए । 

नेकपाले स्थानीय तहका उम्मेदवार छनोट गर्न भने प्रदेश कमिटीलाई नै अधिकार दिएको छ ।  

मंसिर १४ गते प्रतिनिधि सभा सदस्य–१ र प्रदेश सभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा उम्मेदवार मनोनयनपत्र कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता गर्नुपर्ने छ ।

अहिलेसम्म रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले कास्की–२ प्रतिनिधिसभा सिटका लागि हुने निर्वाचनमा उम्मेदवार चयन गर्नुबाहेक अन्य प्रमुख दलले अझै उम्मेदवार चयन गर्न सकेका छैनन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतले उम्मेदवार चयन गर्न बाँकी नै छ । 

यसैबीच निर्वाचन आयोगले उपनिर्वाचनको तयारीलाई तीव्रता दिँदै उम्मेदवार मनोनयनपत्रको नमूना सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार मनोनयन गर्ने औपचारिक पत्रको ढाँचा बिहीबार आयोगले सार्वजनिक गरेको हो ।

उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ कास्की–२, प्रदेशसभातर्फ भक्तपुर–१ (क), बाग्लुङ–२(ख) र दाङ–३(ख)मा उपनिर्वाचन हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप