सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कास्की - २ उपनिर्वाचन : यस्तो हुँदैछ चुनावी तयारी

शनिबार, १६ कात्तिक २०७६, १९ : ५३
शनिबार, १६ कात्तिक २०७६

पोखरा – आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि कास्कीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा तयारी तीव्र पारिँदै छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको कास्की - २ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि कास्की - २ मा ३२ मतदानस्थल र ८२ वटा मतदान केन्द्र तयार पारिने कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । 

कास्की २ मा पोखरा महानगरपालिकाका ११ वडा रहेकोमा एउटा वडामा २ वा सोभन्दा बढी मतदान केन्द्र पर्नेे उनले सुनाए । चुनाव सम्पन्न गराउनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, मतदान केन्द्रमा खटिने कर्मचारीको नामावली, मतदाता शिक्षा, स्वयमसेवी छनोट र तालिम दिने र निर्वाचन सामग्री तयार पार्ने लगायतका काम भइ रहेको उनले जानकारी दिए । उपनिर्वाचनमा सुरक्षाका लागि म्यादी प्रहरी भर्ती गर्न नपर्ने उनले खुलाए । 

मत बदर हुने सम्भावना कति ?

अघिल्लो निर्वाचनमा कास्की- २ मा खसेको ४९ हजार ९ सय १४ मत मध्ये १ हजार ४ सय ६४ मत बदर भएको थियो । जम्मा मतदाता भने ७० हजार ६ सय ५१ थिए । जिल्ला निर्वाचन अधिकारी सुवेदीका अनुसार अघिल्लो निर्वाचनमा धेरै पार्टीले उमेदवारी दिएको र मतपत्र पनि ठुलो आकारको भएकाले मत बदर भएका थिए ।

‘उमेदवार संख्या पनि बढी थियो । धेरै उमेदवारबाट छनोट गर्नुपर्ने, समानुपातिक मतदान पनि गर्नुपर्ने, स्थानीय तहमा ७ उमेदवारलाई मतदान गर्न पर्ने,’ उनले भने, ‘उमेदवार पनि धेरै हुनुहुन्थ्यो । मत पत्र पनि धेरै लामो, धेरै जना मतदाता अलमलिनु भयो, त्यसैले पनि मत बदर भए ।’
यो उपनिर्वाचनमा भने निकै कम संख्यामा मत बदर हुने उनको अनुमान छ । मत बदर काम गर्न निर्वाचन आयोग मतदाता शिक्षा सुरु गर्ने तयारीमा रहेको उनले सुनाए ।

‘मत पत्र पनि छोटो, निवार्चन चिह्न पनि थोरै नै छन्,’ उनले भने, ‘मतदातालाई मतदान शिक्षा पनि दिने तयारीमा जुटि रहेका छौं । त्यसकारण पनि मत बदर संख्यामा कमि आउने निर्वाचन आयोगले अपेक्षा लिएको छ ।’ 
यसअघि निर्वाचन कार्यालय कास्कीले निकालेको तथ्यांकमा कास्की २ मा १६ सय १० मतदाता बढेको बताइए पनि पछिल्लो तथ्यांक अनुसार १२ सय २० जना मात्रै मतदाता बढेका छन् । 

यसरी, निर्वाचन कार्यालय कास्कीको पछिल्लो तथ्यांक अनुसार कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । ‘मतदाता नामवली संकलनको पनि एउटा प्रक्रिया हुन्छ । संकलन गर्ने, अध्यावधिक गर्ने, मृत्यु भएका मतदाताको नाम हटाइन्छ,’ उनले भने, ‘त्यसकारण मतदाता घटबढ भइ रहन्छन् ।’ एउटा निर्वाचन केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीसहित १६ जना कर्मचारी खटिने उनले सुनाए । 

०७४ सालमा भएको आम निर्वाचनमा कास्की २ बाट बाम गठबन्धनका तर्पबाट स्वर्गीय अधिकारीले  काँग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय मतान्तरले पराजित गरेका थिए । जसमा स्वर्गीय अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । 

रवीन्द्र मिश्र नेतृत्वको साझाका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएर कास्कीमा तस्रो ठुलो पार्टी बनेको थियो । १ स्वतन्त्रसहित १३ जनाले उमेदवारी थियो । जसमा ११ उमेदवारको जमानत जफत भएकोे थियो । 

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी सबैभन्दा पहिला उमेदवार घोषणा गरेर चुनावी मैदानमा उत्रे पनि अरु साना पार्टीले भने उमेदवारीको छनोट गरेको पाइदैैन ।  समाजवादी पार्टीले उम्मेदवारको नाम केन्द्रमा पठाए पनि उमेदवार टुंगो लगेको छैन । काँग्रेसले १६ जनाको नाम केन्द्रमा पठाएको छ भने नेकपाले ३ जनाको नाम पठाएको छ ।

विद्यार्थी राजनीतिबाट उदाएका रवीन्द्र लोकप्रिय नेताका रुपमा  चिनिन्थे । नेकपा र काँग्रेस आइतबार उमेदवारको टुंगो लगाउने तयारीमा छन् ।  उपनिर्वाचन मध्येमा प्रतिनिधि सभा सदस्यको लागि कास्की २ मात्रै रिक्त रहेकाले साना, ठुला पार्टीले कास्की २ को उपनिर्वाचनलाई विशेष महत्वका रुपमा लिएका छन् । 

कास्की - २ को उपनिर्वाचन निर्वाचन मात्र नभई सत्तापक्षको कामकारबाहीको जाँच्न र विपक्षासँग जनता कति आशावादी भन्ने कुराको मूल्यांकनका रुपमा लिइएको पाइन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप