सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रियंका गान्धीको फोन पनि ह्याक भएको थियो, सरकार र बीजेपीमाथि काँग्रेसको आरोप

सोमबार, १८ कात्तिक २०७६, १० : १५
सोमबार, १८ कात्तिक २०७६

भारतीय काँग्रेस पार्टीले महासचिव प्रियंका गान्धीको फोन पनि ह्याक भएको दाबी गर्दै केन्द्र सरकारमाथि प्रश्न उठाएको छ । आइतबार काँग्रेसले पत्रकार सम्मेलन गर्दै सो दाबी गरेको हो ।

जुन समय ह्वाट्सएपले ह्याक भएका फोनहरुलाई म्यासेज पठाएको थियो, उक्त समय पार्टी महासचिव प्रियंका गान्धी वाड्रालाई पनि ह्वाट्सएपबाट त्यस्तै म्यासेज आएको थियो ।

हालै फेसबुकको स्वामित्वमा रहेको म्यासेजिङ एपले इजरायलमा बनेको एक स्पाइवेयरले निशाना बनाइएका विश्वभरका १४०० व्यक्तिमा भारतीय पत्रकार र मानवअधिकार कार्यकर्ता रहेको बताएको थियो ।


ह्वाट्सएपले अहिले ‘पेगासस’ नाम गरेको जासुसी सफ्टवेयरले ह्याक गरिएको आशंका भएका फोनहरुमा म्यासेज पठाइरहेको छ । काँग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले यस्तो म्यासेज प्रियंका गान्धीलाई पनि आएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा सुरजेवालाले यस प्रकरणमा सरकार प्रत्यक्षरुपमा सामेल भएको आरोप लगाए । ‘जब ह्वाट्सएपले फोन ह्याक भएका व्यक्तिहरुलाई म्यासेज पठायो, त्यस्तो म्यासेज प्रियंका गान्धी वाड्रालाई पनि आयो,’ उनले भने ।

सुरजेवालाले केन्द्र सरकार र भारतीय जनता पार्टीमाथि जासुसी गरेको आरोप पनि लगाए । उनले भने, ‘मानिसहरु अहिले बीजेपीलाई नयाँ नामले बोलाइरहेका छन्, भारतीय जासुसी पार्टी ।’ केन्द्र सरकारमाथि निशाना साध्दै उनले भने, ‘अबकी बार जासुस सरकार ।’

उनले मोदी सरकारले यस मामिलामा जाँच गरेर सख्त एक्शन लिन पनि माग गरे ।

काँग्रेसले सर्वोच्च अदालतदेखि राज्य सरकारसम्म कोही पनि जासुसीबाट नबचेको दाबी गरेको छ । सुरजेवालाले काँग्रेससँग पेगासस नामको स्पाइवेयरले कुन कुन इन्टरनेट र ब्रोडब्यान्ड नेटवर्कलाई करप्ट गर्यो भन्ने जानकारी रहेको पनि दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप