सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पानी जहाज सञ्चालनका लागि कानुनी अभाव खड्कियो

आइतबार, २४ कात्तिक २०७६, १५ : २३
आइतबार, २४ कात्तिक २०७६

काठमाडौ– सरकारले पानी जहाज कार्यालय स्थापना गरेको ८ महिनामा पनि त्यसका लागि आवश्यक कानुनको मस्यौदा समेत तयार पार्न नसकेको खुलासा भएको छ ।  सरकारले पानी जहाज छिट्टै सञ्चालन गर्ने उद्देश्य लिएपनि त्यसका लागि आवश्यक कानुनको मस्यौदा निर्माणको काम समेत अघि बढाउन नसकेको नेपाल पानी जहाज कार्यालय आफैले  स्वीकार गरेको हो । आवश्यक कानुनी अभावका कारण सो कार्यालयले पानी जहाज रुट पहिचानको कामलाई समेत अघि बढाउन नसकेको कार्यालयका शाखा अधिकृत बल्लभ विष्टले स्वीकार गरे ।

आईतबार  उनले संक्षिप्त कुरा गर्दै एकीकृत पानी जहाज ऐन निर्माणको कामलाई अघि बढाइएको भएपनि त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको पनि जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल फागुन २ गते सो पानी जहाज कार्यालयको स्थापना गरेका थिए । तर पानी जहाज कार्यालय स्थापना भएको यतिधेरै समयसम्म पनि त्यसको कानुनको मस्यौंदा बन्न सकेको छैन ।

शाखा अधिकृत विष्टले भने एकीकृत पानी जहाज ऐनको मस्यांैदा बनाउने कामलाई गत साउनको अन्तिमबाट सुरु गरिएको र केही दिनभित्रै त्यसलाई अन्तिम रुप दिई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशक समितिमा पेश गर्ने योजना रहेको पनि बताए । कार्यालयले सो ऐनको मस्यौंदा बनाउन मल्ल कानुनी परामर्श सेवालाई दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो मस्यौदालाई अन्तिम रुप लिई क्याविनेटमा पेश गरेपछि त्यसलाई संसदमा लगेर कानुन निर्माण गर्न अझै केही समय लाग्नेछ । शाखा अधिकृत विष्टकाअनुसार कानुनको अभावमा जलमार्ग पहिचानको कामले पनि गति लिन सकेको छैन ।

सप्तकोसी, नारायणी र गण्डकी नदीमा पानी जहाज तत्काल सञ्चालन गर्ने सरकारको तयारी छ । शाखा अधिकृत विष्टले अन्य १० वटा आन्तरिक जलमार्गको पनि पहिचान गरिएको जानकारी दिए । सरकारले चालू आर्थिक वर्षभित्र जलमार्ग पहिचान गरी सञ्चालन गर्न आवश्यक बजेटको पनि व्यवस्था गरेको छ । तर कानुनको अभाव हुँदा यस कार्यले गति लिन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप