सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मतपत्र पुग्यो,  सुरक्षाका लागि मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण

मङ्गलबार, १० मङ्सिर २०७६, १८ : २४
मङ्गलबार, १० मङ्सिर २०७६

उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभाको निर्वाचन हुने एक मात्र निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर २ मा निर्वाचनको तयारी पूरा भएको छ । आउँदो मङ्सिर १४ गते हुने निर्वाचनका लागि केन्द्रबाट मतपत्र लगायतका निर्वाचन सामग्री प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए । 

जिल्ला निर्वाचन कार्यालयले मतदान स्थल र मतदान केन्द्रसमेत तय गरेको छ । सो क्षेत्रमा ३२ मतदान स्थल र ८२ केन्द्र तय गरिएको छ । निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको र केही काम बाँकी रहेको सुवेदीले बताए । 

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गर्ने काम सुरु भएको छ । नियुक्ति र तालिमपछि उनीहरुलाई निर्वाचन सामग्री दिएर मतदान स्थलको व्यवस्थापन गर्न खटाउने तयारी गरिएको छ ।  

मतदान स्थल र केन्द्रका लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले ४ सय १० सरकारी कर्मचारी र ३ सय २८ जना स्वंयसेवक खटाउने तयारी गरेको छ । 
तीन तहका मतदान केन्द्र
निर्वाचनको सुरक्षाका दृष्टिले मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी ३ छुट्याइएको छ । समान्य मतदान केन्द्रमा प्रहरी हवल्दारको नेतृत्वमा सुरक्षाकर्मी रहनेछन् । संवेदनशीलमा प्रहरी

सहायक निरीक्षक र अति संवेदनशील निर्वाचन केन्द्रमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । 

मतदान केन्द्रको पहिलो भागमा जनपथ प्रहरी, दोस्रो बाहिरी घेरामा सशस्त्र प्रहरी र आवश्यकता अनुसार तेस्रो घेरामा नेपाली सेना परिचालन गरिँदैछ ।  

कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पोखरा लेखनाथ महानगरपालिकाका वडा नम्बर ४, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ मा उपनिर्वाचन हुँदैछ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ११ मध्ये ७ वडामा नेकपा र ४ वटा वडामा काँग्रेसले जित निकालेको थियो । प्रतिनिधि सभाको निर्वाचनमा भने ८ हजार ५ सय ४६ मतान्तरले स्व. रवीन्द्र अधिकारी विजयी भएका थिए ।

रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि खाली बनेको यो निर्वाचन क्षेत्रमा नेकपाको तर्फबाट उनकी पत्नी विद्या भट्टराई र नेपाली काँग्रेसका तर्फबाट खेमराज पौडेल मुख्य चुनावी प्रतिस्पर्धामा छन् ।

साझा पार्टीले रजनी केसी, समाजवादी पार्टीले इन्जिनियर धर्मराज गुरुङ र राप्रपाले रुमबहादुर भण्डारीलाई चुनावी मैदानमा उतारको छ । यो निर्वाचनमा स्वतन्त्र सहित २१ उम्मेदवारले प्रतिस्पर्धामा गर्दैछन्, जसमा १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

मतदान हुने दिन नजिकिँदै गर्दा दलहरुले चुनावी प्रचारलाई आक्रमक रूपमा अघि बढाएका छन् । राजधानीबाट दलका ठूला नेताहरु गएर चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना उम्मेदवारलाई मत मागिरहेका छन् । गत शनिबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पोखरा पुगेर सम्बोधन गरेका थिए भने नेकपाका तर्फबाट पनि मुख्य नेताहरुले सम्बोधन गरेका छन् । 

यस्तो थियो अघिल्लो चुनाव परिणाम 
२०७४ को मङ्सिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा स्वर्गीय अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । चालिसेको भन्दा अधिकारीले ८ हजार ५ सय ४६ मत बढी ल्याएका थिए ।

सो निर्वाचनमा कूल ४९ हजार ९ सय १४ मत खसेको थियो । कास्कीमा तेस्रो बनेको विवेकशील साझाले ८ सय ४३ मत पाएको थियो । नेकपा मालेले ५ सय ४९, सङ्घीय समाजवादी फोरमले ३ सय ४१, नयाँ शक्तिले २ सय ४१, स्वतन्त्र उम्मेदवार निर्मल खत्रीले १ सय १९ मत ल्याएका थिए ।

यहाँ १ स्वतन्त्रसहित १३ जना उम्मेदवार भए पनि ११ जनाको जमानत जफत भएको थियो । निर्वाचनमा १ हजार ४ सय ६४ मत बदर भएको थियो ।

कास्की २ भित्र ११ वडा छन् । स्थानीय तहको चुनावका आधारमा हेर्दा अधिकांश वडामा नेकपाको वर्चश्व छ । अघिल्लो निर्वाचनमा काँग्रेसको भन्दा बाम गठबन्धनका उम्मेदवारको मत साढे ८ हजार बढी थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप