भारतले ११ वटा साँस्कृतिक सम्पदाको डिजाइन र परियोजना व्यवस्थापन गर्ने
काठमाडौं । नेपालमा भूकम्पबाट प्रभावित ११ वटा साँस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ । भारतीय राजदूतावासले इन्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँगको सहकार्यमा उक्त सेवा दिने भएको हो । सो सम्बन्धि सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख डा. अजयकुमार तथा इन्टाचका सदस्य सचिव डा.सीटी मिश्राले हस्ताक्षर गरे । उक्त कार्यक्रममा भारतीय राजदूत मञ्जिभसिंह पुरीले काठमाडौं, ललितपुर भक्तपुर र सोलुखुम्बुमा रहेका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको बताए ।
साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिकाअनुसार नेपाल साँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेरउक्त संस्थाले काम गर्नेछ ।