सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेकपाको स्थायी कमिटीमा किन खनिए केपी ओलीमाथि ‘पूर्वएमाले’ नेताहरु ?

नेकपाको मार्गदर्शक सिद्धान्त : ‘जनताको बहुदलीय जनवाद’ नै बनाउने कसरत !
बुधबार, ०२ पुस २०७६, १५ : ३४
बुधबार, ०२ पुस २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पूर्वएमाले पक्षधर नेताहरु बढी मात्रामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीमाथि खनिएका छन् ।

 विगत २ वर्षमा सरकार र पार्टीको समेत नेतृत्व गरेका ओलीमाथि सरकार र पार्टी सञ्चालनको शैलीलाई लिएर उनीहरु खनिएका हुन् । 

त्यस्तै पूर्वएमाले पक्षधर नेताले विचारको बहसलाई पनि बैठकमा प्रवेश गराएका छन् । ओली निकट मानिने शङ्कर पोखरेलले पार्टीको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) बनाउनुपर्ने विचारको बहसलाई बैठकमा प्रवेश गराएका हुन् । 

यस्ता प्रश्न र विषय बैठकमा प्रवेश भएसँगै मङ्सिर, पुसको चिसो ठण्डीमा समेत नेताहरु गरमा–गरम बहसमा जुटेपछि धुम्बाराही बैठकलाई नेकपाका ८ लाख पार्टी सदस्य र नेता कार्यकर्ताले विशेष चासोका साथ हेरेका छन् ।

 झण्डै २ वर्षदेखि गतिहीन बनेका नेकपाका नेता कार्यकर्तालाई यो बैठकमा उठेका मुद्दा र गरिने निर्णयले ऊर्जा थप्ने धेरैको विश्वास छ । 

दुई ठूला दल एमाले र माओवादी केन्द्र मिलेर बनेको मुलुककै सबैभन्दा ठूलो पार्टी नेकपा गठनपछि दिशाहीन र गतिहीन अवस्थामा र तदर्थवादी शैलीमा लामो समयसम्म चल्न थालेपछि नेतृत्वको कार्यशैलीप्रति सङ्गठनभित्रै कडा आलोचना भइरहेको थियो । 

जसले गर्दा साङ्गठनिक संरचनाहरुको पूर्ण एकतामा विलम्ब मात्रै भएको थिएन, एकताका बेला कार्यकर्तामा आएको उत्साह, जोस र जाँगर नै कमजोर बन्न पुगेको थियो । 

पार्टी विधान र पद्धतिअनुसार पार्टी नेतृत्व नचलेको तथा सरकारले समेत जनभावनाअनुसार प्रभावकारी काम गर्न नसकेको भनेर टिप्पणी भइरहेका बेला बसेको यो बैठकले विगतका काम कारबाही र कमी कमजोरीलाई ठोस रूपमा समीक्षा गर्ने अपेक्षा गरिएकाले पनि पार्टी नेता कार्यकर्तालाई यो बैठक र उठेका मुद्दा विशेष चासोका विषय बन्न पुगेका हुन् ।

तारो बन्यो नेतृत्व 
स्थायी समिति बैठकमा चौथो दिनसम्म बोल्ने अधिकांश सदस्यको तारो नेतृत्व नै बनेको छ । सदस्यहरुले प्रतिवेदनमाथि टिप्पणी गर्दै नेतृत्वले गरेका कमीकमजोरी केलाउँदै आफ्ना सुझाव समेत राखिरहेका छन् । यो क्रम सबै सदस्य (आमन्त्रितसहित ५१) ले नबोल्दासम्म जारी रहनेछ । बैठकमा विशेषतः अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधनसम्बन्धी प्रतिवेदनमाथि केन्द्रित रहेर छलफल भइरहेको छ । 
सबै सदस्यले बोलिसकेपछि अध्यक्षले जवाफ दिएर बैठक समापन गर्ने तयारी छ । 

दुवै प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रममा स्थायी समिति सदस्यहरु राखेका टिप्पणी सचिवालयका आठ जना सदस्यले प्रत्यक्ष सुनिरहेका छन् भने प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले पनि बालुवाटारमा नेताहरुबाट नियमित ‘ब्रिफिङ’ लिइरहेका छन् । 

यतिसम्म कि नेतृत्वले विधानभन्दा माथि गएर समान्तवादी चरित्र देखाएको आरोप नै खेप्नुपरेको छ । यति मात्र नभई उनीहरुले पार्टी विधानअनुसार चलेर अनुशासनको सुरुवात गर्न अध्यक्ष केपी ओली र प्रचण्डलाई चुनौती नै दिएका छन् । 

यो चुनौतीको समाना खासगरी नेतृत्वकर्ता अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ले नै गर्नुपर्ने हुन्छ, जसको चित्तबुझ्दो जबाफ सबै सदस्यले बोलिसकेपछि अध्यक्ष्यले कसरी दिन्छन् भन्ने कुराले धेरै विषयकोे निर्धारण गर्छ ।

पूर्वएमाले नै खनिए ओलीमाथि 

बैठकमा अध्यक्ष प्रचण्ड सहभागी भए पनि केपी ओली सहभागी छैनन् । स्वास्थ्यका कारण ओली बालुवाटरमै आराम गरिरहेका छन् । तर बैठकमा उठेका धेरै प्रश्नसँग उनी जानकार र सम्बन्धित नै छन् । 

‘अहिलेसम्म बोल्ने पूर्वएमाले समूहका सदस्यहरुले बोल्दा नेतृत्वको आलोचना धेरै भएको छ । त्यसमा पार्टी र सरकार सञ्चालनको नेतृत्व ओलीले गरेकाले उहाँमाथि पार्टीको आन्तरिक बैठकमा बहस गर्नु स्वाभाविक हो । चाहे त्यो पार्टी सञ्चालनको क्रममा होस् वा सरकार ?’ एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘दुवै विषय ओलीसँग बढी जोडिएकाले उहाँले जवाफ दिनुपर्ने भए पनि दुई अध्यक्ष भएकाले प्रचण्डले दिनुहोला ।’ उनले थप प्रस्ट पार्दै भने, ‘जिम्मेवारीका हिसाबले दुवै अध्यक्ष बराबर हुन् । तर विगत झण्डै २ वर्ष सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गरेकाले बढी जिम्मेवारी उहाँमा जान्छ ।’

ध्यानपूर्वक सुन्छन् सचिवालय सदस्यहरु 
स्थायी कमिटीमा सदस्यहरुले बोल्दा सचिवालय सदस्यहरु भने ध्यानपूर्वक सुनिरहेका हुन्छन् । छलफल सुरु भएको पहिलो दिन सचिवालय सदएस्यमध्ये एक बामदेव गौतमले बोले पनि अरू सदस्यहरुले अन्तिम समयमा मात्रै बोल्ने तयारी गरेका छन् । 

‘बैठकमा बसेका सचिवालय सदस्यहरु स्थायी समिति सदस्यहरुले राखेका विचार, तर्क र आलोचनासहितका सुझावलाई ध्यानपूर्वक सुन्ने गर्नुभएको छ । यो सकारात्मक पक्ष हो’, स्थायी समिति सदस्य युवराज ज्ञवालीले बैठकको अनुभव सुनाए, ‘बैठक अत्यन्त सभ्य र संयम ढङ्गले चलिरहेको छ । गहन विषय राख्दा पनि स्थायी समिति सदस्यले सभ्य भाषामा राख्ने गर्नुभएको छ । यसले गर्दा नेताहरुमा रियालिटी महसुस गरेको अनुभव गर्न सकिन्छ ।’
प्रचण्डको चतुर्याइँ
त्यसो त बैठकमा चर्को आलोचना खेप्नुपर्छ भन्ने नेतृत्वले पहिल्यै बुझिसकेको थियो । त्यही भएर हुनसक्छ प्रतिवेदनमै पार्टी सञ्चालनमा कमजोरी भएकोमा अध्यक्षद्वयले आत्मालोचना गरेका छन् । 

‘प्रतिवेदनमै आत्मालोचना गरेपछि बैठकमा नेताहरुको आक्रोश र आलोचना कम हुने नै भयो । तर फेरि नेतृत्वको कमजोरीका विरुद्ध बोल्दै नबोलेको अवस्था भने हुँदै होइन । राख्नुपर्ने कुरा र बोल्नुपर्ने कुरा नेताहरुले निर्धक्कसाथ राख्न र बोल्न पाउनुभएको छ’, ज्ञवालीले भने, ‘अब ती सुझावलाई समेटेर संशोधित प्रतिवेदन आउला भन्ने आशा राख्नैपर्छ । त्यसपछि मात्रै नेतृत्वको व्यवहारमा रूपान्तरण भएको नभएको प्रस्ट हुन्छ ।’
त्यसो त राजनीतिक प्रतिवेदन तयार पार्दा दुवै अध्यक्षको सल्लाहमै तयार पारिएको हो । त्यसमा पनि ओली अस्वस्थ भएकाले धेरै भूमिका प्रचण्डकै रह्यो ।

 जसमा ‘पार्टीमा गुटबन्दी मौलाएको, अराजकता बढेको तथा पार्टी संस्थागत हुन नसकेको’ जस्ता शब्द राखेकाले धेरैले भन्नुपर्ने र महसुस गरेका कुरा प्रतिवेदनमै समेटिएको ‘फिल’ गर्न बाध्य भए । ‘जसले गर्दा पनि यसअघि बाहिरी कार्यक्रममा सरकार र पार्टी नेतृत्वको सार्वजनिक रूपमा चर्को शैलीमा बुरुकबुरुक गर्ने नेताहरु समेत स्थायी समिति बैठकमा नरम भाषामा प्रस्तुत भए’, अर्का स्थायी समिति सदस्य बेदुराम भुसालको विश्लेषण छ । उनले आत्मालोचना गर्ने खालका शब्दहरु प्रतिवेदनमा राख्न ओलीभन्दा पनि प्रचण्डको चतुर्याइँ भएको हुनसक्ने तर्क गरे ।  

केपी ओली होलान् खुस ? 
बैठकमा प्रस्तुत प्रतिवेदनमा छलफलका क्रममा सरकारका कामकारबाही र पार्टीबारे प्रश्न उठिरहँदा प्रधानमन्त्रीसमेत रहेका केपी ओली चाहिँ के सोचिरहेका होलान् त ? यो उनले नै जान्ने कुरा भयो । तर विगत २ वर्षसम्म सरकार र पार्टीको नेतृत्व गरेका ओलीलाई आफैमाथि तेर्सिएका प्रश्न त्यति सहज भने नलाग्न सक्छ । 

किनकि ओलीका हरेक अभिव्यक्ति सरकार र पार्टी सञ्चालनका क्रममा आफू संविधान र पार्टी विधानभन्दा बाहिर नगएको भनेर आइरहेका छन् । त्यसो त केही कमी कमजोरीमा यो समय ‘सङ्क्रमणकालीन अवस्था भएको’, भन्ने छुट ओलीलाई छँदैछ । 

‘जबज’ नै मार्गनिर्देशक सिद्धान्त बनाउन जोड 
स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टीको मार्गदर्शन सिद्धान्तबारे फरक धारणा ल्याएका छन् । जुन विषय नेकपामा निकै बहसको विषय बन्ने गरेको थियो । 

जनताको बहुदलीय जनवाद या एक्काइसौँ शताब्दीको जनवाद भन्नेमा धेरै बहस भएर आगामी महाधिवेशनसम्म जनताको जनवादमा सहमति भएको थियो ।

 यसबारे एकताको महाधिवेशनले नै टुङ्ग्याउने नेताहरुबीच सहमति पनि भएको थियो । तर, पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्तका विषयमा अन्योलमा नपर्न नेतृत्वसहित सबै नेताको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

मङ्गलबारको  स्थायी कमिटी बैठकमा आफ्नो लिखित धारणा राख्दै प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका पोखरेलले पार्टीले आफ्नो अनुभवहरुलाई सिद्धान्तकृत गरी अघि बढनुको विकल्प नरहेको भन्दै सो धारणा राखेका हुन् । उनले प्रस्ट ढङ्गले जबज नै पार्टीको मार्गनिर्देशक सिद्धान्त हुनुपर्ने र त्यो नेपालको कम्युनिस्ट आन्दोलनको मौलिकता हुने दाबीसमेत गरेका छन् । 

मुख्यतः आगामी महाधिवेशनमा सबैभन्दा चर्को बहसका रूपमा रहने यो विषय पोखरेलले अहिले नै बहसमा ल्याएर माहाधिवेशनमा जबजलाई अगाडि बढाउने कसरताका रूपमा कतिपयले लिएका छन् । 

‘जननेता कमरेड मदन भण्डारीको नेतृत्वमा विकास भएको जनताको बहुदलीय जनवादको वैचारिक आलोकमा होस् या माओवादी आन्दोलनका क्रममा विकास गरिएको एक्काइसौँ शताब्दीका जनवादमा होस्, हामीले मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरेका छौँ’ पोखरेलले बैठकमा आफ्नो सुझाव पेस गर्दै भनेका छन्, ‘परिणामस्वरूप दुई भिन्न कार्यदिशा बोकेका पार्टीहरुको अग्रसरता र पहलकदमीमा जनअधिकारले सुसज्जित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संविधानसभाबाट जारी भएको थियो । उक्त संविधानले नै लोकतान्त्रिक बाटोबाट समाजवाद निर्माणको बाटो खोलिदिएको छ ।’ 

उनले अझ प्रस्ट पार्दै भनेका छन् ‘यस्तो अवस्थामा हाम्रो पार्टीले मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद लेनिनवाद भनेर मात्र उल्लेख गर्नु नेपालको कम्युनिस्ट आन्दोलनको उपलब्धि र अनुभवमा आधारित सैद्धान्तिक र वैचारिक मान्यताबाट पन्छिनु हो ।’ 

आफ्ना अनुभवहरुलाई संश्लेषण गर्दा समस्या आउँछ भनेर त्यसबाट नै पन्छिनु उचित नभएको भन्दै उनले पार्टीले अविलम्ब आफ्ना अनुभवलाई सिद्धान्तकृत गरी त्यसको मार्गदर्शनमा अघि बढ्न तयार हुनुपर्ने सुभाव पेस गरेका छन् ।

पोखरेलले नेपाली समाजको आर्थिक सामाजिक रूपान्तरणको बाटो अर्थात् समाजवादको आधार तयार गर्ने जनताको जनवादलाई मार्क्सवाद र लेनिनवादका परम्परागत सैद्धान्तिक मान्यताले मात्र मार्गदर्शन गर्न सम्भव छैन भन्ने सच्चाइलाई गहिरो गरी आत्मसात गर्नुपर्ने र सोही अनुरूप कार्यक्रमिक र सैद्धान्तिक मान्यताको विकास र प्रयोगमा अघि बढ्नुपर्ने मत जाहेर गरेका छन् । 

पोखरेलले आफ्नो सुझावका रूपमा ५ नम्बर बुँदामा समाजवाद उन्मुख जनताको जनवादले अङ्गीकार गर्ने आर्थिक सामाजिक विकासको बाटो कस्तो हुन्छ भन्ने प्रश्न टड्कारो बनेको भन्दै नेपाली मौलिकता बोकेको जनताको जनवाद नै पार्टीको सही र यथार्थपरक मार्गनिर्देशक सिद्धान्त हुनसक्ने ठहर गरेका छन् । पोखरेलको यो साङ्केतिक ठहरसँगै नेकपाको आगामी महाधिवेशनले आफ्नो मार्गदर्शक सिद्धान्त के बनाउला भन्ने बहस अहिलेबाटै सुरु हुने निश्चित भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप