नेकपा केन्दीय समिति बैठकः प्रदेश कमिटी अध्यक्षहरुको रिपोर्टिङ जारी
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा प्रदेश कमिटी अध्यक्षहरुले रिपोर्टिङ राख्ने क्रम सुरु भएको छ । ३ दिनदेखि राजधानीमा जारी बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे सदस्यबीच १५ समूहमा विभाजन भई छलफल सकिएपछि प्रदेशको रिपोर्टिङ शुरु भएको हो । बैठक प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा जारी छ ।
बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल र अनुमोदनको कार्यसूची पनि छ । बैठकले समसामयिक प्रस्ताव पनि पारित गर्नेछ ।
शुक्रबार प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश २ का अध्यक्ष प्रभु साह, वागमती प्रदेशका अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले रिपोर्टिङ राखेका छन् ।