आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘एम्बाप्पेमाथि कारवाही हुनसक्छ’

आइतबार, १९ माघ २०७६, ०९ : ०८
आइतबार, १९ माघ २०७६

पेरिस सेन्ट जर्मेनका प्रशिक्षक थोमास टुचेलले स्टार खेलाडी काइलियान एम्बाप्पेलाई कारवाही गर्ने वा नगर्ने बारे रातभर सोचेर निर्णय गर्ने बताएका छन् । शनिबार मोन्टपेलियरविरुद्ध ५–० को जीत निकाल्ने क्रममा सब्सिटिच्युट गरिएपछि एम्बाप्पेले प्रशिक्षक टुचेलविरुद्ध त्रुद्ध हुँदै मैदानको टचलाइनमा विवाद गरेका थिए ।

खेलमा पीएसजीले ५–० को अग्रता बनाइसकेको अवस्थामा खेलको ६९ औँ मिनेटमा माउरो इकार्डीलाई एम्बाप्पेको स्थानमा मैदानमा पठाइएको थियो । तर, यस निर्णयबाट एम्बाप्पे खुसी देखिएनन् । टचलाइनमा प्रशिक्षकसँग विवाद गर्दै उनी त्रुद्ध बनेर बेन्चतर्फ हानिएका थिए ।

‘म प्रशिक्षक हुँ र मैदानमा को रहन्छ र को बाहिर आउँछ भन्ने निर्णय गर्ने अधिकार मसँग छ,’ टुचेलले भने, ‘एम्बाप्पे निकै बुद्धिमान छन्, उनलाई आफूले के गर्दैछु भन्ने थाहा छ । मैदान बाहिर जान कसैलाई पनि मनपर्दैन । तर, यो राम्रो होइन । र, यो समस्या झेल्ने हामी मात्र एउटा क्लब होइनौँ ।’

‘म रिसाएको छैन तर म दुःखी छु । त्यो आवश्यक थिएन,’ उनले भने, ‘मैले उनलाई मैले किन निर्णय गरेँ भनेर बुझाएँ । हामी यहाँ टेनिस खेलिरहेका छैनौँ, फुटबल खेलिरहेका छौँ । हामीले सबैको सम्मान गर्नुपर्छ ।’

एम्बाप्पेमाथि कारवाही गर्ने या नगर्नेबारे टुचेले थपे, ‘मलाई थाहा छैन, मैले सोच्नुपर्ने हुन्छ । मैले सुत्नुपर्नेछ । म यसबारे भोलि निर्णय लिन्छु ।’

‘भोलि ११ बजे प्रशिक्षण छ । म टोलीसँग खेलको बारेमा कुरा गर्नेछु । यसबारे समूहमा छलफल गर्ने या एक्ला एक्लै गर्ने भन्ने बारे म सोच्छु । आज राति म कसरी निदाउँछु भन्ने कुराले पनि यसको निर्धारण गर्नेछ,’ उनले भने ।

खेलमा टुचेलका लागि एम्बाप्पेमात्र टाउको दुखाई बनेनन् । अर्का स्टार स्ट्राकर नेयमारले पनि चौथो अफिसियलसँग लामो वादविवाद गरका थिए ।

नौ खेलाडीमा समेटिएको मोन्टपेलियरमाथि जित निकाल्न पीएसजीका पाब्लो साराविया, एन्जल डी मारिया, एमबाप्पे र लेभिन कुर्जावाले गोल गरे । पीएसजीले अर्को गोल उपहार पाएको थियो ।

पीएसजीले आठौं मिनेटमा सारावियाको गोलबाट अग्रता लिएको थियो । त्यसपछि १७औं मिनेटमा मोन्टपेलियर १० खेलाडीमा समेटियो । दिमित्री बर्टाउडले एमबाप्पेलाई फल हानेपछि रातो कार्ड पाएका थिए । जसको फाइदा पीएसजीले भरपुर उठायो ।

डी मारियाले ४१औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा मोन्टपेलियरका ड्यानियल कन्ग्रेको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । एमबाप्पेले ५७औं मिनेटमा नेयमारको पासमा चौथो गोल गरे । ६५औं मिनेटमा लेभिन कुर्जावाले गोल गर्दै पीएसजीलाई फराकिलो जित दिलाए । मोन्टपेलियर ८८औं मिनेटमा नौ खेलाडीमा समेटिएको थियो । जोरिस चोटार्ड दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । ९०औं मिनेटमा एडन्सिन काभानीको गोललाई भिएआर सहायतामा अफसाइड दिएपछि पीएसजीले थप गोल गर्न सकेन ।

जीतपछि लिग वान पीएसजीले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । २२ खेलबाट पीएसजीको ५५ अङ्क रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप