सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नुवाकोटमा बालविवाहले लियो ज्यान

बिहीबार, २२ फागुन २०७६, १८ : ०९
बिहीबार, २२ फागुन २०७६

विदुर । जिल्लामा ११० औँ नारी दिवसको चर्चापरिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले  हिंसा सहन नसकेर आत्महत्या गर्नुपरेको छ । नेपालको ऐनले विवाहको उमेर २० वर्ष तोके तापनि तिनको सत्र वर्षमै विवाह भएको थियो । मनोपरामर्शको सेवा प्रदान गर्ने तथा महिलाका विषयमा वकालत गर्ने सङ्संस्था पनि सो  विषयमा अनभिज्ञ रहेको देखिन्छ । 

धादिङको चरौंदी माइती भएकी सञ्जु खातीको  ढुङ्गेमा गत भदौमा परिवारको सरसल्लाहमा मागी विवाह भएको थियो । सञ्जुका श्रीमान् २६ वर्षीय मौसमले विवाह भएको केही महिना नबित्दै उनलाई अनेक शारीरिक तथा मानसिक हिंसा, लाञ्छना, शङ्कालगायत तनाव दिँदै आइरहेको छिमेकी बताउँछन् ।

सञ्जुका घरमा सधैँजसो झगडा, वादविवादलगायत कलह दिनहुँ भइरहने गथ्र्यो ।  बुधबार राति करीब  ९ बजे खातीका छिमेकीले  खोलामा एक्कासि ठूलो आवाजले केही खसेको सुनेर बाहिर निस्किँदा उनका सासूससुरा र देवरानी रुँदै गुहार माग्दै त्रिशूली किनारमा दगुरेको देखेपछि हेर्दा सञ्जु नदीमा हाम्फालेकी रहिछन् ।

घाइते सञ्जुलाई नदीबाट निकालेर जिल्ला त्रिशूली अस्पताल लाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको  छ ।  प्रहरीले  सञ्जुका माइती र आफन्तलाई खबर गरेको र उनीहरु आएपछि मात्र शव परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाउने जनाएको छ ।  हाल शव त्रिशूली अस्पतालमा छ ।

सञ्जु र उनका पति मौसमबीच बुधबार रात श्रीमान्ले चुरोट पिएका विषयमा सामान्य मनमुटाव भएको सासू पविताले जानकारी दिइन् । महिला मानवअधिकार रक्षक जिल्ला सञ्चालकका अध्यक्ष अञ्जली पाण्डेले महिला हिंसा रोकथाम गर्न विद्यालयमा नै गएर बालविवाह न्यूनीकरण, महिला हिंसाविरुद्धको अभियान चलाउनुपर्ने बताइन् । पाण्डेका अनुसार बालविवाहले पनि यस्ता घटना भएका हुन् । बालविवाह रोक्न नुवाकोटमा अभियान चलाइए पनि बालविवाह गराउन परिवार नै बढी सक्रिय छन् । 

अन्तर्पार्टी महिला सञ्जाल नुवाकोटका अध्यक्ष विन्दा ढुङ्गानाले महिला हिंसामा परेका पीडितका लुकेका घटनाले ठूलो रुप लिइरहेको बताइन् । उनका अनुसार पीडितले आफ्ना पीडा लुकाएको थाहा भएको छ । आफूलाई परेको पीडा र  हिंसा समाजमा खुलेर भन्न नसक्नाले पनि धनजनको क्षति हुने गरेको  उनले बताइन् । हिंसा रोक्न नयाँ तरिकाको अभियान चाल्नुपर्ने उनको सुझाव छ । ‘सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, महिलाका लागि काम गर्ने सङ्सस्था र सरोकार पक्षको यसमा बढी भूमिका हुनुपर्छ’, उनले भनिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप