किशोरी अपरहण गर्ने विप्लवका १ दर्जन कार्यकर्ता प्रहरीको कब्जामा
जनकपुर । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले घरबाटै अपरहण गरेरे लगिएकी एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ चिसापानीबाट अपरहणमा परेकी अन्दाजी १४ वर्षीय करिना मोक्तानको प्रहरी उद्धार गरेको हो ।
करिनाको उद्धार गर्दा नेकपाका १४ जना कार्याकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । नेकपाका कार्यकर्ताले करिनालाई बुधबार करिब ४ बजे पिकअप भ्यानमा राखेर अपरहण गरेका थिए ।
अपरहणमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । किशोरी अपरहणमा पर्ने बितिक्कै धनुषा, सिरहा, सिन्धुली र उदयपुरको प्रहरी टोलीले अपहरणकारीहरुलाई घेरामा पारेका थिए । घेरामा पारिएको केही समयमै उनीहरुलाई उदयपुरबाट हातहतियारसहित कब्जामा लिएको कार्कीले बताए ।
उनीहरुको साथबाट ३ थान पेस्तोल, ३ राउण्ड गोली, १ थान कुकर बम र ८ थान सकेट बम समेत बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका १४ जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।