बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्टार अस्पतालले सुरु गर्यो टेलिकन्सल्टेसन सेवा, अब अनलाइनबाटै डाक्टरलाई भेट्न सकिन्छ

सोमबार, ०१ वैशाख २०७७, १६ : ५०
सोमबार, ०१ वैशाख २०७७

काठमाडौं– स्टार अस्पतालले अनलाइनबाटै टेलिकन्सल्टेसन (परामर्श) सेवा दिन सुरु गरेको छ । अस्पतालले कोरोनाभाइरसको महामारी फैलिन नदिन र स्वास्थ्य सेवालाई सहज बनाउन इलेकट्रोनिक मेडिकल रेकर्ड सिस्टम (इएमआर)सँग मिलेर अनलाइनबाटै परामर्श दिन लागेको हो । 

सेवाको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, अस्पतालका अध्यक्ष किशोर महर्जनलगायतले टेलिकन्फरेन्समार्फत औपचारिक सुरुवात गरेका छन् । मुलुक लकडाउन भएसँगै अस्पतालसम्म जान समस्या हुने हुँदा घरमै बसेर चिकित्सकीय परामर्श लिन सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

यो सेवा अस्पतालको फोन नम्बरमा फोन गरेर नाम रजिष्टर गरी समय लिन सकिन्छ । तत्पश्चात अस्पतालको वेबसाइट www.starhospital.com.np मार्फत चिकित्सकसँग परामर्श लिन सकिन्छ । 

जसमा परामर्शका साथै चिकित्सकहरुले रिपोर्ट हेर्ने र विरामीलाई प्रेस्क्राइव गर्नेछन् । साथै परामर्शपछि नमुना संकलन गर्नुपर्ने अवस्थाका विरामीका लागि अस्पतालका प्राविधिक घर घरमा पुगेर नमुना संकलन गरी प्रयोगशालामा लगि परिक्षण गर्ने र रिपोर्ट आफ्नो वेबसाइटबाट विरामीले हेर्न मिल्ने व्यवस्था पनि गरेको छ ।

अस्पतालले सुरु गरेको टेलिमेडिसिन सेवा जुम एपबाट र अनलाइनबाट  भुक्तानी गर्न सकिन्छ । एकपटक परामर्श लिँदा मात्र २ सय तिरे पुग्ने पनि अस्पतालले जनाएको छ ।

साथै अस्पतालले आफ्नो वेबसाइटमार्फत कोरोनाभाइरसको जोखिम स्वमुल्याङ्कन सेवा पनि सुरु गरेको छ । जसमा कोभिड–१९को जोखिम देखिएको अवस्थामा चिकित्सकसँग परामर्श लिने र थप उपचार वा जाँचका लागि अन्य ठाउँमा पठाउन सकिनेछ ।

त्यसैगरी, अस्पतालले नयाँ वर्ष ०७७को उपलक्ष्यमा एक साताका लागि अस्पतालका सबै विशेषज्ञ परामर्श सेवा निःशुल्क गर्ने घोषणा पनि गरेको छ । यो सेवा बैशाख १ देखि ७ गतेसम्मका लागि लागु हुने अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप