सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सद्भावको संस्कृति प्रबर्द्धन गर्न अन्तरधार्मिक शान्ति महासंघको अपिल

बिहीबार, ११ वैशाख २०७७, १४ : ०२
बिहीबार, ११ वैशाख २०७७

काठमाडौं । अन्तरधार्मिक शान्ति महासंघ नेपालले कोरोना संक्रमणको विषयलाई लिएर कुनै वर्ग, लिङ्ग, जात, धर्म र सम्प्रदायलाई नकारात्मक असर पर्नेगरी समाचार तथा सन्देश प्रवाह नगर्न अपिल गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष सीमा खान र महासचिव डा. महेन्द्र भट्टराईले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत त्यस्तो समाचार तथा सन्देश प्रवाह नगर्न सबैमा अपिल गरेका हुन् ।

महासंघले सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक एकता, सहकार्य र सद्भावको संस्कृतिलाई प्रवद्र्धन गर्दै कोरोनाविरुद्धको लडाईमा एक भएर अघि बढ्न आह्वानसमेत गरेको छ ।

‘कोरोना संक्रमितलाई घृणा होइन स्नेह, माया र हौसला दिउँ र बालबच्चा, ज्येष्ठ नागरिक, अपांगता र विशेष आवश्यकता भएकाहरुलाई विशेष सम्मान, सुरक्षा र संरक्षण गरौँ र गराऊँ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोरोनाको उपचारमा र राहत वितरणमा समतामुलक र न्यायपूर्ण व्यवहार कायम राख्दै कसैलाई सम्बोधनका क्रममा जात, लिङ्ग, धर्म, संस्कृति, आस्था र पहिचानको आधारमा भेदभाव नगर्न पनि महासंघले सबैलाई अपिल गरेको छ ।

कोरोना संक्रमणको जोखिम मोलेर कुनै पनि धार्मिक समुदायले धार्मिक तथा सांस्कृतिक जमघट, भेला, सभा, सम्मेलन र उत्सवहरुको आयोजना नगर्न र नगराउन पनि महासंघले आह्वान गरेको छ । सम्भावना भएसम्म क्वारेन्टाइन निर्माण, राहत संकलन र वितरण जस्ता आ–आफ्नो संस्था वा समुदायले गर्न सक्ने सहयोगहरु गर्न अपिलसमेत गरिएको छ । महासंघले भनेको छ, ‘यस असहज परिस्थितिमा हाम्रो छरछिमेक, टोल र समुदायमा हुन सक्ने सामाजिक अपराध, घरेलु तथा महिलाविरुद्ध हिंसा, चेलीबेटी बेचबिखनजस्ता कार्यहरु हुनबाट बचौँ र बचाऊँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप