प्रचण्डको आसन परिवर्तनको रहस्य !
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी जब खतरामा पर्छ, तब उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुर्सी आफ्नो छेउमा सार्ने गरेका छन् ।
पार्टीभित्र आन्तरिक द्वन्द्व चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बसेको सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डलाई आफ्नो छेउमा बसाएका छन् ।
यस्तो पहिलो पटक भएको होइन । यसअघि २०७६ पुस १३ गते प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकमा पनि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई आफ्नो छेउमा बसाएका थिए ।
अहिलेको जस्तै त्यो बेला पनि प्रधानमन्त्री ओलीमाथि संकट आइलागेको थियो । अर्थात त्यतिबेला प्रधानमन्त्री ओलीविरुद्धमा भैंसेपाटी, खुमलटार र कोटेश्वरमा मोर्चाबन्दी भएको थियो ।
प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री छाड्न या अध्यक्ष पद छाड्न दवाव परेको थियो । त्यतिबेला प्रधानमन्त्री अोलीमाथि यस्तो दवाव पर्यो कि बाध्य भएर प्रचण्डलाई कार्यकारी अध्यक्ष दिइएको थियो । सो समयमा वामदेव गौतमलाई सांसद बनाएर सरकारमा लैजाने चर्चा समेत भएको थियो ।
आफूविरुद्धको मोर्चाबन्दीपछि प्रधानमन्त्री ओलीले आफूले सरकार चलाउने र प्रचण्डलाई पार्टी चलाउन भन्दै कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका थिए र त्यही सन्देश दिनका लागि उनले आफ्नो छेउमा बसाएका थिए ।
प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि उनले आफ्नो अध्यक्षतामा पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसाएका थिए, जुन बैठकमा प्रधानमन्त्री ओलीको उपस्थिति थिएन ।
त्यसपछि दोस्रो बैठक प्रधानमन्त्री निवासमा बसेको थियो । सोही बैठकमा प्रचण्डको आसन परिवर्तन भएको थियो । एउटा आसन परिवर्तन हुन वित्तिकै प्रचण्ड खुशी थिए भने उनले पार्टीमा कार्यकारी अध्यक्षको हैसियतमा आफूलाई सक्रिय बनाएका थिए ।
तर त्यो खुशी धेरै दिन टिकेन । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अोलीले प्रचण्डको हरेक गतिविधिमा नियन्त्रण गर्न थाले । पार्टीमा निर्णयहरु सजिलो तरिकाले हुन दिएनन् । त्यसपछि पुनः दुरी बढ्न थाल्यो । प्रचण्डको आसन फेरि जस्ताको त्यस्तै रह्यो । उनी सचिवालकै अन्य सदस्यहरुको लाइनमा बस्न थाले ।
यहीबीचमा पार्टीमा कुनै छलफल नै नगरिकन ओलीले अध्यादेश ल्याए । पार्टीमा त्यसको विरोध भयो । कोरोना भाइरसको कारण लकडाउनलाई समेत छायामा पार्नेगरी राजनीतिक चहल पहल शुरु भयो । पुनः त्यही भैंसेपाटी, खुमलटार र कोटेश्वरमा मोर्चाबन्दी शुरु भयो ।
प्रधानमन्त्री ओलीको हाकाहाकी राजीनामा माग गर्न थालियो । यसपटक त प्रधानमन्त्री अोलीले प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने माग पार्टीभित्र उठ्न थाल्यो । र, प्रधानमन्त्री ओलीको कुर्सी संकटमा पर्यो भने सचिवालयदेखि स्थायी कमिटी बैठकको माग उठ्न थाल्यो । प्रधानमन्त्री ओलीमाथि दवाव पर्न थालेपछि बैशाख १७ गते सचिवालयको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री अोलीको खुलेर विरोध भयो र उनलाई सरकार तथा पार्टीको विकल्प दिन समेत चेतावनी दिइयो ।
त्यसपछि प्रधानमन्त्री अोलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र सचिवालय सदस्य माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव गरे । यस्तो प्रस्ताव आएपछि नेताहरुमा देखिएको रिस एकाएक गायव भयो ।
वैशाख १७ गतेको बैठकलाई २० गतेको लागि सारियो र त्यो बीचमा दौडधूप भयो । आआफ्नो पक्षमा माहौल बनाउने काम भयो । दौडधूपबाट प्रचण्डलाई कार्यकारी पदको पूर्ण अधिकार दिने र वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निष्कर्ष निकालियो ।
र, त्यसको शुरुवात उनले पुनः प्रचण्डको आसन परिवर्तन गरेर गरे । तर्थात प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकमा प्रचण्डलाई आफ्नो छेउमा बसाए । जब कि यसअघि त्यही बसेको बैठकमा प्रचण्ड सचिवालयको अन्य सदस्यहरुसँगै देखिन्थे । सोही बैठकले वैशाख २५ मा सचिवालय बैठक बोलाउने निर्णय समेत गरेको छ।