आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एजेन्डाको खोजीमा नेकपा : ‘एक पद एक जिम्मेवारी’ बारे कस्तो आउला प्रचण्डको प्रस्ताव ?

सोमबार, २२ वैशाख २०७७, १४ : ५६
सोमबार, २२ वैशाख २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एक पद एक जिम्मेवारीको प्रसङ्ग चलेको लामै समय भयो । तर एक पद एक जिम्मेवारीको परिभाषा प्रस्ट छैन । त्यसले गर्दा यसबारे नेताहरुले आफूअनुकूल व्याख्या र विश्लेषण गर्दै आएका छन् ।

खासगरी पार्टी एकतापछि नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा नेता माधवकुमार नेपालले एक पद एक जिम्मेवारीको कुरा उठाएका थिए । तर नेता नेपालको यो आवाज ओझेलमा मात्रै परेन त्यसविपरीत कतिपय नेताहरुले पार्टी र सरकार दुवैको जिम्मेवारी धमाधम पाउँदै गए भने कतिपय अझै जिम्मेवारीविहीन अवस्थामा बसिरहेका छन् ।

त्यसमा पनि ओली निकटका नेताहरुले दोहोरो जिम्मेवारी पाएपछि नेकपाको नेपाल समूह रुष्ट छ । नेपाल समूहको यो मागप्रति सुरुमा कार्यकारी अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि सहमत थिए । तर अचनाक यो समीकरणमा परिवर्तन आयो । जसले गर्दा सचिवालयमा अल्पमतमा रहेका ओली शनिबारको बैठकपछि एकाएक बहुमतमा पुगे । सचिवालयमा आएको समीकरण बदलीबाट प्रधानमन्त्री ओलीको राजीनामाको माग पनि तत्काललाई उल्टियो । 

बुधबारको बैठकमा ओलीको राजीनामा माग्ने बामदेव गौतम र प्रचण्ड युटर्न भएपछि बैठकमा अध्यदेश, पार्टी र सरकार सञ्चालनको विधि र प्रकृया स्थायी समिति बैठक लगायतका विषयमा छलफल गर्दै स्थायी समिति बैठकको मिति तोकियो । 

यसअघि असन्तुष्ट समूहले उठाएका तीन माग थिए– ओलीको राजीनामा, स्थायी समिति बैठक र अध्यादेश खारेज । जसमध्ये पहिल्यै अध्यादेश खारेज भइसकेकाले स्थायी समितिको मिति तोकेर दोस्रो माग पनि सचिवालबाटै पूरा भयो । उता ओलीको राजीनामाको माग आत्मालोचनापछि होल्ड गरियो । तर ओलीको राजीनामाको विषय स्थायी समितिमा उठ्ने नेता नेपाल पक्षका नेताहरुको भनाइ छ । 

एजेन्डा तय गर्ने जिम्मा प्रचण्डलाई 
शनिबारको सचिवालय बैठकले स्थायी समिति बैठकका एजेन्डा तयार गर्ने जिम्मेवारी कार्यकारी अध्यक्ष प्रचण्डलाई दिएको छ  । सचिवालयले दिएको जिम्मेवारी लगत्तै अध्यक्ष प्रचण्ड एजेन्डा तय गर्न गृहकार्यमा जुटेका छन् । त्यसका लागि शनिबारको सचिवालय बैठकमा एकाएक समीकरणमा आएको परिवर्तनपछि असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले पहिलो छलफल गरेका छन् । नेता नेपालको समेत धारणा बुझेर प्रचण्ड सोमबारबाट स्थायी समितिका एजेन्डा तय गर्न जुटेको उनको सचिवालयका एक सदस्यले जनाएका छन् । त्यस क्रममा प्रचण्डले ओलीसँग समेत परामर्श गर्नेछन् । प्रचण्डले तय गरेका एजेन्डा २४ गते बस्ने सचिवालयमा छलफल गरेर स्थायी समितिमा लैजाने तयारी छ ।

नेपालले भने, जे भो राम्रै भो 
आइतबार प्रचण्डसँगको भेटपछि नेता नेपालले आफूपक्षीय केन्द्रीय सदस्य र स्थायी समिति सदस्यहरुसँग छुट्टै छलफल गरेका छन्  । त्यसक्रममा नेता नेपाललाई उनी निकट केन्द्रीय सदस्य र स्थायी समिति सदस्यहरुले प्रचण्डले ओलीसँग मिलेर धोका दिएको हो ? भनेर सोधेका थिए । तर नेता नेपालले प्रचण्डलाई शङ्का गर्नुपर्ने आवश्यकता नरहेको भन्दै ‘जे भो राम्रै भो’ भन्ने जवाफ दिएका थिए । प्रचण्डसँगको भेटमा नेपलले एक पद एक जिम्मेवारीको ठोस प्रस्ताव तयार गर्न पनि प्रचण्डलाई सुझाव दिएका छन् ।

‘प्रचण्डले मसँग ओलीसँगको सम्झौताबारे स्पस्ट पारेका छन् । आत्तिनुपर्ने अवस्था छैन’, नेता नेपालको भनाइ उद्धृत गर्दै उनी निकट एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘एक पद एक जिम्मेवारीको परिभाषा स्पष्ट पार्नुस्, त्यो विषयमा सचिवालयमा छलफल गरेर स्थायी समितिबाट पास गर्नुपर्छ’, नेता नेपालको प्रचण्डलाई सुझाव थियो । यसमा प्रचण्ड समेत सकारात्मक रहेको नेता नेपालले आफू निकटका नेताहरुलाई ब्रिफिङका क्रममा सुनाएका थिए । शनिबारको बैठकमा स्थायी समिति बैठकमा पेश गर्ने एजेन्डा तय गर्ने जिम्मेवारी प्रचण्डले पाएका थिए । शनिबारको सचिवालय बैठकपछि नेता नेपाल समूहले पार्टीमा एक्लो महसुस गरेको थियो ।

माधव समूह चर्को बन्ने सङ्केत 
नेकपामा बदलिएको पछिल्लो समीकरणसँगै २५ गते बस्ने स्थायी समिति बैठकमा माधव नेपाल समूह आक्रमक ढङ्गले प्रस्तुत हुने सङ््केत देखिएको छ । प्रचण्ड र वामदेव ओलीप्रति लचक भएपछि नेपाल समूह आक्रमक बन्ने र ओली समूह रक्षात्मक रूपमा प्रस्तुत हुने भएका हुन् । 

‘स्थायी कमिटी बैठकमा हामी आफ्ना कुरा खुलस्त राख्छौँ । त्यसमा सरकारका कामको समीक्षा, पार्टी एकताका कामको समीक्षा, अब पार्टी अगाडि बढाउने कार्यक्रम र कार्यदिशाकाबारे ठोस कुरा राख्छौँ र त्यहीँबाट निर्णय गर्छौं’ नेता नेपाल निकटका स्थायी समिति सदस्य युवराज ज्ञवालीको भनाइ छ । 

नेता ज्ञवालीका अनुसार प्रधानमन्त्रीको राजीनामाका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ । प्रचण्ड समूहका नेताहरु भने यो बैठकमा खासै नखुल्ने सङ्केत देखिएको छ । यद्यपि एजेन्डाका आधारमा बहस र छलफल हुन्छ पहिला त एजेन्डा तय हुनुपर्यो, पूर्व माओवादी समूहका सदस्य देव गुरुगको भनाइ छ । 

मुख्य त स्थायी समितिमा सरकार र पार्टी सञ्चालनबारे ठोस छलफल हुने नेताहरुले बताएका छन् । जसमा कार्यकारी अध्यक्षको भूमिका, एक पद एक जिम्मेवारीलाई केन्द्रविन्दुमा राखेर छलफल हुने उनीहरुको भनाइ छ । 

नेकपाका नेताहरुले पार्टी सिस्टममा चलेन, बैठक नियमित बसेनन्, निर्णयहरु सामूहिक भएनन्, कार्यविभाजन ठीक ढङ्गले भएन र सरकार तथा पार्टीबीच समन्वय भएन भन्ने गुनासो गर्दै आएका छन् ।  ‘सरकार कसरी चल्ने ? पार्टी कसरी चल्ने ? सरकार र पार्टीबीचको अन्तरसम्बन्ध के हुने ? यी तमाम कुराहरु छलफल गर्दै निर्णय गर्नुपर्ने छ’, सदस्य ज्ञवालीको भनाइ छ । 

भदौको प्रस्ताव वैशाखमा छलफल  
वरिष्ठ नेता माधवकुमार नेपालले गत भदौमा पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने लिखित प्रस्ताव दर्ता गराएका थिए । उनले सचिवालयका निर्णयहरुप्रति असन्तुष्टि जनाउँदै सातबुँदे लिखित ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई एक पद छोड्न सुझाव दिएका थिए ।

एक व्यक्ति एक पदको कुरा अध्यक्षबाटै लागू गर्नुपर्ने नेता नेपालको नोटअफ डिसेन्टमा उल्लेख छ । 

त्यस्तै पार्टी विधानअनुसार पार्टी सञ्चालन नभएको, एकतालाई अनावाश्यक रूपमा लम्ब्याएको, पार्टी एकतापछि नेता कार्याकर्तामा आएको उत्साहमा पानी हाल्ने काम गरेको लगायतका आरोप अध्यक्षमाथि लगाएका थिए । अब बस्ने स्थायी समिति बैठकमा एक व्यक्ति एक पदबारे ठोस परिभाषा गर्दै निर्णय भए ओलीले अध्यक्ष र केही मुख्यमन्त्रीहरुले राजीना समेत गर्नुपर्ने अवस्था आउने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप