प्रचण्ड निवासमा तत्कालीन माओवादी निकट स्थायी कमिटी सदस्यहरुको छलफल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिएपछि गुटगत भेलाहरु बाक्लिएको छ । कहिले बालुवाटार, कहिले खुमलटार त कहिले भैंसेपाटी त कहिले अन्य स्थानमा गुटगत भेलाहरु निरन्तर भइरहेका छन् । तर भेलाले पनि कुनै निकास दिएको छैन ।
यहीबीचमा नेकपा अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमा तत्कालीन माओवादी केन्द्र निकट स्थायी कमिटी सदस्यहरुको भेला बोलाएका छन् ।
भोलि बस्ने स्थायी कमिटी बैठक बारेमा रणनीति बनाउन तत्कालीन माओवादी केन्द्र निकट नेताहरुलाई बोलाएर उनले छलफल गरिरहेको स्रोतले जनाएको छ । सो बैठकमा स्थायी कमिटीका सदस्य लेखराज भट्ट र रामबहादुर थापा बादलको भने उपस्थित नरहेको बताइएको छ । नेता भट्टले भने, ‘भेलाको बारेमा मलाई केही जानकारी थिएन र त्यही भएर त्यहाँ गइएन ।’
स्थायी कमिटीको बैठक पटक पटक सर्दै आइरहेको छ । आइतवार बस्ने भनिएको स्थायी कमिटीको बैठकलाई मंगलवार सारिएको छ ।
भोलि पनि बैठक बस्छ कि बस्दैन अन्योल कायमै छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच हालसम्म कुनै सहमति नजुटेकाले अन्योलता कायमै रहेको हो ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष अोलीले शनिवार बसेको सचिवालयको बैठकमा महाधिवेशनको प्रस्ताव गरेपछि पार्टीमा झन् अन्योल बढेको छ ।