सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जारी छ पूर्वपश्चिम रेलमार्गको काम

आइतबार, २१ भदौ २०७७, १२ : २७
आइतबार, २१ भदौ २०७७

सर्लाही । लकडाउन तथा निषेधाज्ञाका समयमा  बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गको बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५  साना तथा ठूला  पुल निर्माण भइरहेको छ । बर्दिबासबाट सिमरासम्मको १०८ किलोमिटरमध्ये बर्दिबासबाट रौतहटको गुजरा नगरपालिकासम्मको ७० किलोमिटरमा बोलपत्र भई करिब ५० प्रतिशत काम सम्पन्न भएको रेल इञ्जिनीयर सुरेश साहले जानकारी दिए । 

उनका अनुसार सो खण्डमा विभाजन गरिएको मार्गका बीचबीचमा पानी बग्न र जनावरलाई आवतजावत गर्नका लागि करिब १५० भन्दा धेरै कल्भर्ट निर्माण भइरहेको छ । रेलमार्गका काममा लालबन्दी नगरपालिकाले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिए । उनले सबैभन्दा धेरै सार्वजनिक तथा ऐलानी जग्गामा र घर तथा बस्ती परेका स्थानमा समस्या परेका कारण समाधानमा धेरै समय लागेको बताए । बर्दिबासमा मुआब्जाको र जङ्गलको रुख कटानको विवादले गर्दा काम शुरु हुन नसकेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।

रेलमार्गको काम निरन्तर जारी रहेको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि टीका गजुरेलले बताए । रेलमार्गको कामलाई आफ्नो कम्पनीले धेरै महत्व दिएर गरिरहेको उनको भनाइ छ । सरकारले गत असार, साउन र यही भदौ तीन महिना नदी दोहन बन्द गरेका कारण माटो भर्ने काम रोकिएको भए पनि अरु काम निरन्तर भइरहेको कम्पनीले जनाएको छ । मुआब्जा विवादका कारण सङ्घर्ष समितिसमेत गठन गरेर काम गर्न अवरोध भएका कारण कतिपय स्थानमा काम शुरु हुननसकेको जनाइएको छ । सर्लाहीमा २०  र रौतहटमा ७० प्रतिशत मुआब्जाको विवाद कायमै रहेको जनाइएको छ ।

रोकिएन नदी दोहन 

जिल्लामा  निषेधाज्ञाका समयमा पनि नदी दोहन निरन्तर भइरहेको छ । खाद्यान्न तथा दैनिक अतिआवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न छुट दिइएका अवस्थामा जिल्लाका विभिन्न नदीबाट निर्बाधरूपमा नदी दोहन भइरहेको बताइएको छ ।

असार, साउन र  भदौमा नदीजन्य पदार्थ निकासी पैठारी गर्न नमिल्ने भए पनि ‘के गर्ने के नगर्ने’ भन्दै प्रहरी र स्थानीय निकायको तालमेलबीच नदीजन्य पदार्थ दोहन भइरहेको जनाइएको छ । दिउँसो थोरै मात्रामा मालवाहक सवारी साधनले नदी दोहन गरे पनि रातका समयमा सयौँका सङ्ख्यामा नदीमा पस्ने र नदीजन्य पदार्थ निकासी गर्ने गरेका छन् । जिल्लाका चापिनी, लखनदेही, कालीन्जोर, फुजोर तथा बाँकेखोलामा यसरी नदीजन्य पदार्थ निकासी पैठारी भइरहँदा पनि सरोकारवाला निकाय मौन देखिएका छन् ।

आफूहरुले आफ्नो घर बनाउन एक/दुई खेप बालुवा निकाल्ने गरेको भए पनि प्रहरीले अनेकौँ बहाना बनाएर दुःख दिने गरेको स्थानीयवासीले बताएका छन् ।  व्यवसायीले व्यावसायिकरूपमा नदी दोहन गर्दा पनि प्रहरी प्रशासन मौन बसेको  उनीहरुको गुनासो रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप